काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछि दोस्रो वरियताको उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बनाएका छन्। गृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई प्रधानमन्त्रीपछि दोस्रो वरियताको उपप्रधानमन्त्री बनाउन दबाब दिँदै आएका थिए।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलबाट बाहिरिएका माओवादी केन्द्रका नेता दिनानाथ शर्माका अनुसार दोस्रो वरियताको उपप्रधानमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका मन्त्री कमल थापालाई तोकिएको छ। प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नेताहरुको बालुवाटारमा बसेको बैठकमा पनि आफूले थापालाई दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएको घोषणा गरेका थिए।
निधि र थापाबीच कसलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने भन्ने विवाद सुल्झाउन नसक्दा मन्त्रिपरिषदको बैठक नै ठप्प हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट चैत १६ गते स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा निधि र थापाबीचकाे वरियता विवाद छताछुल्ल भएको थियो । वरियता विवादका कारण प्रधानमन्त्री प्रचण्डले एकसाता चीन भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तीन जना उपप्रधानमन्त्री मध्ये कसैलाई पनि दिएका थिएनन्।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिमा नै थापालाई आफनो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने गरी बरियता तोकेका हुन्।
ConversionConversion EmoticonEmoticon