Mid-vehicles 'number plates embossed'


काठमाडौं,सरकारले १ वैशाख ०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि सम्पूर्ण प्राविधिक तयार पुरा भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । ‘नयाँ वर्षसँगै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने कामको थालनी हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने ।

पाँच वर्षभित्र २५ लाख सवारी साधनको नम्बर प्लेट इम्बोस्ड गराउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुटनीतिक र सरकारी सवारी साधनबाट यो निर्णय कार्यान्वयन गरिने छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को तेस्रो संशोधनको नियम ४ को उपनियम ४ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि सरकारले इम्बोस्ड नम्बर प्लेटको अवधारणा अगाडि बढाएको हो ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो ।

हाल सवारी साधनमा प्रचलनमा रहेकाभन्दा फरक स्वरुपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । प्लेटको लेभलभन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बर प्लेट आधुनिक र सुरक्षित मानिन्छ ।

इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहने छ । यसले कति नम्बरको सवारी कहाँ कस्तो अवस्थामा रहेको छ पत्ता लगाउँछ ।

१० वटा ‘गेट वे’ स्थापना हुने
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनका लागि काठमाडौं उपत्यकामा पाँच र उपत्यकाबाहिर पाँच गरी १० वटा गेट वे स्थापना गरिनेछ । यस्ता गेट वेले कतिवटा सवारीसाधन कता गए भन्ने तथ्यांकलाई ‘रिड’ गर्ने काम गर्छ । यसले गर्दा ट्राफिक व्यवस्थापनदेखि सवारीसाधनको विस्तृत जानकारीसमेत सहजै पत्ता लगाउन सकिन्छ ।
Previous
Next Post »