![]() |
भाद्र ५, २०७३- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशको स्वाभिमान बचाएकैले सरकार ढलेको बताएका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले षडयन्त्रकारीहरुसँग शीर उँचो बनाएकै कारण सरकार ढलेको बताए । आफू नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेपछि अरु दल समाप्त हुने डरले सरकार ढलेको टिप्पणी गर्दै उनले भने, ‘दुईवर्ष सरकारको नेतृत्व गरेको भए अरु पार्टीको साईनबोर्ड मात्रै रहने डरले षड्यन्त्र भयो ।’ ‘देशको शीर निहुराउने, जथाभावी सम्झौता गर्ने, राष्ट्रियतामा आँच आउने काम गरेको थियो भने, मेरो नेतृत्वको सरकार रहन्थ्यो तर, मैले त्यस्ता कदम चाल्न चाहिन’, उनले भने ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी भएको र बजेट कार्यान्वयन हुँदा नेपालमा ठूलै परिवर्तन हुन्छ भन्ने डरले सरकार ढालेको समेत बताए । अबको २० वर्षमा अहिले आफूले बनाएको तथा महत्वकांक्षी भनिएको योजनामा अबको सरकार हिड्नु पर्ने बाध्यता रहेको उनको जिकिर छ । पूर्वपश्चिम राजमार्ग, रेल, फास्ट ट्रयाक, हुलाकी राजमार्ग, सिँचाइलगायतका कयौं कार्यक्रममा बजेट बिनियोजन भइसकेकाले वर्तमान सरकारलाईलाई कार्यान्वयनको चुनौती रहेको उनले बताएकाछन् ।
अरु दलको संकिर्ण स्वार्थको घेराभित्र चल्दा देश पछि परेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई सीमित शासकले आफ्नो घेरामा अल्मल्याएर जनतामाथि दमन गर्न खोजेको बताए । देशमा रहेका स्रोत साधनको समुचित उपयोग हुन नसकेको र आर्थिक समृद्धि एव विकासमा पछि परेको उनले बताएका छन् ।
जनक शिक्षालाई प्रतिस्पर्धी संस्थाका रुपमा लैजानु पर्नेमा जोड दिदै सरकारी जमिन, भवन, प्रेस र सहयोग रहेको संस्था एक अर्ब घाटामा जानु विडम्बना भएको बताए ।
![]() |


ConversionConversion EmoticonEmoticon