![]() |
काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा मुलुक भूपरिवेष्ठित मात्र नभई एक देशवेष्ठित भएकाले त्यसको विकल्प खोज्नुपरेको बताएका छन्।
युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले एक देशसँगको मात्र परनिर्भरता हटाउन अन्य देशसँग सम्बन्ध विस्तार गरी देशको स्वाभिमानलाई उँचो बनाएको विचार व्यक्त गरे ।
समग्र मुलुकको समुन्नतिका लागि हाम्रो देश हामीले बनाउन सक्छौँ भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउँदै उहाँले मुलुकभित्रका खनिज पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरुको सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको औँल्याउँदै देशमा राजनीतिज्ञ तथा प्रशासनिक क्षेत्रका सबै जनाले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिए ।
राष्ट्रिय युवा कोषका अध्यक्ष माधव ढुङ्गेल, नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्मा, समाजसेवी मनिराम डङ्गोल र बद्री दाहालले भौतिक पूर्वाधार विकासका साथै ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक सुवास घिमिरे र सहसंयोजक पूजा भुसालले समाजका विभिन्न क्षेत्रका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर त्यसको समाधान खोजेर राष्ट्रको नवनिर्माण गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
![]() |


ConversionConversion EmoticonEmoticon