Passengers always hit, tortured cartel.


भाद्र ४, २०७३- पश्चिम नेपाल बस व्यवसायी समितिको दबदबाका कारण पाल्पामा वर्षौंदेखि सिन्डिकेट हटाउने प्रशासनिक प्रयास विफल छ । पश्चिम नेपालले पहाडी जिल्लामा कब्जा जमाएपछि अन्य साना व्यवसायी सिन्डिकेट लागू गर्न बाध्य छन् ।

पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका बस, जिपसँग सम्बन्धित समिति दर्ता भयो भने एक पटक पश्चिम नेपाल बस व्यवसायीसँग विवाद हुने पुरानो चलन हो ।

उपभोक्ता सिन्डिकेटको सास्ती बेहोर्न बाध्य छन् । व्यवसायीको हकहितको लागि खुलेको संस्थाले खुला र प्रतिस्पर्धामा सवारीसाधन चलाउन नदिने समस्या बढी छ । खुला र प्रतिस्पर्धात्मक व्यवस्था नहुँदा ग्रामीण भेगका बासिन्दाले सधैं छत र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको यात्रु कृष्णप्रसाद खनालले बताए । ‘गाउँमा थोरै मात्र जिप र बस चलाउने गर्छन्,’ उनले भने, ‘भित्र भए कोचिएर नत्र छतमा भए पनि हिंड्नैपर्ने बाध्यता हुन्छ ।’

‘रुट परमिट’ बिनै सिन्डिकेट
गोरखा जिल्लाका अधिकांश कच्ची सडकमा ‘रुट परमिट’ बिनै दैनिक सयभन्दा बढी सवारीसाधनले यात्रु ओसारपसार गर्छन । सिन्डिकेटका कारण यातायात व्यवसायी समिति गोरखामा आबद्ध बसहरू बाहेक अन्य सवारीसाधनले ती सडकमा यात्रु बोक्न पाउँदैनन । सीमित सवारीसाधन गुड्ने कच्ची सडकमा छतमा समेत यात्रु बसाएर गाडी चलेका देखिनु सामान्य हो । राजनीतिक दलकै संरक्षणमा सिन्डिकेटकै कारण ठूल्ठूला झडप भएका, बन्द हडताल, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको सरुवासमेत भएको प्रशस्तै उदाहरणहरू छन् ।

पछिल्लो समय आरुघाट यातायात प्रालिले कच्ची सडकमा बस संचालन गर्न खोज्दा भएका विवादका शृंखला अझै पनि जारी छ । गोरखा यातायातले तोकेको ठाउँ र संख्यामा बस संचालन गर्न प्रालिले नमानेपछि विवाद बढेको थियो । यातायात व्यवस्था विभागको अनुमतिबिनै कच्ची सडकमा यात्रु कोचेर बसहरू गुड्ने गरेको सर्वसाधारणले गुनासो गरे ।

गोरखा यातायातले भने परमिटबिनै पनि कच्ची सडकमा दैनिक १ सय ४० भन्दा बढी यात्रुबाहक बस गुडाउने गरेको ट्राफिक प्रहरी स्रोतले जनायो । कच्ची सडकमा मात्रै गुडाउन समिति सँग २१३ भन्दा बढी बसहरू रहेको महासचिव सुरेन्द्र कुँवरले जानकारी दिए ।

मिलेमतो
लमजुङको मध्यनेपाल नगरपालिकाको जिताकोट नजिकै गत जेठ ६ मा पृथ्वी राजमार्ग बस व्यवसायी समितिद्वारा सञ्चालित एउटा बस दुर्घटनामा परेर ११ जनाको मृत्यु भयो ।

दमौलीबाट छुटेको ना६ख ४१३६ नम्बरको बस कच्ची सडकमा गुड्दै थियो । दुर्घटनाग्रस्त उक्त बसको ‘रुट पर्मिट’ दमौली–बेंसीसहरको थियो । अन्य कुनै पनि समितिबाट सवारीसाधन गुडाइएको थिएन । बस व्यवसायीका अनुसार पृथ्वीले बाहिरबाट जिल्लाका ग्रामीण भेगमा सवारी गुडाउँछन् । लमजुङ कालिका यातायात सञ्चालक समितिले सदरमुकामदेखि ग्रामीण भेगमा बस गुडाउँछन् । पृथ्वी समितिका एक व्यवसायीका अनुसार अन्य समितिले जिल्लाको ग्रामीण भेगमा सवारी गुडाउन कालिकासँग सहमति लिनुपर्छ । त्यसैले जिल्लामा कालिकाको वर्चस्व छ ।

