चैत्र २४, २०७३- मेलम्ची खानेपानी आयोजनाले पाइप बिछयाउन भत्काएका सडक एक वर्षपछि मात्र कालोपत्रे गरिने भएको छ । पाइपमा पानी राखेर प्रेसर र चुहावट जाँच गरेपछि मात्र भत्काइएका सडक कालोपत्रे गरिने सडक कार्यालयले जनाएको छ । उत्यकाका सडकको लम्बाइ १५ सय किमि छ । त्यसमध्ये करिब ७ सय किमि सडक पाइप बिछयाउन भत्काइनेछ । हालसम्म ४ सय ५० किमिभन्दा बढी सडक पाइप बिछयाउन भत्काइएको छ ।
‘मुख्य र शाखा सडक भत्काइएका छन्,’ १ नम्बर सडक डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख मुकन्द अधिकारीले भने, ‘पाइपको प्रेसर र चुहावट जाँच नगरीकन कालोपत्रे गर्दा आर्थिक भार बढी हुन्छ, किनभने पुन: कालोपत्रे गर्नैपर्छ ।’
भत्काइएका सडकमा धुलोधुवाँ कम गर्न मात्र अस्थायी किसिमको कालोपत्रे गरिएको उनले बताए । सरकारले मेलम्चीको पानी आउँदो असोजमा उपत्यका ल्याउने प्रतिबद्धता जनाएको छ । तर, पाइपको सम्पूर्ण अवस्था चेकजाँच गर्दा फागुनदेखिमात्र सडक कालोपत्रे गरिने सडकले विभागले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको कार्यान्वयन आयोजना निर्देशनालयले धमाधम पाइप बिछयाउँदै आएको छ ।
पाइपका लागि खनेको सडकले हाल उपत्यका धुलाम्मे बनेको छ । कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले तत्कालका लागि धुलो हटाउन अस्थायी कालोपत्रे गरेको बताए । ‘केही स्थानमा बाँकी छ, होला तर अस्थायी कालोपत्रे गर्दै छौं, स्थायी कालोपत्रे भने पूर्णरूपमा पाइपमा पानी नआईकन हुँदैन ।’
लाजिम्पाट, लैनचौर, थापाथलीलगायत क्षेत्रमा अस्थायी कालोपत्रे गरिसकेको भन्दै खत्रीले अन्य स्थानमा पनि गरिने जानकारी दिए । अन्य स्थानको कालोपत्रेका लागि टेन्डर आहवान गरिसकेको उनले बताए । खत्रीका अनुसार पाइपका लागि खनेको माटोले उपत्यकाको वातावरण धुलाम्मे भएपछि केही सडकमा अस्थायी रूपमा बालुवा र रोडा राखिएका छन् । ‘कोटेश्वर, एयरपोर्ट, नयाँबानेश्वर लगायतका क्षेत्रमा धुलो उड्न नदिने सामग्री राखेका छौं,’ उनले भने, ‘केही दिनभित्रै खनेको क्षेत्रमा कालोपत्रे गर्छौं ।’
लैनचौर–लाजिम्पाट सडकको ३ सय मिटर र ढोलाहिटी क्षेत्रको १ किमि सडक कालोपत्रे गरिसकेको उनले बताए । तर पाइप बिछयाउन खनिएको सडकको माटोले मात्र उपत्यका धुलाम्मे नभएको निर्देशनालय प्रमुख खत्रीको भनाइ छ । ‘गल्ली विस्तारका लागि भत्काइएका छन् । उपत्यकाको प्रवेश नाका सडक पूरै विस्तार भइरहेका छन्,’ उनले भने, ‘तिनमा गुडेका गाडीको चक्कामा लागेर पनि सडकमा धुलो आउने गरेको छ ।’
सडक विभागका अनुसार सडक कालोपत्रे हुनेबित्तिकै धुलोको समस्या समाधान हुनेछ । तर, कहिले कालोपत्रे हुने भन्नेमा सडक विभागका अधिकारीहरु नै अनभिज्ञता प्रकट गर्छन् । ‘कतै पाइपको समस्या, कतै, सडक विस्तार, कतै सर्वोच्च अदालतको आदेशको समस्या छ,’ विभागका एक अधिकारीले भने, ‘समस्याको थुप्रो छ, एक वर्षमा पनि कालोपत्रे हुन गाह्रो छ ।’ एक अर्कालाई दोषी देखाएर पन्छिनुबाहेक अरू केही नभएको ती अधिकारीको भनाइ छ । कलंकी–नागढुंगा ६ किमि सडकमा बिजुलीका खम्बा हटाउने काम भइरहेकाले केही दिनभित्रै कालोपत्रे हुने विभागले जनाएको छ । त्रिपुरेश्वरदेखि कलंकीसम्मको सडकको विस्तार सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकिएको छ । साँखु–चाबहिल ११ किमि सडक खण्डमा पनि अदालतकै आदेशले घर भत्काउन सकिएको छैन ।
ConversionConversion EmoticonEmoticon