Bhasu bhirako trouble


भाद्र ४, २०७३- हेर्दाहेर्दै भासु भीरबाट बस खस्यो । भीरबाट पहिरो खस्नु र गाडी पुग्नु सँगै भयो । भीरको दक्षिणतिर सडकमा काम गरिरहेका मजदुर चिच्याए । ४२ वर्षअघि पहिलोपटक धनगढी–डडेलधुरा राजमार्गमा दुर्घटना हुँदा तत्कालीन सडक विभागका कर्मचारी रामचन्द्र अवस्थी बसमै यात्रारत थिए । ‘त्यो दुर्घटनामा सायद ६ जनाको मृत्यु भएको थियो,’ उनले त्यो त्रासदी सम्झिए ।

उनी संयोगले बाँचेका थिए । ‘छतमा भएका हामी ४ जना हामफालेर जोगियौं,’ उनले भने । त्यसपछि दुर्घटनाको शृंखला बढेको बढ्यै छ । गोदावरीको उकालो सुरु नहुँदै राजमार्गका दुवैतिर दुर्घटनामा मृत्यु हुनेहरूका स्मृतिमा कुँदिएका स्तभले यात्रुलाई झस्काइरहन्छ । यो राजमार्गमा भएका दुर्घटनामा सयौंले अकालमै ज्यान गुमाइसकेका छन् ।

‘सडक कालोपत्रे अघि ठूलाठूला दुर्घटना भएका छन्,’ सडक विभागका तत्कालीन कर्मचारी अवस्थीले भने, ‘सडक कालोपत्रे भएपछि ०५३ मा ३४ जनाको ज्यान जाने गरी गोगनपानी नजिक महाकाली यातायातको गाडी दुर्घटना भएको थियो ।’ ४ वर्षअघि पनि राजमार्गको रुपसकाँडामा ३३ जनाको ज्यान जाने गरी पछिल्लो ठूलो दुर्घटना भयो ।

प्रहरीको तथ्यांकअनुसार पनि १० वर्षयता धनगढी–डडेलधुरा जोडने भीमदत्त राजमार्गमा २ हजार ६ सय बढीले ज्यान गुमाइसकेका छन् । ५ वर्षयता भने दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । घटेको तथ्यांकमा पनि बर्सेनि १ सय ८० बढीले ज्यान गुमाउने गरेका छन् । सडकको भुबनोट, बढदो प्रतिस्पर्धा, तीव्र गति, क्षमताभन्दा बढी यात्रु र ट्राफिक नियम पालना नहुनुजस्ता कारणले भीमदत्त राजमार्गमा दुर्घटना बढेका हुन् ।

अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरीका एसपी रमेश थापा, पहाडी राजमार्गमा अपनाउनुपर्ने सतर्कता नहुँदा दुर्घटना बढी हुने गरेको बताउँछन् ।

पछिल्ला २० महिनामा सवारी दुर्घटनामा कमी आएको उनले बताए । ‘दुर्घटना न्यूनीकरणका लागि निगरानी पनि बढेको छ, सचेतनाका कार्यक्रम पनि चलेका छन्,’ उनले भने । पहाडी जिल्ला प्रवेश गर्ने मुख्य राजमार्ग भए पनि सडकको अवस्था राम्रो छैन । बर्सेनि १० करोडभन्दा बढी मर्मत सम्भारमा खर्च हुने गरेको छ ।

Previous
Next Post »