![]() |
भाद्र ४, २०७३- इमाडोल, ललितपुरकी निशा रावल ५ फिट ७ इन्च अग्ली छिन् । उनको तौल ८० केजी छ । त्यसैले झट्टै हेर्दा उनी खेलाडीजस्तो लाग्दैन । तर, रोहित र राधिकाका यी पहिलो सन्तान आज रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् ।
नेपाल कमर्स क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत उनले ११ बर्षअघि तेक्वान्दो खेल्न सुरु गरेकी थिइन् । ब्ल्याक बेल्ट तेस्रो डान लिएकी उनका बुबा प्रहरीमा छंदा धावक (एथलेटिक्स खेलाडी) थिए । बहिनी एलिना त्रिभुवन आर्मी क्लबकी भलिबल खेलाडी हुन् । तीन सन्तानमध्येका कान्छो भाइ एन्फा एकेडेमीको यू–१४ मा रहेर फुटबल खेल्छन् ।
पहिलोपल्ट ओलम्पिक खेल्न लागेकी २० बर्षीय निशा तेक्वान्दोमा कसरी लागिन् ? र, ओलम्पिक तयारी कस्तो रह्यो ? उनकै शब्दमा :
...
नेपाल पुलिस स्कुलमा कहिलेकाहि दौड प्रतियोगितामा सहभागी भएको थिए । स्कुलमा धेरै खेल ल्याइए । एक खेल अनिवार्य खेल्नैपर्ने भयो । बुबालाई सोध्दा उहाँले तेक्वान्दो माथि आइरहेको खेल हो, यसमा नेपालले मेडल जितिरहेको छ, यही खेल्नु राम्रो हुन्छ भन्नुभयो । केहि परिहाले सेल्फ डिफेन्स (आफ्नै रक्षा) को लागि पनि तेक्वान्दो काम लाग्ने उहाँले बताउनुभएको थियो । त्यसैले मैले मैले तेक्वान्दो खेल्ने निधो गरेको थिए ।
बच्चादेखि नै म मोटी थिए । स्वस्थ बन्न, सेल्फ डिफेन्स गर्न र तौल सन्तुलनमा राख्न पनि तेक्वान्दोले फाइदा गर्ने पक्का थियो । तौल भने घटेन तर ८० केजीको भएपनि म फिट छु ।
एसएलसीपछि बुबाले मैत्री डोजाङ, सातदोबाटोमा मलाई लग्नुभयो । त्यहाँ तेक्वान्दो खेल्न थालेको २–३ महिनामै जिल्ला छनोट भएको थियो । खेले र जिते । त्यसपछि क्षेत्रीय स्तरमा पनि खेले, जिते । त्यसबेलासम्म कुन प्रतियोगिता खेल्दैछु भन्ने मलाई थाह थिएन । केन्द्रमै छनोट भएपछि मात्र पाँचौं राष्ट्रिय खेलकुद (२०६५) रहेछ भन्ने थाह भयो । त्यसपछि मात्र खेलप्रति आकर्षण बढ्दै गयो । खेल्न मन लाग्यो । र, खेलाडी बन्ने सोच्न थाले ।
नसोचिएको ओलम्पिक
मैले तेक्वान्दो खेल्न थालेको ११ बर्ष भयो । तर, एक बर्षअघिसम्म पनि ओलम्पिक खेल्ने सोचेको थिएन । दुई बर्षअघि एसियन गेम्समा पहिलो खेलमै हारेपनि गुरुहरुको प्रतिक्रिया सुनेपछि ठूलो गेम खेल्न पाउँछु भन्ने लागेको थियो ।
ओलम्पिक छात्रवृत्ति (प्रशिक्षण र प्रतियोगिता खेल्ने सुविधाका लागि मासिक ६ सय ७० अमेरिकी डलर) पाउँदा ओलम्पिक खेल्ने अलि आस पलाएको थियो । तर, सिनियर दिदीहरु पनि खेलिरहनु भएको थियो । त्यसैले ओलम्पिक खेल्ने अवसर मैले नै पाउने चाही लागेको थिएन ।
वैशाखमा मनीलामा भएको एसियाली ओलम्पिक छनोटमा फिलिपिनोसँग पहिलो खेलमै हारेको थिए । मलाई हराएर उनी ओलम्पिकमा छनोट भएकी थिइन् । त्यसबेला मलाई हार्छुजस्तो चाहि लागेको थिएन । आफ्नो खेल राम्रै लागेको थियो तर जति हुनुपर्ने त्यति भएन । त्यसपछि सुधार राम्रै भइरहेको छ तर जति हुनुपर्ने त्यति अझै भएको छैन ।
