![]() |
सम्बन्ध विच्छेद गर्नेमा बढीजसो १८ देखि २५ वर्ष उमेर समूहका
कलिलै उमेरमा गरेको ‘प्रेम विवाह’ व्यवस्थापन गर्न नसक्दा सम्बन्धमा दरार
भाद्र १०, २०७३- धेरै जोडी मिलन हुनासाथ सँगै बाँच्ने/मर्ने कसम खान्छन् । केही समयको प्रेमपछि दाम्पत्य जीवनमा बाँधिन्छन् । तर, सबैको कसम लामो समय टिक्दैन । केही छिट्टै विछोड रोज्छन् । कपिलवस्तुको वाणगंगा १५ की अमृताले दुई वर्ष प्रेममा बिताएपछि स्थानीय युवकसित विवाह गरिन् । दुवैले यसलाई प्रेमको सफलता ठाने तर खुसी ४ वर्ष नपुग्दै टुक्रियो । घर भित्रिएपछि पतिले शारीरिक र मानसिक यातना दिन थाले । दिनहुँ झगडा हुन थाल्यो । यस्तो तनावमा बाँच्नुभन्दा अमृताले सम्बन्धमा ‘ब्रेक’ लाउने निर्णय गरिन् । छुट्टिने निर्णयलगत्तै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरिन् ।
वाणगंगा ३ की शशीले स्थानीय २५ वर्षीय युवकसित मागी विवाह गरिन् । उनीहरूको सम्बन्ध लामो समय टिकेन । परिवारबाट राम्रो व्यवहार नपाएपछि छुट्टै बस्ने निर्णयमा पुगिन् । तीन वर्षमै उनको वैवाहिक जीवन टुंगियो । घरेलु हिंसाको सिकार हुन थालेपछि महिलाले दाम्पत्य जीवनको पीडाभन्दा विछोड रोज्न थालेका छन् । अहिले दिनहुँ जिल्ला प्रहरीको महिला सेलमा यस्ता हिंसापीडितको भीड देखिन्छ । प्रहरीले दम्पतीबीच मिलापत्रको कोसिस गर्छन् । नसके सम्बन्ध विच्छेदका लागि अदालत पठाउँछन् ।
कपिलवस्तुमा आव २०७२/०७३ मा १ सय २० ले सम्बन्ध विच्छेद रोजेका छन् । ४ वर्षको तथ्यांक हेर्दा यसको संख्या २ गुणाले बढेको छ । आव ०७१/७२ मा १ सय १६ ले सम्बन्ध टुंग्याएका थिए । त्यसअघि ०७०/७१ मा ९० र ०६९/७० मा ५८ ले सम्बन्ध विच्छेद गराए । सम्बन्ध विच्छेद गर्नेमा बढीजसो १८ देखि २५ वर्ष उमेर समूहका छन् । कलिलै उमेरमा गरेको ‘प्रेमविवाह’ व्यवस्थापन गर्न नसक्दा सम्बन्ध टुट्ने गरेको हो । ‘७५ प्रतिशत प्रेमविवाह गरेका जोडी विच्छेद गर्न आउँछन् ।’ जिल्ला अदालतका नासु चोपलाल पाण्डेले भने, ‘युवकले प्रेमका बेला बाँडेका सपना पूरा नगर्दा समस्या बढिरहेको छ ।’
जीवनभर साथ दिने बाचा गरेका मकवानपुरका दम्पतीले पनि बर्सेनि विछोड रोजिरहेका छन् । यसरी सम्बन्ध टुंग्याउनेको संख्या बर्सेनि बढदो छ । मकवानपुर जिल्ला अदालतमा आव ०७२/०७३ असार मसान्तसम्म २ सय २४ थान सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा दर्ता भए । तीमध्ये १ सय ७५ को किनारा लागिसक्यो । ४९ थान टुंग्याउन बाँकी रहेको स्रेस्तेदार अनन्तराज मरासिनीले बताए । विछोडका लागि आएका अधिकांश निवेदन महिलाका छन् । समाजशास्त्रका प्रध्यापक वीरेन्द्र साह सम्बन्ध विच्छेदलाई आत्मनिर्भरता र स्वतन्त्रतासँग मात्र जोडेर हेर्न नमिल्ने बताउँछन् ।
‘सम्बन्ध विच्छेदपछि महिला र पुरुष स्वतन्त्र होलान्,’ उनले भने, ‘तर उनीहरूबाट जन्मेका बालबालिकाले अभिभावकको संरक्षकत्व गुमाउँछन् ।’ रेमिट्यान्सको प्रभाव, आफैं निर्णय गर्न सक्ने महिलाको संख्या बढेको र परम्परागत पुरुष संरचनाको निरन्तरताले यस्तो संख्या बढेको प्राध्यापक साह बताउँछन् ।
घरबार उजाडिँदै
