चैत्र १६, २०७३- फुङलिङ नगरपालिका ३ का कृष्ण बस्नेतले ल्याएको एउटा गाई अपांगजस्तै भएको छ । १ लाख २५ हजार रुपैयाँमा खरिद गरेको गाई ‘बस्न सक्दैन, बसिहाले उठ्न सक्दैन ।’ गाईलाई अपांग हुनबाट बचाउन उनले बोरा र डोरी लगाएर त्यसैमा अडिएर बस्न र उठ्न सक्ने विधि अपनाएका छन् । गोठमा बाँसको बलोमा डोरी अड्याएर गाईलाई थमाएर राखेका छन् ।
उनको सहयोगमा ल्याइएका १० वटा गाईहरूमा कुनै न कुनै समस्या देखिएको छ । ‘कतिपय कुँजो भएर उठ्नै नसकी मरे । कतिपय फेरि भर्ना हुन सकेनन् । कुनैबाट दुधै आएन,’ उनले भने, ‘ल्याउन होस नपुर्याए लाखौं रुपैयाँ स्वाहा हुने मात्रै नभएर पाल्दा हैरान हुने रहेछ ।’
यहाँ उन्नत जातका गाई इलामबाट ल्याउनुपर्छ । सबै गाई पिकअप (सानो) गाडीमा राखेर ल्याउनुपर्छ । बस्नेतको अनुभवमा गाडीमा बसाएर ल्याए त्यो गाईमा कुनै न कुनै समस्या आइहाल्छ । त्यसैले बस्न नदिई उभ्याएर डोरीले बाधेर ल्याउनुपर्छ । बसाएर ल्याए जोड्नीहरू खुस्कने, शरीरको भित्री भाग थर्किएर काम गर्न नसक्ने अवस्थाको हुने उनको अनुभव छ ।
गाडीमा त्यही बलो लगाएर बोराको बस्ने बनाएर अड्याएर ल्याए मात्रै सुरक्षित गन्तव्यमा पुर्याउन सकिने बस्नेत बताउँछन् । जिल्ला पशुसेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत बोधनाथ अधिकारी गाडीमा कसरी गाई ओसार्ने भन्ने विषयमा किसानलाई आफूहरूले परामर्श दिन थालेको बताउँछन् । ब्याउने र ब्याएको गाईमा क्याल्सियमको मात्रा अत्यन्तै कम हुन्छ । हड्डीहरू कमजोर हुन्छन् । दूधको माध्यमबाट शरीरको क्याल्सियम बाहिर निस्कन्छ । त्यसैले तागतिलो खानेकुरामा ध्यान दिनुपर्ने र गाडीमा अड्याएर बिस्तारै हिँडाउनुपर्ने उनले बताए । गोठमा पुर्याइसकेपछि पनि गाईलाई बसिरहन दिन नहुने उनले बताए । बसिरहे त्यसको तल्लो भागमा घाउ हुन्छ र त्यो निको बनाउन कठिन हुन्छ । त्यसैले बस्न दिन नहुने उनको सुझाव छ ।
उन्नत जातको राम्रो गाईलाई सन्तुलित खुराक दिनु आवश्यक भएको उनले बताए । किसानले चाँडो पुर्याउनका लागि दैनिक तीन सय किलोमिटरभन्दा बढी गाडीमा हिँडाउँदा पनि समस्या हुने कार्यालयका प्राविधिकहरू बताउँछन् ।
शिक्षक छाडी गाईपालन
फुङलिङ नगरपालिका ४ का कृष्ण बस्नेत शिक्षण पेसा छोडेर गाईपालनमा लागेका छन् । थुकिम्वा घर भएका उनले फुङलिङ नगरपालिकामा लखनाथ बरालको जग्गा भाडामा लिएर गाईपालन सुरु गरेका हुन् । इलामबाट उन्नत जातका ६ वटा गाई ल्याएर व्यवसाय सुरु गरेका बस्नेत गाई र बाच्छा गरी अहिले १८ वटा पुगेको बताउँछन् । तीन जनालाई रोजगारी दिइरहेका उनले मासिक १ लाख रुपैयाँ आम्दानी लिइरहेका छन् ।
ConversionConversion EmoticonEmoticon