छनोटमा हारेपछि ओलम्पिक खेल्न पाउने खासै आस थिएन । तेक्वान्दोमा चार जनाले मात्र वाइल्ड कार्ड पाउने सुनेको थिए । त्यसमा म पनि परे, भाग्यमानी रहेछु । हेभिवेट (६७ केजीमाथि) मा १६ खेला८ी छन् र यसमा ‘वाइल्ड कार्ड’ पाउने म एक्ली हो ।
पहिलो खेलमा चिनियाँ झेङ सुयिनसँग परेकी छु । ओलम्पिकमा खेल्ने सबै खेलाडी उत्कृष्ट छन् । झेङ विश्व वरीयताका नम्बर १ खेलाडी हुन् । आत्मविश्वासी भएर खेल्दै उनलाई कडा चुनौती दिने कोसि गर्नेछु । मलाई जसरी पनि तीन राउन्ड टिक्नु छ ।
कुनै खेल जित्छु भनेर म दाबी गर्दिन । तर रिपेचर (फाइनल पुग्नेसँग पराजित भएकाहरुवीच कांस्यपदकको लागि हुने प्रतिस्पर्धा) मा अवसर पायो भने खेल जित्छु भन्ने लागेको छ ।
तयारी ‘ठीकै’
ओलम्पिकको तयारीमा गरिएको प्रशिक्षणमा सँधै दाईहरुसँग खेलेको थिए । उहाँहरुसँग खेलमा खाएको कुटाईले पनि मेरो खेलमा सुधार भएजस्तो लाग्छ । अहिले राम्रो फर्ममा छु ।
दक्षिण कोरियामा एक महिने ट्रेनिङले भने उपलब्धिमूलक भएन । त्यहाँको सेड्युल प्रभावकारी थिएन । विश्वविद्यालयका विद्यार्थीसँग प्रशिक्षण गर्नुपथ्र्यो । हामीलाई खासै मतलव गर्दैनथ्यो । स्वदेश फर्केर गुरु (संगीना वैद्य)सँग एक महिना प्रशिक्षण गरेपछि भने राम्रोभ एको छ । त्यस्ेले यस्तो तयारीरीलाई ‘ठीकै’ भन्नुपर्छ । तयारी अपेक्षाअनुसार भने होइन । एक बर्षे छात्रवृत्तिको पैसाले मलाई बिदेशमा प्रशिक्षण गर्ने र प्रतियोगिता खेल्ने अवसर दिएको भए धेरै राम्रो हुन्थ्यो ।
ओलम्पियन गुरु पाएकीले पनि मलाई फाइदा भएको छ । ओलम्पिक खेल्दाको दबाब कस्तो हुन्छ र दबाबमा उत्कृष्ट खेलाडीसँग कसरी भिड्ने भन्नेबारे अनुभव उहाँले सेयर गर्नुभएको छ । यसले मलाई आत्मविश्वासी बन्न सहयोग गरेको छ । छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली रहेकी उहाँ (संगीना) मेरो आइडल खेलाडी पनि हुनुहुन्छ ।
मेरो उचाई ५ फिट ७ इन्च छ । पहिले यो उचाई ठीकै हुन्थ्यो । तर, अहिले बिदेशी खेलाडी एकदमै अग्ला हुन्छन् । त्यसैले तेक्वान्दो उचाई भएकाहरुको खेल हुदै गएको छ । यस्तोमा हामीलाई किक हान्न एकदमै गाह्रो हुन्छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा निशा
बर्ष/स्थान प्रतियोगिता उपलब्धि
सन् २०१४/काठमाडौं माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप स्वर्ण
सन् २०१४/इन्चोन १७ औं एसियाली खेलकुद पहिलो चरण
सन् २०१५/ग्वाङ्जु २८ औं युनिभर्सियाड पहिलो चरण
सन् २०१५/जेन्जु जेन्जु ओपन तेक्वान्दो च्याम्पियनसिप रजतपदक
सन् २०१६/हङकङ एसियन सिटीज तेक्वान्दो च्याम्पियनसिप स्वर्णपदक
सन् २०१६/मनीला रियो ओलम्पिक छनोट (एसियाली) पहिलो चरण४ भदौ, २०७३
![]() |


ConversionConversion EmoticonEmoticon