चैत्र १०, २०७३- फिल्म निर्माण संख्यामा बढोत्तरी हुन थालेपछि स्वदेशी फिल्मका लागि सोलो रिलिज पाउनु नै उपलब्धि बन्न थालेको छ । सोलो रिलिजका लागि यतिबेला रिलिज डेट घोषणामा समेत प्रतिस्पर्धा चल्न थालेको छ ।
पहिले रिलिज मिति निश्चित गरेपछि अर्को फिल्मले सोही मितिमा चलाउन खोजे भिडन्त निम्त्याउनु जस्तै हुने भएकोले नैतिक रूपमा आफूलाई बलियो बनाउन पनि फिल्मकर्मीले यति बेला फिल्म सुटिङ फ्लोरमा जानुअघि नै रिलिज मिति घोषणा गर्न थालेका छन् ।
सुटिङ मितिको टुंगो अझै निश्चित नगरे पनि फिल्म ‘फाटेको जुत्ता’ ले आफ्ना सम्भावित दुई रिलिज मिति घोषणा गरिसकेको छ । अर्जुन कुमारको निर्माणमा निकेश खड्काको निर्देशन रहने ‘फाटेको जुत्ता’ ले साताअघि मात्रै मुख्य कलाकारका रूपमा सौगात मल्ल र प्रियंका कार्कीलाई फाइनल गरेको थियो ।
अझै अन्य कलाकारको टुंगो लागिनसके पनि फिल्म भने कात्तिक १७ मा रिलिज गर्ने टुंगो भने निर्माता अर्जुन कुमारले लगाइसकेका छन् । त्यसो त यसअघि उनी भदौ २३ मा आफ्नो फिल्म रिलिज गर्ने बताएका थिए । तर उक्त मितिलाई ‘फाटेको जुत्ता’ ले असीम शाह निर्देशित ‘दुई रुपैयाँ’ लाई सोलो रिलिजका लागि छोडिदिएको बुझिएको छ । निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको ‘दुई रुपैयाँ’ युनिट यतिबेला सुटिङका लागि झापामा व्यस्त छ ।
त्यसो त वर्षको सुरुवातमै तीन नेपाली फिल्मले भिडन्तको बिगुल फुक्दै छन् । दीपेन्द्र लामा निर्देशित ‘घामपानी’ र दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ सँगै जगदीश्वर थापा निर्देशित ‘राधे’ वैशाख १ मा भिड्दै छन् । सम्भावित भिडन्तलाई रोक्न पनि यतिबेला फिल्मकर्मीबीच रिलिज मिति घोषणामा प्रतिस्पर्धा देखिएको हो । त्यसैले पनि प्रि–प्रोडक्सनमै रहेको सुरेन्द्र पौडेलको निर्देशन रहने ‘कृ’ ले भदौ ८ लाई आफ्नो रिलिज डेट तय गरेको छ । अनमोल केसीको ‘गाजलु’ पछि आउन लागेको उक्त फिल्म यतिबेला दर्शकमाझ बहुप्रतीक्षित मानिएको छ ।
त्यसैले पनि उक्त फिल्मले हालसम्म सोलो रिलिज मात्रै पाएको छैन, लगत्तैको शुक्रबार कुनै पनि ठूला फिल्मले रिलिज गर्न आँटेका छैनन् । बरु ‘कृ’ भन्दा अघिल्लो साता भदौ २ मा ‘ग्याङस्टार ब्लुज’ रिलिज गरिने भएको छ । आशिरमान देशराज जोशी र आना शर्माको मुख्य जोडी रहने ‘ग्याङस्टार ब्लुज’ लाई हेमराज बिसीले निर्देशन गर्दै छन् । उक्त फिल्मले पनि सुटिङ अगावै रिलिज गर्ने मिति टुंगाएको हो । ‘ग्याङस्टार ब्लुज’ टिम फिल्मलाई कुनै पनि हालतमा अनमोलको ‘कृ’ भन्दा अघि रिलिज गर्ने अड्डीमा लागेको स्रोतको दाबी छ । यसअघि ‘ग्याङस्टार ब्लुज’ का लागि हेमराजले अनमोललाई नै खेलाउन गरेको प्रयास विफल भएपछि ‘इगो’ पलाएको हुन सक्ने अनुमान गरिएको छ ।
यस वर्ष मात्रै कीर्तिमानी कमाइ गरेर चर्चामा रहेको ‘छक्का पञ्जा’ युनिटले आगामी वर्षको असोज ११ मा रिलिज गर्ने गरी ‘छक्का पञ्जा २’ को प्रि–प्रोडक्सन कार्य थालेको छ । यति बेला स्क्रिप्ट सम्पादनको चरणमा रहेको युनिटले यसअघि भदौ १६ मा रिलिज गर्ने गरी फिल्मको नामसमेत ‘छक्का पञ्जा फेरि’ हुनेगरी घोषणा गरेको थियो । तर पछि फिल्मको नाम र रिलिज डेट दुवै परिवर्तन गरिए ।
अर्को फिल्म सोही मितिमा चलाउन खोजे भिडन्त निम्त्याउनु जस्तै हुने भएकोले नैतिक रूपमा आफू बलियो हुन फिल्मकर्मीले सुटिङ सुरु नहुँदै फ्लोरमा जानुअघि नै रिलिज मिति घोषणा गर्न थालेका छन् ।
ConversionConversion EmoticonEmoticon