The team has filed for trial in the death of nine prakarana


पश्चिम चितवनको मेघौलीमा करेन्ट लागेर गैँडा मरेको घटनामा आज जिल्ला अदालत चितवनमा नौ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले आवश्यक अनुसन्धानपछि आज मुद्दा दर्ता गराएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।नेपालको संविधान २०७२ संशोधनपछि जिल्ला अदालत चितवनमा गैँडासम्बन्धी मुद्दा दर्ता भएको यो पहिलो हो । वन्यजन्तु संरक्षण ऐनको २६ को उपदफा १ अनुसार मुद्दा दर्ता भएको जनाइएको छ ।

एक वर्षभन्दा बढी सजाय हुने खालका मुद्दा निकुञ्जले हेर्न नपाउने व्यवस्था भएअनुसार अहिले मुद्दा अदालतमा आएको हो ।यसअघि १५ वर्षसम्मका कैद हुने मुद्दासमेत चितवन निकुञ्ज आफैँले फैसला गर्दै आएको थियो । जिल्ला अदालत चितवनका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासमा आजबाट उनीहरुको बयान लिन सुरु भएको जानकारी दिनुभयो ।

बयान सकिएपछि थुनछेक बहस हुने अदालतका शाखा अधिकृत गम्भिर घिमिरेले जानकारी दिनुभयो । गैँडा मुत्यु प्रकरणमा चितवन निकुञ्जले स्थानीय एक होटलका नौ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि आज मुद्दा दर्ता गराएको हो ।यसरी नियन्त्रणमा रहेकामा स्थानीय होटलका कर्मचारी रीतेश भट्ट, भारतीय नागरिक दिपु शशी, विरजा महतो, सुनिल महतो, बुद्धिराम महतो, सुवार गदाल, गिरिजलाल बहरिया, जिवन चौधरी र विकास दराई रहेका छन् ।

चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराई अगाडि यही साउन २४ गते करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । उक्त होटलका कर्मचारीको लापर्बाहीले करेन्ट छाड्दा गैँडा मरेको आरोपमा निकुञ्जले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

उक्त होटलको हात्तीसार नजिकै करिब २०० मिटर जङ्गलतर्फ करेन्ट लागेर गैँडा मरेको फेला परेको निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । रासस
Previous
Next Post »