Today, the land in different parts of the Kathmandu valley

आज काठमाडौ उपत्यकालगायत देशका विभिन्न नगरवस्तीमा परम्परागत गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्राका दिन यस वर्ष दिवंगत भएका व्यक्तिका घरबाट गाईजात्रा निकाली नगरपरिक्रमा गराउने चलन छ ।
भाद्र कृष्ण प्रतिपदा तिथिमा मनाइने गाईजात्रा पर्व मध्यकालका मल्ल राजाहरुले थालनी गरेको उल्लेख छ । १७ औं शताब्दीका प्रतापी मल्ल राजा प्रताप मल्लका छोराको निधन भएपछि पुत्रशोकमा परेकी रानीको दुःख हटाउन उनले वर्षदिनमा जजसका घरमा मृत्यु परेको छ तिनका नाममा गाईजात्रा निकाल्ने चलन चलाएका थिए । यसबाट धेरैको घरमा मृत्यु परेको हुन्छ भनेर राजाले रानीलाई चित्त बुझाउन प्रयास गरेको सम्झनामा गाईजात्रा निकाल्ने गरिएको ऐतिहासिक कथन छ । विशेष गरी नेवारी संस्कृतिमा प्रचलित यस पर्वमा पितृमोक्षका लागि यमराजको समेत पूजा गरिन्छ ।
गाईजात्रा निकाल्दा गाईलाई विधिपूर्वक सिंगारी त्यसका अघिपछि परिवारका आफन्तजन सहित नगरका गल्लीमा डुल्ने गरिन्छ । यसका साथै बहुरंगी वस्त्र र हसाउने खालका मुखुण्डो लगाएका मानिस पनि गाईजात्रामा सहभागी हुने गर्छन् । उनीहरुको हाँसो लाग्दो प्रस्तुतिले दर्शकदुनियाको दुःख हटाउन सहयोग पुग्ने हुँदा यसो गरिएको बताइन्छ ।























गाईजात्राको हास्य परम्परालाई अनुसरण गर्दै आजभोलि समयसापेक्ष व्यङ्ग्य गरेर जनतालाई हसाउने तथा समाजका गल्ती कमजोरी देखाउने पनि चलन चलेको छ । गाईजात्राको अवसरमा कलाकारहरुले हास्यव्यङग्य कार्यक्रमको अयोजना गरी समसामयिक विकृतिप्रति तीखो छेड हान्ने गरेर जनताको दुःख बिर्साउने र समाजमा सुधार ल्याउने प्रयास गरेको पाइन्छ ।



तर कतिले गाईजात्रा भनेको लथालिङग अवस्था र विकृति देखाउने विषय नभई भगवान श्रीकृष्ण र गाईबीचको प्रेमभाव प्रकट गर्ने ज्ञानमय गोयात्रा भएको पनि बताउने गरेका छन् ।  फोटो :रासस
Previous
Next Post »