I am American space mission was Apollo 11 Lunar model pilot


भाद्र २६, २०७३- आजभन्दा ४७ वर्षअघिको कुरा हो । म अमेरिकी अन्तरिक्ष अभियान अपोलो ११ को लुनर मोडेलको पाइलट थिएँ । मिसन कमान्डर नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेको थिएँ । चन्द्रमाको सतहमा पहिले नील आर्मस्ट्रङ उत्रे । त्यसैले उनको नाम चन्द्रमामा पुग्ने पहिलो मानिसका रूपमा रह्यो । तर हामी सँगै गएका हौं । उनीलगत्तै केही सेकेन्डको फरकमा म पनि सतहमा ओर्लें । चन्द्रमाको सतहमा हामीले मिलेर करिब साढे तीन घन्टासम्म विभिन्न प्रयोगहरू गरेका थियौं । हामी चन्द्रमाको सतहमा ओर्लेेको दिन २० जुलाई १९६९ हो ।

चन्द्रमाको सतहमा ओर्लंदा त्यहाँको भुइँको धूलो ‘टेल्कम पाउडर’ जस्तै छरिएको थियो । त्यसैले त्यहाँ हिँड्दा जुत्ताको स्पष्ट डाम सतहमा पर्दो रहेछ । मैलै आफ्नो जुत्ताले चन्द्रमाको सतहमा बनाएको छापको फोटोसमेत खिचेँ । यो फोटो विश्वभरि नै चर्चित भयो । म त्यहाँको सतहबाट सम्मोहित भएँ ।
यानबाट ओर्लनासाथ मैले पहिलो पटक क्षितिजमा हेरें । चन्द्रमाको आकाशमा हेर्दा कालो मात्र देखिन्थ्यो । त्यहाँ केही उम्रिदैन । हावा पनि छैन । जीवनसमेत छैन । त्यस्तो ठाउँ पृथ्वीमा पाइँदैन । हामीले त्यहाँ अमेरिकाको झन्डा गाड्यौं । चन्द्रमामा बसेर त्यो झन्ंडालाई स्यालुट गर्नु मेरो जीवनको धेरै गर्व गर्ने खालको क्षण थियो । हामीले चन्द्रमाका केही फोटोसमेत खिच्यौं ।

पाइलटका रूपमा काम सुरु गर्दाताका मेरो आँखा चीलजस्तो थियो । मैले आफ्नो विमानचालक बुवाको पाइलालाई पछ्याएँ । म जेट फाइटर र पाइलट बनें । मैले ६६ वटा मिसनमा समेत काम गरें । मैले मिग १५ विमानसमेत उडाएँ ।
मेरो युद्घ विमान चलाउने अनुभवले नासाको चासोमा काम लाग्यो । यति मात्र नभएर मेरो गोताखोरी अनुभवले समेत अन्तरिक्ष यात्री बन्न सघायो । शून्य गुरुत्व बलमा काम गर्न सरल भयो । मैले अन्तरिक्ष यात्राहरूको क्रममा साढे पाँच घन्टा ‘स्पेस वाक’ गरेको थिएँ ।
हामी वर्षौंको कठिन परिश्रमपछि चन्द्रमामा पुगेका थियौं । यो परिश्रम एक, दुई होइन हज्जारौं जनाको परिश्रम थियो । यो अभियानमा हामी असफलसमेत हुन सक्थ्यौं । चन्द्रमामा नपुग्ने वा पुगे पनि त्यहाँबाट पृथ्वीमा फर्किन नसक्ने लगायतका धेरै नराम्रा सम्भावनाहरूसमेत थिए । चन्द्रमामा पुगेपछि मैले त्यहाँको सतहमा विभिन्न परीक्षणहरू गरें । मैले त्यहाँ आफ्नो फोटो आफैं लिएँ । अर्थात् अन्तरिक्षमा पहिलो सेल्फी लिएको थिएँ ।
चन्द्रमा पुग्ने अभियानको सफलताको सम्भावनाबारे हामीलाई कसैले भनेको थिएन । हामी तीनै जना अनुमान मात्र लगाउन सक्थ्यौं । पहिलो प्रयासमा सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने सम्भावना ६० प्रतिशत मात्र थियो । यस्तै घर सुरक्षित रूपले फर्कने सम्भावना ९५ प्रतिशत रहेको छलफल गथ्र्यौं । अन्तत: हामी चन्द्रमामा सुरक्षित रूपमा अवरण गर्‍यौं । यो टिम वर्क थियो । यसैले थुप्रै अप्ठ्यारोका बाबजुद हामी चन्द्रमामा पुग्न सफल भयौं । दृढ निश्चय, साहस र आत्मविश्वासले सफल भएका हौं । हामी मानवताका लागि चन्द्रमामा पुगेका हौं । अब भविष्यमा मंगल ग्रहमा मानव पुग्नुपर्छ । किनभने मानवताका लागि खोजी आवश्यक छ ।

अपोलो ११ अभियान
अपोलो ११ चन्द्रमामा ओर्लने पहिलो मानव अभियान थियो । यो अभियानको पाँचौं मानव उडान हुनुको साथै चन्द्रमासम्मको तेस्रो मानव उडान थियो । यो अन्तरिक्ष यान सन् १९६९ को जुलाई १६ तारिखमा क्यानडेली अन्तरिक्ष केन्द्रबाट बिहान ९ बजेर ३२ मिनेटमा प्रक्षेपण गरिएको थियो । यो यान पृथ्वीको कक्षमा प्रक्षेपणको १२ मिनेटपछि प्रवेश गरेको थियो । यानको कमान्डर नील आर्मस्ट्रङ र नियन्त्रण यान चालक माइकल कालिंस थिए भने चन्द्रयान चालकका रूपमा म थिएँ । पृथ्वीबाट पाँच दिनको यात्रापछि २० जुलाईमा हामीले चन्द्रमामा पाइला टेक्यौं, यो मावव जातिले पहिलोपल्ट चन्द्रमामा पाइला राखेको क्षण थियो ।
अपोलो ११ को प्रक्षेपणलाई १० लाख व्यक्तिले प्रक्षेपणस्थल नजिकका ठाउँहरूबाट हेरेका थिए भने करिब ६० करोड व्यक्तिले यसलाई टेलिभिजनमा हेरे । यो त्यसताकाको समयका लागि एउटा कीर्तिमान नै थियो ।

(चन्द्रामा पुगेका ८६ वर्षीय बज एल्ड्रिन गत साता काठमाडौं आए । उनी बिहीबार राजधानीमा एभरेस्ट साइन्स सेन्टरको कार्यक्रममा सरिक भए । त्यस क्रममा उनले बताएको चन्द्रमा यात्राको अनुभवलाई कान्तिपुरका अतुल मिश्रले शब्दमा उतारेका हुन् ।)
Previous
Next Post »