Mother in prison, son disappeared balagrhabatai


चैत्र २५, २०७३- जेल जीवन बिताइरहेकी ४५ वर्षीया गीता खड्का एक महिनादेखि चिन्तित छिन् । खाँदबारीमा रहेको बाल कल्याण गृहबाट उनका ९ वर्षीय छोरा पुजन खड्का हराएका छन् ।

फागुन २६ गतेदेखि उनका छोरा गायब भएका हुन् । छोरा हराएको एक सातापछि मात्र उनले खबर पाइन् । छोराको खोजीका लागि प्रहरी, नागरिक समाज, बाल अधिकारकर्मी र पत्रकारसँग उनले आग्रह गरेकी छन् ।

छोरीको हत्या गरेर जेल परेकी गीता जेठ १५ गते छुट्दै छिन् । उनी २०६९ सालमा दूधेबालकसहित जेल परेकी थिइन् । उनी जेल परेपछि उनका श्रीमान्ले अर्को घरजम गरिसकेका छन् । ‘यहाँबाट छुटेर पनि कतै जाने ठाउँ छैन,’ उनले भनिन्, ‘त्यही छोराको आसमा बाँचिररहेकी छु । मलाई जसरी पनि छोरो चाहियो ।’ विभिन्न गैरसरकारी संस्थाको आग्रहपछि उनले छोरा बाल कल्याण गृहमा राख्न मञ्जुर गरेकी थिइन् ।



‘छोरा मसँगै थियो, अधिकारका कुरा गरेर बालगृहमा राख्न पठाए, अहिले बेपत्ता भयो, कसरी खोजौं, म कारागारमा छु । अनाथ राख्ने नाममा मागी खाने भाँडो बनाए,’ उनले भनिन् । गृहको लापरबाहीका कारण छोरा हराएको उनको गुनासो छ ।

बालकल्याण गृहका सञ्चालकसमेत एक महिना बित्दासम्म भेट्न नआएको उनले गुनासो गरिन् । ‘अहिलेसम्म भेट्न आएका छैनन्, म जेठ १५ गते कारागारबाट छुट्दै छु,’ उनले भनिन् । उनले जेलर विनोद अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि हालेकी छन् । जेलर अधिकारीका अनुसार उनको लिखित उजुरी जिल्ला प्रहरी कार्यालय पठाएर दर्ता गरिएको छ । ‘छोरा हराएको सुनेदेखि निराश देखिन्छिन्,’ उनले भने, ‘खाना खाँदिनन्, कमजोर भइसकिन् ।’

यसरी गायब भएका थिए पुजन
मोरङको हरैंचा घर बताउने ११ वर्षीय विक्रम तामाङ बेवारिसे अवस्थामा फागुन ६ गते सदरमुकाममा भेटिए । आमाबाबुको नाम प्रस्ट बताउन नसक्ने तामाङलाई प्रहरीले बालगृहमा राखेको थियो । आपतकालीन संरक्षण गृह (ट्रान्जिट होम) भनेर तामाङलाई त्यहाँ राखिएको गृह सञ्चालकले जनाएका छन् । फागुन ६ मा गृहमा आएका तामाङसँग चञ्चले स्वभाव भएका पुजनको मित्रता बढ्यो ।

‘गृह सञ्चालकले पटक–पटक सोध्दा तामाङले फरक–फरक जवाफ दिन्थे,’ माट्सका कार्यवाहक अध्यक्ष प्रवीण राईले भने, ‘कहिले गाडीमा काम गर्छु, कहिले त्यसै घुमफिर गर्छु, मेरो कोही छैनन् भन्थे ।’ फागुन २६ गते पानी लिन गएका दुवै गायब भएका हुन् ।

‘बेलुकीसम्म नफर्केपछि खोजी गरियो,’ कावा अध्यक्ष राई भन्छन्, ‘भेटिएन, प्रहरीलाई मौखिक जानकारी गराउने काम भयो । अहिलेसम्म भेटिएका छैनन् । हाम्रोतर्फबाट खोज्ने प्रयास भइरहेको छ, प्रहरी प्रशासनमा पनि लिखित जानकारी दिइसकेका छौं ।’ पुजन मकालु बोर्डिङमा कक्षा २ मा पढ्थे । प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले हराएका दुवै बालकको तस्बिर छिमेकी जिल्लासहित अन्य जिल्लामा पठाइसकिएको बताए ।
Previous
Next Post »