थोत्रा गाडी भित्रिए
दुई वर्षअघि सम्म बेनी–जोमसोम सडक सिन्डिकेटको पर्यायवाचीको रूपमा बदनाम थियो । बारम्बारको दबाबपछि यो सडकखण्डमा म्याग्दी बस व्यवसायी समितिबाहेक मुस्ताङ, बागलुङ र पोखराको पृथ्वीराजमार्ग समितिका गाडी सोझै जोमसोमसम्म गुड्ने गरेका छन् । हरियो नम्बर प्लेटका पर्यटक गाडी तथा शैक्षिक भ्रमणमा आएका रिजर्भ गाडीलाई पनि अवरोध हटेको छ । बेनी–जोमसोम सडकमा मात्र होइन, पश्चिम बेनी–दरबाङ सडकमा समेत म्याग्दी समितिको एकाधिकार तोडिएको छ ।

‘हाम्रो समिति मातहत पुरानो गाडी इन्ट्रि्र नै गर्दैनौं ।’ म्याग्दी बस व्यवसायी समितिका उपाध्यक्ष मोहन केसीले भने, ‘पृथ्वी, धौलागिरी र अन्य समितिका गाडी अन्त धेरै समय कुदाएपछि यता ल्याइएकाहरू बढी छन् ।’

पोखरामा तोडियो

पर्यटकीय सहर पोखरामा एकछत्र बसहरू गुडाउँदै आएको पोखरा बस व्यवसायी समितिको एकाधिकार तोडिएको छ । नयाँ विन्ध्यवासिनी बस व्यवसायी समितिलाई यातायात व्यवस्था कार्यालय गण्डकीले रुट इजाजत दिएपछि उपमहानगरभित्रको सिन्डिकेटको अन्त्य भएको हो ।

रुट इजाजत पाएपछि विन्ध्यवासिनीका २९ बस पोखराका सडकमा गुड्न थालेका छन् । सुरुमा तीन बस सञ्चालन गर्दै आएको समितिले बुधबारदेखि २६ वटा थपेको हो । समितिका सचिव रामचन्द्र अधिकरीले रुट इजाजत पाएपछि सबै बस छवटा रुटमा चल्न थालेको बताए ।

‘पाँच रुटमा ५/५ र एउटा रुटमा चारवटा बस गुडेका छन्,’ उनले भने, ‘विभिन्न अवरोधलाइ पार गर्दै लामो प्रयासपछि रुट इजाजत पाउन सफल भयौं ।’ गत साउन २१ मा यातायातले रुट परमिट दिएकोमा बुधबारदेखि सञ्चालनमा ल्याएको थियो ।

क्यू बढाउन सहमत

काभ्रे- थोत्रा बस र ओभरलोडका कारण भएको दुर्घटनामा २७ जनाको ज्यान गएपछि प्रशासनले सरोकारवालासँग छलफल थालेको छ । राजनीतिक दलसहितको छलफलमा सिटभन्दा बढी यात्रु नराख्ने र बस संख्या बढाउने प्रतिबद्धता यातायात व्यवसायीले गरेका छन् ।

बिनारुटपरमिट चलेका गाडीलाई प्रशासनले रोकेपछि जिल्लाका सबै ग्रामीण भेगका यातायात दोस्रो दिन पनि ठप्प भए । गाडीको सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने प्रशासनको कडाइपछि यात्रु अलपत्र पर्दै आएका छन् । ‘यातायात क्षेत्रको समस्याका विषयमा एकीकृत रूपमा छलफल चलाएका छौं,’ प्रजिअ बालकृष्ण पन्थीले भने, ‘व्यवसायीसँग बसेर अन्तिम रूप दिन्छौं ।’

सहभागी व्यवसायीले ओभरलोडका कारण दुर्घटना भएको स्वीकारे । ‘छतमा यात्रु राख्दैनौं, गाडी थप्न पनि तयार छौं,’ बैठकमा सहभागी यातायात व्यवसायी सुरकृष्ण वैद्यले भने, ‘व्यापारिक प्रयोजनका सामान अबदेखि नबोक्ने बारे व्यवसायी सहमत छन् ।’

Previous
Next Post »