Sanchita found his own statue


चैत्र २५, २०७३- त्यसो त सालिक प्राय: निधनपछि निजको व्यक्तित्व स्मरणका लागि सम्मानस्वरूप सार्वजनिक स्थानमा ठडयाइने गरिन्छ । तर नायक निखिल उप्रेतीले बिहीबार आफ्नै अर्धकदको प्रतिमा उपहारस्वरूप पाए । मूर्तिकार नवीन सुवेदीले फिल्म ‘राधे’ का लागि बनाइदिएको उक्त प्रतिमा निखिललाई सम्हालेर राख्न आग्रह गर्दै उपहार दिएका हुन् । जुन प्रतिमा फिल्मको ट्रेलरमा अर्का कलाकार शिशिर भण्डारीले ढालिदिएको अवस्थामा देखिन्छ ।

बेपत्ता नागरिकको विषयमा आधारित रही तयार पारिएको भनिएको फिल्मलाई जगदीश्वर थापाले आफ्नै पटकथामा निर्देशन गरेका हुन् । वैशाख १ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा निखिल, शिशिरसँगै प्रियंका कार्की, प्रमोद अग्रहरि, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले आफ्नै प्रतिमा उपहार पाएकोमा खुसी व्यक्त गर्दै मूर्तिकार सुवेदीलाई धन्यवाद दिए । प्राय: एक्सनप्रधान फिल्ममा देखिँदै आएका निखिल ‘राधे’ मा बेपत्ता नागरिकको भूमिकामा रहेका छन् ।

अभिनय कम फाइट ज्यादा गर्ने आरोप खेप्दै आएका निखिलले यसपटक भने आफूले अभिनयमार्फत दर्शकलाई सन्तुष्ट पार्ने कोसिस गरेको बताए । त्यसो त छेवैमा रहेका शिशिरले पनि निखिलले पहिलो पटक दमदार अभिनय गरेको दाबी गरे । सुशील पोखरेलले निर्माण गरेको फिल्मबाट नायिका प्रियंकाले पनि ठूलो आशा राखेको जिकिर गरिन् ।

Previous
Next Post »