रिया भण्डारी, सामान्य प्रकृतिले सुत्केरी हुन नसक्ने अवस्था आएमा मात्रै शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने हो । अध्ययनअनुसार विश्वमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्रै आउने गर्दछ । तर, नेपालमा भने विभिन्न कारणले सिजेरियन सेक्सन गरी बच्चा जन्माउने प्रवित्त डरलाग्दो तवरबाट बढिरहेको छ ।
सम्भव भएसम्म सामान्य प्रकृतिबाटै बच्चा जन्माउनुपर्छ । केही जटिल देखिए चिकित्सकको सल्लाह र आवश्यकतामा अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हो । तर, नेपालमा त चिकित्सकको सल्लाहभन्दा पनि गर्भवती महिला, उनको श्रीमान् वा परिवारको चाहनामा अपरेसन गरेर बच्चा जन्माउने क्रम बढ्दो छ ।
बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्रा डा दिब्यश्री मल्लले सिजेरियन डेलिभरी भन्दा नर्मल डेलिभरी महिलाको लागि राम्रो भएकोले सिजेरियन नै गर्नु पर्ने बाध्यात्मक स्थिति नआएसम्म सिजेरियन नगर्न सुझाब दिनु भएको छ ।
सरकारी अस्पतालमा २८ प्रतिशत सी सेक्सन डेलिभरी भए पनि निजी अस्पतालामा यो संख्या निकै बढी छ । यतिसम्म कि निजी अस्पतालले कुल संख्याको ९३ प्रतिशतभन्दा बढी अपरेसन गराएर बच्चालाई जन्म दिएका छन् । निजी अस्पतालमा सुत्केरी हुन आउनेबाट बढि रकम असुल्न पाइने भएकाले पनि धेरै सिजेरियन डेलिभरी हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिजेरियन सेक्सन (सी सेक्सन) अर्थात् अपरेसन गरी बच्चा जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । प्राकृतिक रुपमा बच्चा नजन्माउनु आमा र बच्चा दुबैका लागि घातक रहेको पनि डब्लुएचओले जनाएको छ ।
ConversionConversion EmoticonEmoticon