Is overwhelmed by the village Maleth


फाल्गुन २५, २०७३- सिंगो बस्ती शोकाकुल छ । आक्रोशित र त्रसित पनि । सोमबार दिउँसो टोलनजिकै राजविराज–रुपनी सडक खण्डनजिक प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले गाउँका दुई जनाको मृत्यु भएपछि यो अवस्था भएको हो ।

झडपमा सन्जन मेहता र पीताम्बर मण्डलको मृत्यु भएपछि गाउँका अधिकांश घरमा मंगलबार खाना पाकेन । मृतकका घरमा आफन्तको लर्को छ । परिवारजन कोही मूच्र्छित त कोही रोइकराइ गरिरहेका छन् । मृत्यु भएका दुवै कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । झडपका क्रममा मृत्यु भएका आनन्द साह स्वास्थ्य चौकी डिमनमा सिनियर अहेव थिए । राष्ट्रिय पोलियो खोप अभियानमा खटिएर फर्किंदै गर्दा उनलाई गोली लागेर मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतकमध्ये ५५ वर्षीय पीताम्बर आफ्ना दुई छोरालाई खोज्न पाँच मिनेटअघि घरबाट निस्केका थिए । १५ वर्षीय दशरथ र १९ वर्षीय भोला मण्डल झडप भएतिर गए कि भन्दै ७५ वर्षीय बुवा गोसाइ मण्डललाई लिन भनेर घरबाट निस्केका थिए । ‘घरबाट निस्केको पाँच मिनेट नबित्दै गोली लागेको खबर आयो ।’

ऐलानी जग्गामा घर बनाएका सुकुम्बासी पीताम्बर पेन्टरको काम गरी परिवारको गुजारा गर्दै आएका थिए । दुई छोरा र दुई छोरीका पिता पीताम्बरका दुवै छोरीको बिहे भइसकेको छ । वृद्ध पिता गोसाइ छिनछिनमा मूच्र्छित हुन्छन् । श्रीमती सोमनीदेवीको आँसु रोकिएको छैन । ‘यस वर्ष जेठो छोराको विवाहको योजना बनाउनुभएको थियो,’ भाइ सहदेवले भने । श्रीमती सोमनीले भक्कानिँदै भनिन्, ‘मेरा पतिले के बिगारेका थिए र प्रहरीले गोली हानेका ?’ परिवारमा चुल्हो बलेको छैन । शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ ।

घटनास्थलमै ज्यान गुमाएका मलेठ २ का २१ वर्षीय सन्जन मेहता ९ महिनाअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । तीन दाजुभाइमध्ये माहिलो उनी गाउँमै पान र किराना पसलमा बुवालाई पालो दिन गइरहेका थिए ।

‘घरमा खाना खाएर पसल गई बुवालाई घर पठाउने भन्दै निस्केका थिए,’ सन्जनका भाइ सुनीलले भने, ‘सडकमा पुग्दा झडप भइरहेको थियो, प्रहरीको गोली लागी ठाउँका ठाउँ ढले ।’
सुनीलका अनुसार उनी कुनै पार्टीका सदस्य थिएनन् । आईएसम्म पढेका उनी वृद्ध बुवासित पसल सञ्चालन गर्नुका साथै लोकसेवाको तयारी गरिरहेका थिए । घरबाहेक यो परिवारको चार कट्ठा मात्र जग्गा छ । ‘दैनिक चामल किनेर ल्याउने र खाने हाम्रो हैसियत हो ।’ विराटनगरमा पढदै गरेका भाइ सुनीलले भने, ‘हाम्रो परिवार काम गरेर खाने हो, राजनीति र जुलुसमा जाने हाम्रो हैसियत होइन र गएका पनि थिएनौं ।’

सन्जनको घटनास्थलमै मृत्यु भएको खबर सुनेपछि ९ महिना अघि मात्र वैवाहिक बन्धनमा बाँधिएकी सविता मेहता बेहोस भएकी थिइन् । विराटनगरमा उपचार गराइरहेकी उनको होस खुलेको छैन । सन्जनका दाजु रन्जन पनि बेहोस छन् । उनको उपचार भइरहेको छ । ६५ वर्षीया वृद्धा आमा शान्तिदेवी र ७१ वर्षका वृद्ध पिता लक्ष्मण मेहता बुढेसकालको सहारा गुमाउनुपर्दा शोकमग्न छन् ।

सिनियर अहेब आन्द साह बथनाहा स्वास्थ्य चौकीअन्तर्गत पोलियो खोप अभियानमा सहभागी हुनेको भत्ताबापतको १ लाख ३२ हजार रुपैयाँ र सीतापुर स्वास्थ्य चौकी अन्तर्गतको खोप
कार्यक्रमको कागजपत्र लिएर गएका थिए । फर्कंदै गर्दा उनलाई गोली लागेको थियो ।

प्रसवनी गाविस ४ घर भए पनि उनी राजविराज ९ स्थित राजदेवी मन्दिर छेउमा बस्दै आएका थिए । सोमबार गोली लाग्नु केही अघि उनले श्रीमती अनिता साहलाई केही बेरमै घर फर्किने बताएका थिए । श्रीमतीसित बोलेको केही बेरमै उनलाई गोली लागेको थियो ।

गोली लागेपछि उपचारका क्रममा धरानमा मृत्यु भएको थियो । साहको मृत्युपछि वृद्ध बुवा नारायण साह अचेत छन् । परिवारमा रुवाबासी चलेको छ ।
Previous
Next Post »