The last time the younger generation of singers Pramod Kharel appreciated


चैत्र १६, २०७३- पछिल्लो पटक युवा पुस्ताले रुचाएका गायक हुन् प्रमोद खरेल । उनी जुन कार्यक्रममा जान्छन्, त्यहाँको सांगीतिक माहोल तताउँछन् ।

दर्शकश्रोता उनको प्रस्तुति हेर्न लालायित हुन्छन् । जुन गीत गाउँछन्, प्राय: ‘वान्स मोर’ गुन्जिन्छ ।
केही समयअघि नवलपरासीमा आयोजित गैंडाकोट सांस्कृतिक तथा व्यापारिक मेलामा भेटिएका उनी आफ्नो सांगीतिक यात्राबारे गफिएका थिए ।
उनको घर झापा बनियानीमा छ । त्यहाँ विवाह, भजन, कीर्तन र व्रतबन्धमा गीत बज्थे । त्यो बेला उनको मनमा गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । रुचि गीतसंगीतमै थियो । तर कक्षाको प्रथम विद्यार्थी भएकाले उनलाई गीत गाउँदा नराम्रो भइन्छ भन्ने डर लाग्थ्यो । गाउँ, समाज र परिवारको चाहना भने डाक्टर बनोस् भन्ने थियो । उनले पनि डाक्टर बन्ने सपना साँचेका थिए । तर नारायणगोपाल, मोहम्मद रफी, कुमार सानुका गीत भने गुनगुनाउन छाड्दैनथे । विसं २०५१ मा एलएसली दिएर उनी काठमाडौं हान्निए ।
‘गीत गाउँछु भन्ने लाग्थ्यो, तर प्रोफेसनल गायक बन्छु भन्ने लागेको थिएन,’ उनले भने, ‘साथीहरूले मैले गाएको गीत मन पराउँथे ।’
एसएलसी पास भएपछि कलेज धाउन थाले । आईएस्सीको परीक्षा सकिएपछि ग्याप भयो । त्यो बेला घर गए । नाटक लेखेर मञ्चन पनि गरे । आफैंले अभिनयसमेत गरे ।
‘त्यो बेला अभिनयको सोखिन भएकाले मैले बाल कलाकार बनाउन माग गर्दै चलचित्र विकास बोर्डमा यादव खरेललाई चिठी पनि पठाएको थिएँ,’ उनले भने, ‘एक महिनापछि हुलाकी दाइ मलाई खोज्दै आए, पक्कै कलाकार बन्न आउनू भनेर चिठी आयो होला भन्दै लिन गएको त, ठेगाना नमिलेर चिठी फर्किएको रहेछ ।’
उनी त्यसपछि पुन: काठमाडौंतिर लागे । संगीत सिक्न थाले । डोरेमी संगीत पाठशालामा पाँच वर्ष धाए ।
‘घरबाट कलेजमा भर्ना हुन पैसा पठाउनुहुन्थ्यो,’ उनले सुनाए, ‘त्यो पैसाले डोरेमीमा भर्ना भएँ, पछि होम टयुसन पढेर कलेज भर्ना भएँ ।’
गीतसंगीतप्रतिको क्रेज बढ्दै गयो । २०५६ मा आफ्नै शब्द र स्वर तथा पविधन राईको संगीतमा ‘निर्दोषी मायालुलाई...’ गीत ल्याए । त्यसपछि फुटकर गीत रेकर्ड भए । कलेक्सन एल्बममा गाउन अफर गर्ने बढे । गीतसंगीतमा लागे पनि उनले पढ्न बिर्सिएनन् । केमेस्ट्रीमा मास्टर्स गरे । अनि सात वर्ष कलेज पढाए । पछि व्यस्तताले कलेज पढाउन छाडे ।
यसपछि उनी २०६०–६१ मा दर्शकश्रोतामाझ ‘प्राप्ति’ एल्बम लिएर हाजिर भए । तैपनि उनी हतारमा गीत निकाल्न लागिपरेनन् । मिहिनेतमा विश्वास गर्ने उनले दर्शकश्रोताको चाहनाअनुसारको गीत गाउन थाले । यो समयमा उनका ‘हे माया....’, ‘बाँचेको थिए तिम्रै लागि...’ गीत चले । संगीतकार महेश खडका र सुरेश अधिकारीले उनलाई ‘पलपल’ मा गाउने अवसर दिए । उक्त फिल्मको गीत ‘अँगालोभरिको माया..’ चल्यो । २०६४ मा ‘फर्ज’ फिल्मको ‘लागी लागी...’ गीत गाए । यो गीत पनि हिट भयो ।
