Ruth's satisfactory performance in the Olympics in Rio


काठमाडौँः तेक्वान्दो खेलाडी निशा रावलको स्पर्धासँगै ३१औं ग्रीष्मकालीन रियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । नेपाली तेक्वान्दो खेलाडी निशा रावलले शनिबार ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उक्त स्पर्धामा निशा चिनियाँ खेलाडी झेङ सुइनसँग २-० अंकले पराजित भइन् । पहिलो राउन्डबाटै बाहिरिए पनि निशाको यो सन्तोषजनक प्रदर्शन हो । निशा वाइल्ड कार्डमार्फत् ओलम्पिकमा छनोट भएकी हुन् ।

रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिएका थिए । यसअघि एथलेटिक्समा हरिकुमार रिमालसहित नेपालका पौडीबाज शिरीष गुरुङ र गौरिका सिंह, जुडोमा फुपूल्हामु खत्री, आर्चरीमा जितबहादुर मोक्तान र एथलेटिक्समा सरस्वती भट्टराईले प्रतिस्पर्धा गरेका थिए ।

रियो ओलम्पिकमा सहभागी खेलाडीमध्ये हरिले पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनी ५१ जना सहभागी खेलाडीमा ४६औं भए । यसैगरी रियो ओलम्पिकमा सहभागी ११ हजार खेलाडीमध्ये कान्छी खेलाडी बनेकी १३ वर्षीया गौरिका सिंह पनि हिट चरणबाट नै बाहिरिएकी थिइन् । महिला जुडोको ६३ केजीमा सहभागी जुडो खेलाडी फुपूल्हामु पूरा समय रिङमा टिक्दै बाहिरिएकी थिइन् । पौडीका शिरीषले पनि एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।

एथलेटिक्स महिला १५ सय मिटर दौडमा सहभागी सरस्वतीले पनि नयाँ कीर्तिमान बनाउँदै रियो यात्रा सकेकी छन् । १५ सय मिटरको दौडको हिट चरणमा सरस्वतीले निर्धारित दूरी चार मिनेट ३३.९४ सेकेन्डमा पूरा गर्दै २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

नेपाललाई उपलब्ध अनिवार्य कोटामार्फत प्रतियोगितामा सहभागी सरस्वतीले यसअघि सन् १९९० को एसियन गेम्समा राजकुमारी पाण्डेले बनेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले निर्धारित दूरी चार मिनेट ३४.४७ सेकन्डमा पूरा गरी उक्त कीर्तिमान बनाएकी थिइन् ।
Previous
Next Post »