How salt and eat it? Is considerate


नुनले खानालाई स्वादिलो बनाउनुको साथै शरीरलाई पनि स्वस्थ बनाउँदछ। नुनमा पाइने प्रमुख तत्व ‘सोडियम’ले शरीरको रक्तसञ्चार र रक्तचापलाई नियन्त्रण गर्दछ भने स्नायुप्रणाली र मांशपेसीबीचको सञ्चारलाई पनि मजबुत बनाउँदछ। साथै, नुनमा पाइने अर्को प्रमुख तत्व ‘क्लोराइड’ले पाचनप्रक्रियामा मद्दत गर्दछ। त्यसैले हामीले दिनहुँ खाने खानामा नुनको पर्याप्त मात्रा हुनु जरुरी हुन्छ।

तथापीः

अत्याधिक मात्रामा नुनको प्रयोग एकदमै हानिकारक हुन्छ। झन् प्याकेटको खानेकुराहरूमा चाहिनेभन्दा बढि नुन राखिएको हुन्छ। रेष्टुरेण्टहरूमा पनि खानालाई स्वादिलो बनाउनको लागि धेरै नुन प्रयोग गरिन्छ। फलतः दैनिक धेरै-नुनीलो खानेकुराहरू खाइरहेका हुन्छौँ (जानीनजानी पनि), जसले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ।salt

जब हामी अत्याधिक नुन सेवन गर्छौँ, शरीरमा बढि पानीको आवश्यकता पर्दछ। किनभने, रगतबाट अनावश्यक तत्वहरू फिल्टर गर्ने मृगौलाले हाम्रो शरीरमा सोडियम, पोटासियम र पानीको निश्चित अनुपात मिलाएर राख्ने काम पनि गर्दछ। त्यसैले, शरीरमा धेरै नुन हुनुको मतलब मृगौलाले शरीरको प्रणालीमा धेरै पानीको आपूर्ती गर्नुपर्दछ। यसले धेरैभन्दा धेरै खराब स्थितीको सृजना गराउन सक्दछ, जस्तै; इडेमिया (हात, खुट्टा, घुँडा, पाखुरा फुल्लिनु)। अनि, शरीरमा धेरै पानी हुनुको मतलब हाम्रो रक्तनशा र धमनीहरूमा धेरै रगतको बहाव हुनु हो। यसले गर्दा समयसँगै रक्तचाप बढ्दै जान्छ र हाइपरटेन्सन हुन जान्छ।

कहिलेकाहिँ खाना बढि नुनीलो भयो भने हामीलाई बढि तिर्खा लाग्छ, तर किन?

यो शरीरमा सोडियम र पानीको अनुपातलाई मिलाउने प्रक्रिया हो। धेरै पानी पिउनाले इडेमा र उच्च रक्तचाप जस्ता समस्या आउन सक्छन् भने पानी नपिएमा मृगौलाले शरीरका कोषहरूबाट पानी थुत्न थाल्दछ, जसले गर्दा शरीरमा निर्जलीकरण (Dehydration) हुन जान्छ।

धेरै नुन सेवन गर्ने मानिसलाई सामान्तयाः धेरै पिसाब फेर्नुपर्ने हुन्छ, किनभने शरीरमा पानीको मात्रा धेरै भएको हुन्छ। फेरि हरेकचोटि पिसाब गर्दा हाम्रो शरीरले क्याल्सियम गुमाइरहेको हुन्छ (क्याल्सियमले हाम्रो हाड, जोर्नी र दाँतलाई बलियो राख्न मद्दत गर्दछ।)। त्यसैले धेरै पिसाब गर्दा शरीरले अत्याधिक मात्रा क्याल्सियम गुमाउँदछ र हाड-जोर्नी अनि दाँतको समस्या आउन सक्दछ।

अर्को पनि समस्या छ, जसलाई कसैले पनि बुझ्न सकेका छैनन्। एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा, अत्याधिक नुनको सेवनले पेटको अल्सर, सङ्क्रमण अनि क्यान्सर समेत हुन सक्दछ। यस्तो किन अनि कसरी हुन्छ भन्ने अझसम्म पत्ता लाग्न सकेको छैन। तर नुनमा हुने सोडियमले पेटको म्युकस लाइनिङ्गलाई क्षय गरेर यस्तो भएको हो भनेर केहि वैज्ञानिकहरूले अनुमान लगाएका छन्।

यी सबै तथ्यबाट के प्रष्ट हुन्छ भन्दाः नुनको अत्याधिक सेवनले लामो समयसम्म स्वास्थ्यमा नकारात्मक असर पर्दछ। तैपनि, मानिसहरूले आफ्नो खानामा चाहिने भन्दा बढि नुनको प्रयोग गरिरहेका हुन्छन्। साधारणतयाः मानिसको शरीरको लागि दैनिक २३०० मिलीग्राम (२.३ ग्राम) नुनको आवश्यकता पर्दछ। त्यसैले उच्च रक्तचाप, क्यान्सर, मृगौलाको खराबी, मस्तिष्कमा असर जस्ता घातक समस्याहरूबाट बच्नको लागि हरेक व्यक्तिले आफ्नो दैनिक आहारबाट नुनको मात्रा कम गराउँदै लैजानु आवश्यक हुन्छ।
Previous
Next Post »