![]() |
भाद्र ३, २०७३- एमाले नेताहरूले माओवादी केन्द्रले विभिन्न शक्तिको प्रलोभनमा परेर एमालेसँगको सत्ता समीकरण बदलेको विश्लेषण गरेका छन् । एक सातादेखि जारी स्थायी समितिको बैठकमा शुक्रबार बोल्ने नेताहरूले माओवादी केन्द्रको आफ्नै चाहनाका कारण समीकरण नबदलिएको बताएका हुन् ।
शुक्रबारको बैठकमा उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्बाङ र छविलाल विश्वकर्माले धारणा राखेका थिए । ‘हाम्रो पार्टीले एमाले र माओवादी केन्द्रका बीचमा निर्माण भएको समीकरणलाई दीर्घकालीन रूपमा अघि बढाउन चाहेको भए पनि माओवादी केन्द्र स्वयंले राजनीतिक समीकरणको कोर्स बदल्न चाहेको र उसलाई विभिन्न शक्तिको प्रलोभनले त्यस्तो ठाउँमा पुर्याएको कारणले नै समीकरण बदलिन पुगेको हो भन्ने भनाइ बैठकमा प्रस्तुत भएका छन्,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
‘विगतको सरकारको समीक्षा’ शीर्षकमा भइरकेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबार बोल्ने नेताहरूले सत्ता समीकरण टुट्नुको कारणबारे विश्लेषण गरेका थिए । उनीहरूले संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रूपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको लगायतका उपलब्धि हासिल भएको धारणा राखेका थिए ।
![]() |


ConversionConversion EmoticonEmoticon