चैत्र २८, २०७३- जुनेली रात, ठूलो मैदान, हजारौंको भीड । गाउँघरको अग्लो ढुंगामाथि बसेर कटुवालले घोक हालेझैं अमृत गुरुङ स्टेजबाट कराए, ‘स्थानीय चुनाव हुन लागेको छ, २० वर्षपछि ।
यो चुनावमा सबै जना आआफ्नो ठाउँबाट सहभागी होऔं हऽऽऽऽऽऽऽइ... ।’ भीड उफ्रिएर अमृतकै शैलीमा भन्यो, ‘हुन्छ हऽऽऽऽऽइ... ।’
जिन्स पाइन्ट, जिन्सकै ज्याकेट र गान्धी चस्मामा ठाँटिएका अमृत ब्यान्डसहित पोखरामा तीन वर्षपछि झुल्किए । पोखरा रंगशालामा शनिबार साँझ उनले नयाँ–पुराना गीत मात्रै सुनाएनन्, चुनावको कुरा पनि गरे । नेताको कुरा गरे । देशको कुरा गरे । ‘पहिले जस्तो जनतालाई झुक्याउन सजिलो छैन,’ चुनावी आश्वासन बाँडेर काम नगर्ने नेताप्रति उनले औंला ठड्याउँदै भने, ‘जनता जागेको छ । अहिलेसम्म तपाईंहरूले जे पायो त्यही गर्नुभयो । अबदेखि खबरदार छ हऽऽऽऽइ... ।’
लामो कपाल मिलाउँदै उनले थपे, ‘कुनचाहिँ पार्टीको कुन नेता होइन, कुन योग्य मान्छे हो, कुन असल मान्छे हो, कुन राम्रो मान्छे हो, छान्ने कोसिस गरौं हऽऽऽऽऽइ... ।’
गृह मैदानमा नेपथ्यलाई सुन्न भीड पनि के कम थियो र १ होमा हो मिलाउँदै गयो । सबै एकजुट हुनुपर्ने र नेपाल रहे हामी रहनेप्रति सचेत गराउँदै अमृत गाउन थाले :
गाउँगाउँबाट उठ
बस्तीबस्तीबाट उठ
यो देशको मुहार, फेर्नलाई उठ... ।
पोखराको मौसम केही सातादेखि गन्जागोल थियो । बिहान घाम लागे पनि बेलुका हावाहुरीसहितको झरी पथ्र्यो । उतिखेरै पानी पथ्र्यो, उतिखेरै घाम लाग्थ्यो । टन्टलापुर घाममा बिनापानीको असिना पथ्र्यो । शनिबार भने बिहानैदेखि घमाइलो भयो । धेरै दिनदेखि नखुलेका हिमाल खुले । साँझ आकाशमा बादल देखिएन । नेपथ्यलाई खुदो पल्टियो । पोखरेली दर्शकश्रोताले दुई घण्टा मज्जाले नाच्न पाए ।
नेपथ्य सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेको नयाँ गीत ‘कुरूप अनुहार हो, यहाँ कुनै साथी छैन...’ बाट सुरु भएको थियो । ‘भेडाको ऊनजस्तो...,’ ‘छेक्यो छेक्यो देउराली डाँडा...’ र ‘जोमसोमै बजारमा...’ सुनाएपछि अमृत नोस्टाल्जिक बने । घरि पोखराको यादमा, घरि ब्यान्डका पुराना सदस्यको यादमा त घरि साथीहरूको यादमा । ‘पहिला यही चौरमा खेल्ने गथ्र्यौं, रमाउने गथ्र्यौं,’ उनले सम्झिए, ‘अहिले यहाँ कार्यक्रम गर्न पाउँदा रमाइलो लागेको छ ।’ ब्यान्ड स्थापनाको २५ वर्षको पहिलो कार्यक्रम पोखरामा गर्न पाउँदा गायक उसै पनि गदगद थिए ।
नेपथ्यको पहिलो रेकर्डेड गीत ‘आँगनैभरि हिउँ नै झरे...,’ ‘मर्दीखोला घुम्दै आए है, साइँली माइँली मेलैमा...’, ‘तालको पानी, माछीले खानी...’, ‘रेशम...’, ‘जाम् भने जाम् त नि...’, ‘मै नाचे छमछमी...’ पनि सुन्न पाए दर्शकश्रोताले ।
कन्सर्टकै बीचमा पोखरेली स्रष्टाहरूको नाम लिए अमृतले । ‘छेक्यो छेक्यो...’ रचयिता सुक गुरुङलाई सम्झिए, दुवै मृगौला बिग्रिएका उनको स्वास्थ्यलाभको कामना गरे । तीर्थ श्रेष्ठको कविता ‘आमा’ गाएर जन्म दिने ठाउँ र आमालाई माया गर्न कहिल्यै नछुटाउन बिन्ती गरे । ‘जोगले हुन्छ भेट...’, ‘कोसीको पानी...’ र ‘हो रामा रामा...’ मा दर्शकश्रोतालाई उफार्नु उफारे ।
अमृतले कन्सर्टको बिट मारेका थिए, रवीन्द्र मिश्र लिखित ‘तिमी पनि नेपाली, म पनि नेपाली...’ गाएर ।
ConversionConversion EmoticonEmoticon