List hooliganism, the police team carried Field

काठमाडौं, असार २३- गुण्डाहरुको करतुतले समाज आक्रान्त बनेको जनगुनासो बढेसँगै नेपाल प्रहरीले त्यस्ता अपराधीहरुलाई छानीछानी कार्वाही गर्ने अभियान चलाएको छ ।

विशेषगरि राजधानी काठमाडौं, ललितपुर र भक्तपुरलाई केन्द्र बनाई समाजमा अराजक गतिबिधि गर्ने त्यस्ता टोलेगुण्डाहरुलाई निमिट्यान्न पारेरै छाड्ने अभियानमा नेपाल प्रहरी लागेको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुर तथा अपराध महाशाखाको प्रहरी टोली दर्जनौं गुण्डाहरुको लिस्ट नै बोकेर फिल्डमा उत्रिसकेको प्रहरी श्रोत बताउँछ । औपचारिक रुपमा निगरानी मात्र बढाएको खुलासा गरेको भए पनि ’सुट’ गरेर भए पनि गुण्डा तथा गुण्डा नाइकेहरुलाई तह लगाउने अभियानमा प्रहरी रहेको श्रोतको दाबी छ ।  

समाजमा गुण्डाको नामले परिचित मिलन गुरुङ उर्फ चक्रे मिलन र गणेश लामा समूहको लिस्ट अग्रपंक्तिमा छ । उनीहरु अहिले भूमिगत भएर आफ्ना टोलेगुण्डाहरुमार्फत अपराधिक काम गरिरहेको प्रहरीको ठम्याँई छ । मीनकृष्ण महर्जन र उनका सहयोगी गुण्डाहरु, एमाले नेता पर्शुुराम बस्नेतको समूह, विष्णु लामा, बाफल क्षेत्रका समिरमानसिंह बस्नेत लगायतका गुण्डाहरु पनि प्रहरीको मोस्ट वान्टेड लिस्टमा छन् । काजी शेर्पा र राजु गोर्खालीको समूह पनि प्रहरीको हिट लिस्टमा रहेका गुण्डाहरु हुन् । 

अरु गुण्डाहरु जस्तै दीपक तालु, दावा लामा, अशोक लामा, सुजन तामाङ, दोधा लामा, रामेश्वर गौतम, प्रकाश माली, झिंगे र दीपक मनाङेका भाइ रेम्बो पनि प्रहरीसँग लुकामारी गरिरहेका छन् । बिभिन्न समय र काण्डमा नेपाल प्रहरीले राजधानी काठमाडौं बाट मात्रै करिव तीन दर्जन गुण्डाहरुलाई पक्राउ गरिसको थियो । तर आफ्नो शक्ति तथा राजनीतिक दलको आडमा यस्ता गुण्डाहरु छुट्न सफल भएका छन् ।
Previous
Next Post »