‘सेन्टिमेन्टल गीत गाउनुपर्दा फिल्म बनाउनेहरूले मलाई सम्झन्थे,’ उनले भने, ‘त्यो समयमा मैले झन्डै ५० फिल्ममा गीत गाएँ ।’ स्वर राम्रो भएकाले नाम चलेका संगीतकारसँग उनको उठबस हुन थाल्यो । २०६७ मा ‘प्रणय’ एल्बममा महेश खडकाको संगीत र शीतल गिरीको शब्दमा ‘मबिना कसै कसैलाई....’ को गीत गाए ।
यो गीत सुपर/डुपर हिट भयो । प्रत्येक दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भयो । उनलाई दर्शकश्रोताबीच सफल र राम्रो गायकका रूपमा यही गीतले उभ्यायो । कन्सर्टका लागि निम्तो आउने क्रम बढ्यो । ‘गीत पपुलर नहुँदा पनि मस्टेज तताउँथेँ, तर यो गीतले मलाई सबै पुस्ताका श्रोतासामु चिनाउने काम गर्‍यो,’ उनले भने, ‘त्यही भएर म स्टेजमा चढ्दा आफूलाई बिर्सन्छु, दर्शकलाई सम्झन्छु ।’ ‘याद गर्न पनि...’, ‘मलाई जसले पनि किन रुवाउँछ...’, ‘उसले जति माया...’, ‘आफ्नो भनौं कसलाई...’, ‘छुट्टिएर तिमीसँग...,’ ‘आफू दु:खी बनेर...’ जस्ता चर्चित गीत कलेक्सन एल्बममा गाए । ‘सपना डाक्टर बन्ने थियो,’ उनले भने, ‘दर्शकको मायाले आज गायक बन्न पुगें ।’
२०६८ मा आएर उनले ‘प्रवेग’ एल्बम ल्याए । त्यसको ‘डुबायो पापी मायाले...’ राम्रै चल्यो ।
‘हंगामा भो...’, ‘झुम्कावाली...’ ‘चल बतास...’ स्टेज कार्यक्रममा दर्शकश्रोताको बढी डिमान्डमा पर्ने गीत हुन् । ‘आफ्नै शब्द, संगीत र स्वरमा चाँडै एल्बम निकाल्दै छु,’ उनले अबको योजना पनि सुनाउन भ्याए ।
सांगीतिक कार्यक्रमको सिलसिलामा ३० देश पुगिसकेका छन् उनी । वर्षको आधा समय विदेशमा व्यस्त हुन्छन् । डेढ महिनाका लागि अमेरिका, क्यानाडा जाने तयारीमा छन् । नेपालका ६५ जिल्ला पुगिसके ।
उनी यति बेला सबैभन्दा बढी गीत रेकर्ड गर्ने गायकमा पर्छन् । ‘फुर्सद भएको दिन गीत रेकर्डिङमा व्यस्त हुन्छु,’ उनले भने, ‘महिनामा प्राय: एक सयजति गीत रेकर्ड हुन्छन् ।’
त्यसो त उनी क्रिकेटप्रेमी गायकको रूपमा समेत चिनिन्छन् । ‘क्रिकेट खेलाडीलाई प्रेरणा दिनुपर्छ,’ उनले भने, ‘यो खेलले हाम्रो देशको शिर उचो राख्ने काम गरेको छ ।’ क्रिकेट म्याच हुँदा सामाजिक सञ्जाल फेसबुकमा अपडेट गरिरहन्छन् उनी । स्टेज कार्यक्रममा क्रिकेटसम्बन्धी गीत ‘मेरो देश प्यारो नेपाल...’ पनि गाउन बिर्सदैनन् ।
फेसबुक पेजमा ३ लाख फलोअर्स छन् उनका । गायकहरूमा सर्वाधिक रोयल्टी बुझ्नेमा उनी नै पर्छन् । ‘अहिलेसम्म दुई हजारभन्दा बढी गीत गाइसकेँ,’ उनले भने, ‘व्यस्तताले गर्दा घरपरिवारलाई समय दिन भ्याएको छैन ।’
लगनका कारण संगीतले उनैलाई सबै थोक दिएको छ । ‘जुनसुकै क्षेत्रमा पनि मिहिनेतको जरुरी हुन्छ,’ उनले भने, ‘मिहिनेत गर्न छाड्नु हुँदैन । मिहिनेतले एक दिन सबैलाई सफल बनाउँछ ।’
Previous
Next Post »