चितवनको भरतपुर १६ का भक्तहादुर भुजेल कतार गएको १८ महिना भयो । धन कमाएर परिवार सुखी बनाउने सपना डेढ महिनाअघि श्रीमतीको हत्यासँगै तुहियो । उनकी श्रीमती ३० वर्षीया रीताको पोखरा बसपार्कस्थित होटल कलशमा धादिङ गम्दी ९ का २६ वर्षीय हेमबहादुर थापामगरले हत्या गरेका थिए । उनीहरू तीन दिन होटलमा सँगै बसे । रीताले विवाह नभएको बताउँदै ती युवकसँग सम्बन्ध गाँसेकी थिइन् । प्रहरी अनुसन्धानबाट थापामगर विदेशमा रहेका बेला रीतासित फेसबुकबाट प्रेम बसेको थियो । च्याटमा रीताले अविवाहित भएको बताइन् । हेमले राखेको नेपाल फर्केपछि जापान जाने प्रस्ताव राखे । रीताले स्वीकारिन् । हेमले रीतालाई विदेशबाट केही रकम र सामान पठाए । नेपाल आएपछि एक छोराकी आमा रहेको र पति विदेशमा भएको जानकारी गराइन् । उनीहरूबीच आर्थिक लेनदेनका विषयमा भएको विवादमा रीताको ज्यान गुम्यो ।
त्यस्तै, २०७२ पुस १७ मा भरतपुर ७ का त्रिभुवन काफ्लेले श्रीमती जमुनाको हत्या गरे । वैदेशिक रोजगारीबाट फर्केपछि परपुरुषसँगको सम्बन्धकै विषयलाई लिएर उनले जमुनाको हत्या गरेको खुलेको थियो । हत्यापछि काफ्लेले प्रहरीमा आत्मसमर्पण गरेका थिए । पछिल्लो समय जिल्लामा पति विदेशमा भएको मौका छोपी परपुरुषसित सम्बन्ध राख्ने बढेका छन् । पति मुलुकबाहिर रहेका बेला दोस्रो बिहे गर्ने, प्रेमसम्बन्ध गाँस्ने बढेका हुन् । यही कारण धेरैबीच सम्बन्ध विच्छेद हुने गरेको छ । जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा गत आवमा १ सय ९७ महिला हराएको उजुरी परेको थियो । तीमध्ये धेरैका पति वैदेशिक रोजागरीमा छन् । ‘विदेशबाट कमाएर घरपरिवारलाई सुख दिने सपना बोकेका धेरैको घर उजाडिएको छ,’ एसपी वसन्त कुँवरले भने ।
यौन विचलन
रून्देहीको दयानगर ५ चिलियाका ५८ वर्षीय बलराम पोखरेलले देवरभाउजूबीच यौन सम्बन्धको आशंकामा श्रीमती र भाइको हत्या गरे । भाइ र श्रीमतीलाई गत जेठ ११ को राति आपत्तिजनक अवस्थामा भेटेपछि इँटाले प्रहार गरको उनले बयान दिए । घाइते दुवैको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । पत्नी कृष्णकुमारी र भाइ चन्द्रकान्त दुवै ५४ वर्षका हुन् । चन्द्रकान्तले बुटवल १४ तामनगरमा साइकल व्यवसाय गर्दै आएका थिए । उनकी पत्नी वैदेशिक रोजगारी क्रममा २ वर्षदेखि मलेसियामा थिइन् । भाइले माफी मागे पनि पत्नी नबोलेकाले आवेशमा आएर आक्रमण गरेको हत्या आरोपी बलरामले बताए ।
गत वैशाख २२ मा पतिको हत्या गरेको आरोपमा पड्सरी ८ की १९ वर्षे अस्मिता थापालाई प्रहरीले पक्राउ गर्यो । पतिले दिनहुँ मदिरा सेवन गरेर यौन यातना दिने गरेकाले हत्या गरेको बयान दिइन् । विजय र अस्मिताबीच एक वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । उनीहरूले गत पुसमा बिहे गरेका थिए । बिहेपछि उनीहरूबीच झगडा सुरु भएको थियो । रूपन्देही प्रहरीका अनुसार गत आव ३२ वटा यौन हिंसाविरुद्धका मुद्दा दर्ता भएका थिए । त्यसमध्ये २० बलात्कार र १२ यौन हिंसाका छन् ।
हिंसापीडित पुरुष बढे
कपिलवस्तु लालपुरका एक ४७ वर्षीय युवकले श्रीमतीले एक महिनादेखि खान नदिएर भोकै बस्दा बिरामी भएको भन्दै जिल्ला प्रहरीमा उजुरी दिए । परसोहियाका अर्का एक जनाले पनि श्रीमतीले माइतीको धाक देखाउँदै दुव्र्यवहार गर्दै आएको उजुरी दिए । आफूलाई श्रीमान्जस्तो व्यवहार नगर्ने भन्दै घरमा बस्न गाह्रो भएको उनको गुनासो थियो ।
![]() |


ConversionConversion EmoticonEmoticon