![]() |
भाद्र ३, २०७३- रियो ओलम्पिक २०१६ को पुरूष फुटबल फाइनल आयोजक ब्राजिल र जर्मनीबीच हुनेछ । शनिबार हुने फाइनलका पाँच महत्वपूर्ण तथ्य एएफपीले तयार पारेको छ :–
१. बदला र पुनर्जागरण
दुई वर्ष अगाडि मात्र ब्राजिलले आफ्नो फुटबल इतिहासमै सबैभन्दा खराब नतिजा बेहोरेको थियो, विश्वकप सेमिफाइनलमा जर्मनीको हातबाट ७–१ को हार । बेलो होरिजेन्टोमा भएको त्यस खेलपछि तिनै दुई टिम ब्राजिलकै भूमिमा भिड्दै छन् । र, यो अवसर जुटाएको छ, रियो ओलम्पिक २०१६ ले । ब्राजिलले बेहोरेको त्यस अगाडि सबैभन्दा पीडादायी हार उरुग्वेविरुद्ध सन् १९५० को विश्वकपमा थियो, जतिबेला कीर्तिमान १ सय ७३ हजारभन्दा बढी दर्शक अगाडि ब्राजिल २–१ ले पराजित भएको थियो, त्यो पनि रियोकै माराकानामा । फाइनल हुने त्यस मैदानसँग भने जर्मनीको खुसी जोडिएको छ । यही मैदानमा उसले दुई वर्ष अगाडि लियोनल मेसीको अर्जेन्टिनालाई हराएर विश्वकप जितेको थियो ।
२. पहिलो स्वर्ण
ब्राजिलले पाँचपल्ट विश्वकप जितेको छ, तर एकैपल्ट पनि ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जित्न सकेको छैन । चार वर्ष अगाडि ब्राजिल त्यसको नजिक भने पुगेको थियो, तर फाइनलमा मेक्सिकोसँग पराजित रह्यो । ब्राजिलले अहिलेसम्म दुई रजत र दुई कांस्य जितेको छ । एकीकृत जर्मनीले पनि अहिलेसम्म स्वर्ण जितेको छैन । सन् १९७६ मा पूर्वी जर्मनीले स्वर्ण जितेको थियो । पश्चिम जर्मनीको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन सन् १९८८ मा कांस्य जित्नु रहेको छ ।
३. पुराना शत्रु, नयाँ अनुहार
दुई वर्ष अगाडि ७–१ ले विजयी जर्मन टिमका कोही पनि खेलाडीले अहिलेको फाइनलमा खेल्ने छैनन् । ब्राजिलका नेयमर र बोर्सिया डर्टमन्डका म्याथिस गिन्टर भने सन् २०१४ को आ–आफ्नो विश्वकप टिमका भने सदस्य थिए । चोटका कारण नेयमरले सेमिफाइनल खेल्न पाएका थिएनन्, उनी कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । गिन्टर भने सब्स्टिच्युट खेलाडी थिए, उनले मौका नै पाएनन् ।
४. उत्कृष्ट डिफेन्सविरुद्ध उत्कृष्ट आक्रमण
जर्मनीले यसपल्ट लगातार गोल गरिरहेको छ । सेमिफाइनलमा उसले नाइजेरियालाई २–० ले हराएको थियो । अहिलेसम्मका पाँच खेलमा जर्मनीले २२ गोल गरेको छ । सेरगे जिनाब्रे र निल्स पिटरसनले सर्वाधिक छ/छ गोल गरेका छन् । ब्राजिलको त्यसको ठीक उल्टो यसपल्टको ओलम्पिकमा अहिलेसम्म कुनै गोल खाएको छैन, भलै, उसले सुरुआती दुई खेलमा आपैंm पनि गोल गर्न सकेन । ब्राजिलले सेमिफाइनलमा होन्डुरसलाई ६–० ले हरायो ।
५. ब्राजिल हेड टु हेडमा अगाडि
सन् २०१४ को त्यो बिर्सन लायक हारका बावजुत पनि ब्राजिल जर्मनीविरुद्ध जित–हारमा अगाडि छ । दुई टिमबीच २२ खेल भएका छन्, त्यसमा ब्राजिलले १२ पल्ट जितेको छ, पाँच खेलमा मात्र पराजित । त्यसमध्ये ब्राजिलको सबैभन्दा खुसीको जित जर्मनीमाथि सन् २००२ को फाइनलमा रहेको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon