Bolt another gold


भाद्र ४, २०७३- उसेन बोल्ट र रायन लोच्ते ठीक उल्टो कारणले बिहीबार ओलम्पिकको केन्द्रमा रहे ।

बोल्ट लगातार तीन ओलम्पिकमा १ सय २ सय मिटरको स्वर्णपदक जित्ने पहिलो स्प्रिन्टर बने । यसले उनलाई ओलम्पिक इतिहासकै सर्वाधिक सफल पुरुष स्प्रिन्टरका रूपमा स्थापित गर्‍यो । उनले १९.७८ सेकेन्डको समय निकाल्दै क्यानडाका आन्द्रे डे ग्रेसलाई हराएर २ सय मिटरको स्वर्ण जितेका थिए । उनले रियोमा यसअघि नै १ सय मिटरमा सफलता हात पारेका थिए ।

लामो समयदेखि उनले यसलाई आफ्नो फेवरेट दौड भन्दै आएका थिए र उनले जमैकन झण्डा फहराउँदै स्टेडियममा लामै समय सेल्फी खिच्दै खुसियाली मनाएका थिए ।

‘महान् हुँ भन्ने मैले संसारलाई प्रमाणित गरेको छु,’ बोल्टले भने, ‘म यसैका लागि यहाँ आएको थिएँ । त्यो मैले गरिरहेको छु । त्यसैले यसलाई मैले आफ्नो अन्तिम ओलम्पिक पनि भनेको छु । म अरू कुनै प्रयोग चाहन्नँ ।’

ओलम्पिकमा सबै समर्थक बोल्टको जितमा झुम्मिएका थिए । अमेरिकी स्वीमर रायन लोच्ते र उनका तीन साथीले भने गलत कारण चर्चा पाएका छन् । पार्टीपछि आइतबार बन्दुकधारीले ट्याक्सीमा लुटिएको दाबी गरेपछि लोच्ते र उनका साथीहरू साताभरि नै चर्चामा छन् । उनले कथा बनाएको आरोप प्रहरीले लगाएको छ ।

त्यो घटनालाई छाडेर बिहीबार ट्रयाक एन्ड फिल्डमा अमेरिकाले अर्को सफलता हासिल गर्‍यो भने जोर्डनले पहिलो ओलम्पिक च्याम्पियनका रूपमा पुरुषतर्फ तेक्वान्दोमा हात पार्‍यो । अमेरिकी महिला बास्केटबल टिम फेरि पनि ओलम्पिक फाइनल पुगेको छ ।

अमेरिकी खेलाडीले पुरुष र महिलाको ४ सय मिटर हर्डल्समा स्वर्णपदक जिते । पुरुषको शटपुटको शीर्ष दुई स्थानमा अमेरिकी खेलाडी नै रहे । विश्वकै अलराउन्ड एथलेटिक्स खेलाडीमा महान्मध्ये मानिएका अस्टोन इएटोनले लगातार दोस्रोपल्ट डेकाथलनमा स्वर्ण हात पारे । बोल्टसँगै नहुने हो भने उनीतर्फ ध्यान केन्द्रित हुन सक्थ्यो । अमेरिकाले नौ स्वर्णसहित ट्रयाक एन्ड फिल्डमा २५ पदक जितेको छ ।

ब्राजिलले पनि दुई स्वर्णपदक थपेको छ । उसले सेलिङ र बिच भलिबलमा स्वर्ण जितेको हो । पुरुषतर्फ एलिसन र ब्रुनोको टिमले वर्षाबीच दिलाएको उपाधिको खकोपाकबाना बिचमा भव्य खुसियाली मनाइएको थियो । सेलिङमा मार्टिन ग्रेल र काहेना कुन्जेले रोमाञ्चक जित दिलाएका थिए ।

डाइभिङमा चीनको वर्चस्व कायमै रह्यो । महिलातर्फ १० मिटर प्लेटफर्ममा १५ वर्षीया रेन क्वीनले स्वर्णपदक जितिन् ।

Previous
Next Post »