![]() |
भाद्र ४, २०७३- बजार अभाव र लामो समय भण्डारण गर्ने प्रविधि नहुँदा जिल्लामा उत्पादित स्याउ बारीमै कुहिन थालेको छ ।
जिल्लाका काँडा, दंगाजी, पारकाट्ने, दहबगर, कैलाशलगायत गाविसमा उत्पादन भएका स्याउ बिक्री नभएर कुहिन थालेका छन् । ‘एक दानाको एक रुपैयाँमा दिए पनि बिक्री हुँदैन,’ दंगाजी गाविसका कृषक देवेन्द्र सायरले भने, ‘हामीसँग पछि सम्मका लागि भण्डारण गर्ने साधन पनि छैन । गाउँभरि स्याउ फालाफाल छ ।’ केही झरेर बारीमै कुहिने र केही बाँदर र चराले खाएर नष्ट गर्ने उनले बताए । बगाडाका ७० भन्दा बढी किसानले स्याउको व्यावसायिक खेती गरेका छन् ।
बारीमा मात्र २० क्विन्टलभन्दा बढी स्याउ फलेको र आधाजसो कुहिएर र जंगली जनावरले नष्ट गरेर सकिएको सायरले बताए ।
घण्टौं बोकेर बजारमा पुर्याए पनि स्थानीय स्याउ बिक्री हुन गाह्रो हुने गरेको दंगाजीका अर्का कृषक रामबहादुर खड्काले बताए । ‘दिनभर बोकाएर बजारसम्म पुर्याए पनि बाहिरका स्याउको जति मूल्य स्थानीयको पाइन्न,’ खड्काले भने, ‘हाम्रो स्याउ बिक्री हुनै गाह्रो छ । भइहाले पनि भरिया ज्याला पनि उठ्दैन ।’ जिल्ला बाहिरका स्याउको प्रतिकिलो २ सय ५० देखि ३ सय भए पनि स्थानीयको मुस्किलले ५० रुपैयाँमा बिक्री हुने खड्काले सुनाए ।
थोक बिक्रेताले स्थानीय स्याउ खरिद नगर्ने भएकाले पनि आफूहरूलाई समस्या भएको बगाडाकै अर्का किसान मनमती खड्काले बताइन् । ‘थोक विक्रेताले बाहिरैबाट ल्याउँछन्,’ उनले भनिन्, ‘हामीले बाटोमा राखेर सस्तोमा बेच्नुपर्छ ।’ आम्दानीको आशामा १० वर्ष अगाडिदेखि स्याउ खेतीमा लागे पनि बजार नपाउँदा निराश भएको उनले बताइन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार बझाङमा जम्मा ३ सय ४० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये १ सय ७० हेक्टरको स्याउ खेतीले वार्षिक २ हजार टन उत्पादन दिन थालेको वागबानी विकास अधिकृत डोलराज पाण्डेले बताए । आगामी वर्षदेखि अन्य ठाउँमा लगाएको स्याउ पनि फल्न थाल्ने र उत्पादनको परिमाण अझ बढ्ने देखिएको छ । बझाङको स्याउ अमिलो हुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न नसकेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरी पाण्डेको भनाइ छ ।
मीठो स्याउ फल्ने क्षेत्र अत्यन्त दुर्गममा रहेको र बजारको मूल्यभन्दा ढुवानी भाडा नै बढी पर्ने भएकाले बिक्रीको समस्या हुने गरेको उनले बताए । कुनै किसानले आफूसँग भएको स्याउको परिमाणसहित निवेदन दिएमा बजारका लागि पहल गर्ने पाण्डेले बताए ।
![]() |


ConversionConversion EmoticonEmoticon