Men love women Sense of Humor


भाद्र ९, २०७३

महिलाहरूलाई पुरुषको ड्यासिङ पर्सनालिटी, उनीहरूको रफ एन्ड टफ लुकले केही समय आकर्षित गर्नसक्छ तर पुरुषको सेन्स अफ ह्युमरले महिलाहरूको मनमा जीवनभर छाप छोड्छ, तसर्थ महिलाहरू सेन्स अफ ह्युमर भएका पुरुषलाई मन पराउँछन् । महिलाहरू यस्ता पुरुषलाई किन मन पराउँछन् त ?

मनोरञ्जक हुन्छन्
चुलबुले स्वभाव भएका महिलाहरू एकरसको दिनचर्याबाट दिक्क मान्छन्, तसर्थ उनीहरू त्यस्तो जीवनसाथीको खोजीमा हुन्छन् जसले दाम्पत्य जीवनमा सदैव नवीनता ल्याउन अनि उत्साह भर्न सकोस् । यस्तो खुबी सेन्स अफ ह्युमर भएका पुरुषमा हुन्छ । उनीहरू जस्तोसुकै वातावरणलाई पनि रमाइलो बनाउन सक्छन् तसर्थ यस्ता पुरुषसँग महिलाहरू रमाउँछन् ।

सिर्जनशील हुन्छन्
महिलाहरू पहिले नै भनेर दिएको वस्तुबाट भन्दा आशै नगरेको कुरा प्राप्त गरेपछि बढी प्रसन्न हुन्छन् ।  उनीहरू उपहारलाई भन्दा बढी महत्व सरप्राइजलाई दिन्छन् । यो कुरा अरू पुरुषले बुझे पनि नबुझे पनि सेन्स अफ ह्युमर भएका पुरुषहरूले बुझेका हुन्छन् । उनीहरू आफ्नो सिर्जनशीलताको प्रयोग गरेर नयाँ–नयाँ तरिकाबाट श्रीमती वा महिला साथीलाई खुसी राख्ने प्रयत्न गर्छन् जुन कुरा महिलाहरू असाध्यै रुचाउँछन् ।

मनको कुरा खोल्छन्
महिलाहरू नभनीकन पुरुषको मनको कुरा थाहा पाउँदैनन् । श्रीमतीहरू श्रीमान्ले आफूलाई गर्ने माया पनि शब्दमा व्यक्त होस् भन्ने चाहन्छन् जब कि धेरैजसो पुरुषलाई यस्तो कुरा थाहा हुँदैन । यस्तो खुबी सेन्स अफ ह्युमर भएका पुरुषमा पाइन्छ । उनीहरू मजाक गरेजस्तो वा विभिन्न हाउभाउ तथा क्रियाकलाप गरेर महिलाका अगाडि फिल्मी शैलीमा प्रस्तुत हुन वा आफ्ना कुरा व्यक्त गर्न सक्छन् । महिलाहरूलाई पुरुषको यस्तो शैली सार्‍है मनपर्छ ।


सम्बन्ध निर्वाह गर्न कुशल हुन्छन्
हरेक श्रीमान् आफ्नी श्रीमतीले घरपरिवार र आफन्तसँग सुमधुर सम्बन्ध राखोस् भन्ने चाहन्छन् त्यसैगरी महिलाहरू पनि आफ्ना श्रीमान्को आफ्ना माइतीतर्फका हरेक आफन्तसँग राम्रो सम्बन्ध रहेको र उनीहरूका मनमा आफ्ना श्रीमान्ले विशेष स्थान बनाएको देख्न चाहन्छन् ।  हँसमुख पुरुषमा यस्तो खुबी हुन्छ । यस्ता व्यक्ति अपरिचित व्यक्तिसँग पनि सहजै सम्बन्ध गाँस्न सिपालु हुन्छन् । यही खुबीका कारण पुरुषहरू महिलाको मनमा सजिलैसँग डेरा जमाउन सफल हुन्छन् ।

 
साथीसँग सहजै घुलमिल हुनसक्छन्
कुनै पार्टीमा जाँदा होस् वा कुनै भ्रमणमा रहँदा होस् हँसमुख व्यक्ति छिट्टै सबैसँग घुलमिल हुनसक्छन् । उनीहरूमा केही मिनेटमै श्रीमतीका साथीहरूलाई आफ्नो साथी बनाउन सक्ने क्षमता हुन्छ तसर्थ महिलाहरू आफ्ना यस्ता श्रीमान्सँग रमाउँछन् । आफ्ना साथीहरूका बीच श्रीमान्सँग बस्दा महिलाहरू सहज महसुस गर्छन् । 

 
छिट्टै उदास हुँदैनन्
भनिन्छ, मुस्कान हरेक रोगको औषधि हो । यस्तो औषधि हँसमुख पुरुषको अनुहारमा प्रस्ट देख्न सकिन्छ । यस्ता पुरुष कहिल्यै उदास हुँदैनन् भने आफ्ना वरपर भएकाहरू उदास भए भने तिनलाई हँसाउने भरपूर प्रयास गर्छन् । महिलाहरूलाई पुरुषको यस्तो विशेषता सार्‍है मन पर्छ ।

 
आत्मविश्वासी हुन्छन्
भावनात्मक रूपले कमजोर महिलाहरू सामान्यतया आत्मविश्वासले भरपूर श्रीमान्को चाहना गर्छन् ताकि आफू उसका साथमा सुरक्षित हुन सकियोस् । कहिले मजाक गरेर त कहिले कसैको नक्कल उतारेर अरूलाई हँसाउने पुरुषको आत्मविश्वास सदैव दृढ हुन्छ तसर्थ महिलाहरू यस्ता पुरुषको साथ प्राप्त गर्न चाहन्छन् । 

 
श्रीमतीलाई रिसाउने मौका दिँदैनन्
सानो होस् वा ठूलो, जुनसुकै बहानामा श्रीमतीहरू श्रीमान्सँग रिसाइरहेका हुन्छन् । श्रीमतीहरू श्रीमान्को ध्यान आफूतर्फ आकर्षित गर्न यसो गर्छन् तर धेरैजसो पुरुष न महिलाको यस्तो प्रकारको रिस बुझ्न सक्छन् न बुझ्ने प्रयास नै गर्छन् । यद्यपि स्वभावैले हँसिला तथा प्रसन्नचित्त अर्थात् सेन्स अफ ह्युमरयुक्त पुरुषले श्रीमतीको यसप्रकारको रिस सहजै अनुमान गर्न सक्छन् र श्रीमतीलाई खुसी पार्न आवश्यक उपाय अपनाउँछन् ।

Previous
Next Post »