विभिन्न जिल्लाबाट स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ । प्रायजसो क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका भ्रातृ संगठन विजयी भएका छन् । केहीमा अझै विवादका कारण मतगणना सुरु भएको छैन ।
- कान्तिपुर जिल्ला ब्युरो, काठमाडौं
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसको स्ववियुमा जित हासिल गरेपछि खुसियाली मनाउँदै अनेरास्ववियुका विद्यार्थी ।
स्ववियु चुनाव
फाल्गुन २०, २०७३- पूर्वका विभिन्न क्याम्पसमा स्ववियु नेतृत्वका लागि भएको मतदानको परिणामअनुसार बिहीबारसम्म कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अखिल अग्रपंक्तिमा छन् ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेविसंघ प्यानल विजयी भएको छ । सभापतिमा प्रेमकुमार राई चुनिए । भोजपुर बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले सचिवबाहेक सबै पदमा जित हात पारेको छ । प्रकाशसिं राई अध्यक्ष बनेका छन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा संघीय गठबन्धनले जितेको छ । माओवादी केन्द्र र विप्लव समर्थित विद्यार्थी संगठन, संघीय विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरमको साझा प्यानलका उम्मेदवार समाजवादीका सागरसरगम चेम्जोङ सभापति चुनिए । केन्द्रीय प्रविधि क्याम्पस हातीसारमा सौरभ सञ्जेलको नेतृत्वमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।
संखुवासभाका चारवटै क्याम्पसमा अनेरास्ववियु विजयी भयो । बरुण बहुमुखी क्याम्पसमा सुरेश थापा, मादी बहुमुखीमा नवराज कडुवाल र संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ सभापति भए । रामेश्वर बहुमुखी क्याम्पसमा नवीन राईलाई चिट्ठा तानेर सभापति छानियो ।
झापाका ६ मा नेविसंघ
जिल्लाका ६ वटा क्याम्पसमा नेविसंघ विजयी भएको छ । निर्वाचन गरिएका १० मध्ये मेची बहुमुखी क्याम्पसमा विवादले मतगणना सुरु हुन सकेको छैन । नेविसंघले काँकडभिट्टा, दुर्गा, गौरीगन्ज, कन्काई बिर्तामोड, दमक र शनिश्चरेमा जित हासिल गरेको हो । शनिश्चरेमा ईशान पौडेल, दमक बहुमुखीमा विनोद चापागार्इं, बिर्तामोडस्थित कन्काई आदर्शमा सञ्जय राई, गौरीगन्जमा देवकुमार ताजपुरिया, काँकडभिट्टामा सुरज सुवेदी र गरामनीस्थित दुर्गा क्याम्पसमा विनोद उप्रेती सभापति चुनिए ।
गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा भने अनेरास्ववियु विजयी भएको छ । गौरादहमा कमल पौडेल र त्रिदेवमा लक्ष्मीप्रसाद न्यौपाने सभापतिमा निर्वाचित भए । देवी क्याम्पस बिर्तामोडको सभापतिमा अखिल क्रान्तिकारीका पदमप्रसाद खड्काले जित हात पारेका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरमा भने फर्जी मतको विवादका कारण बिहीबार साँझसम्म पनि गणना सुरु हुन सकेको छैन । धुलाबारी बहुमुखी क्याम्पसमा फागुन २१ गतेका लागि निर्वाचन तय गरिएको छ भने कन्काई बहुमुखी क्याम्पस सुरुंगामा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा गणेश घिमिरे नेतृत्वको अनेरास्ववियु प्यानल विजयी भएको छ । पथरी बहुमुखी क्याम्पसमा गोपाल सावाँ नेतृत्वको नेविसंघ प्यानलले जितेको छ ।
कोहलपुरमा अखिलको प्यानलै
बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा अनेरास्ववियुका दिनेश केसीको प्यानलै विजयी भएको छ । बुधबार राति अबेर भएको मतगणनामा उनले १ सय ७६ मत ल्याएका हुन् ।
नारायण र द्रोणाचलमा अखिल
दैलेखका नारायण र द्रोणाचल क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ । नारायण क्याम्पसमा रेखा थापा र द्रोणाचल क्याम्पसमा अग्नि रिजाल सभापति चुनिए । जिल्लाका पाँचमध्ये चामुन्डा र तिलेपाटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन । अवलपराजुलमा नेविसंघको प्यानल निर्विरोध भएको छ ।
तीनमा नेविसंघ, एकमा अखिल
पोखराका चुनाव भएका पाँच क्याम्पसमध्ये तीनमा नेविसंघ र एउटामा अनेरास्ववियुले जितेको छ । बिन्दुवासिनी संस्कृत विद्यापीठ, चिकित्साशास्त्र अध्ययन संस्थानको नर्सिङ कलेज र जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघ र वन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा अनेरास्ववियुले जित हात पारेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसमा भने डेढ सय मत गन्न बाँकी छँदा विवाद उत्पन्न भएपछि गणना रोकिएको छ । नेविसंघ र अखिल क्रान्तिकारीले विवाद झिकेपछि मतगणना रोकिएको निर्वाचन समितिले जनाएको छ । बिन्दुवासिनी संस्कृत विद्यापीठमा प्रत्यक्षतर्फ केशव आचार्यको नेतृत्व र नर्सिङ कलेजमा राजलक्ष्मी बस्नेतको नेतृत्वमा नेविसंघ प्यानलै विजयी भएको छ ।
जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघ र नयाँशक्ति विद्यार्थीको संयुक्त प्यानलबाट सभापतिमा आशिक गुरुङ विजयी भएका छन् । वन विज्ञान क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको छ । सभापतिमा विशाल अर्याल चुनिए ।
तनहुँमा नेविसंघ
निर्धारित मितिमा नेविसंघले मात्रै उम्मेदवारी दर्ता गरेपछि सहिद कृष्ण क्याम्पसमा निर्विरोध निर्वाचित भएको छ । अन्य चार क्याम्पसमा पनि नेविसंघको प्यानलै विजयी भएको छ । सहिद कृष्ण क्याम्पसमा शीर्षक भट्टराई, आँबुखैरेनी बहुमुखी क्याम्पसमा पूर्णिमा थापा, दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा दुर्गा भण्डारी, भिमादको जनज्योती क्याम्पसमा सुनिल श्रेष्ठ सभापति भएका छन् । त्यस्तै गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा एक सदस्यबाहेक सबै पदमा नेविसंघले विजय हासिल गरेको छ । ८७ मत ल्याएर प्रविन बस्नेत सभापति चुनिए ।
रेसुंगामा संयुक्त प्यानल
गुल्मीको रेसुंगा क्याम्पसमा श्रीराम महतको नेतृत्वमा अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । महतले ३ सय ६१ र उनको प्रत्यासी नेविसंघका तोमलाल पन्थीले ३ सय १ मत ल्याए । २०४१ देखि नै यहाँ नेविसंघले जित्दै आएको थियो ।
ConversionConversion EmoticonEmoticon