चैत्र २, २०७३- बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रज्यू तपाईंले राजनीति गर्न जागिरबाट राजीनामा दिएको सुन्दा भूकम्पले मरुभूमितुल्य बनेको बारपाकको विकासमा खट्नुपर्ने बेला सांसदबाटै राजीनामा दिएर अर्को पार्टी गठन गर्ने डा. बाबुराम भट्टराईको याद आयो । जुन जिल्लाले उहाँलाई निर्वाचित गरायो, त्यही जिल्लामा उहाँको खाँचो हुने बेला पदबाट राजीनामा दिएर नयाँ शक्ति पार्टीको जन्मदाता बन्नुभयो । उहाँले पार्टीको अभियान बनाउने बेलाको सोच र अहिलेको अवस्था अनि आबद्धहरूको सायद तपाई राम्रैसँग मूल्यांकन गर्न सक्नुहुन्छ होला ।
तपाईं पनि आम राजनीतिक पार्टीलाई खबरदारी गर्ने र सही बाटोमा ल्याउन सक्ने क्षमता भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाको जिम्मेवार पदबाट नै राजीनामा दिएर राजनीतिमा आउनुको कुनै अर्थ छ जस्तो लाग्दैन । नेपालमा राजनीतिक पार्टीको खाँचो छैन । यहाँ त राजनीतिक पार्टीलाई सही मार्गमा ल्याउन सक्ने युवाशक्तिको जरुरी छ । एकल रूपमा कुनै पनि नयाँ राजनीतिक विचार बोक्दैमा देशमा परिवर्तन आइहाल्ने र त्यो परिवर्तन संस्थागत हुने सम्भावना देखिँदैन । देशलाई चाहिएको राम्रा दुई वा तीनवटा राजनीतिक पार्टी मात्र हो ।
तपाईंले जागिर छोडेरै पार्टी खोल्ने भन्ने समाचार पढेपछि पत्र लेख्ने मनसुवा भएको हो । तपार्इं—हामीले सोचेजस्तो नेपालको राजनीतिक वातावरण हामी नेपालीको चंगुलमा छैन । यो किन पनि भन्न सकिन्छ भने नेपालका अधिकांश राजनीतिक पार्टी विदेशी अनुदानबाट चलेका छन् । धेरैले गैरसरकारी संस्था खोलेर त्यसको आडमा पार्टी विस्तार गरेका छन् । कार्यकर्तालाई ती संस्थामा जागिर दिएर नैतिक रूपमा गिराएर आफ्नो पक्षमा वकालत गर्ने बनाएका छन् । मलाई बारम्बार यो भनाइ याद आउँछ– राजनीति नगर्नु पनि राजनीति हो । तसर्थ हामी कुनै पार्टी नखोलीकन देशलाई माया गर्ने, आत्मनिर्भर, शिक्षित, व्यवसायी वा अन्य जोकोही साविकको राजनीतिक पार्टी र उनीहरूको क्रियाकलापबाट दिक्क छन् । त्यस्ताहरूको एउटा गैरराजनीतिक सञ्जाल गठन गर्न सकिँदैन ?
यस्तो सञ्जाल जसले स्वदेश/विदेशमा रहेर नि:स्वार्थ रूपमा यी नेतालाई सही मार्गमा ल्याउने र हामीले चाहेको जस्तो काम गर्ने हनुमान बनाउन सकोस् । यी नेता जसले निहित स्वार्थको लागि विदेशीको इसारामा देश चलाएझैं हाम्रो राष्ट्रिय स्वार्थमा काम गर्न बाध्य पार्ने गैरराजनीतिक सञ्जालचाहिँ ठिक हो कि ? यदि त्यसो हो भने म पनि तपाईको अभियानको एक सदस्य हुन सक्छु । यस्तो सञ्जाल बनोस्, आवश्यक पर्दा राजनीतिक रूपमा भोलि मन्त्री वा प्रधानमन्त्री बन्ने अभिष्ट नराखीकन राम्रा नेता छान्ने र नराम्रा नेता फाल्ने अभियानमा पो लाग्ने कि ?
तपार्इंले जुन परिकल्पना सार्वजनिक गर्नुभएको छ, त्यसले पनि कालान्तरमा तपाईमा मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बन्ने सुषुप्त इच्छा देखिन्छ । तपाईले अहिले जसरी सामाजिक कार्य गरिरहेको छु भन्नुभएको छ, यो अर्काले दिएको अनुदानले गर्नुभएको हो । र तपाई आफैले भन्नुभएको छ, ४० वटा पुस्तकालय स्थापनाले परिवर्तन सम्भव छैन, नीतिमा नै परिवर्तन जरुरी छ । त्यसो भए हामी यस्तो शुभेच्छा राख्नेहरू एक भएर अहिलेकै नेताहरूलाई नीतिमा परिवर्तन ल्याउन किन दबाब नदिने ? अहिलेका नेता जुन दलदलमा फँसेका छन्, भोलि तपाईं पनि यसरी नै फँस्नु हुनेछ । किनकि तपाईंले आफूसँग भएको जुन शक्ति थियो, त्यसलाई लत्याउँदै हुनुहुन्छ र गतल बाटो रोज्दै हुनुहुन्छ । यो पत्र लेख्नुको तात्पर्य फेरि नेपाली युवालाई दोधार र अलमलमा पार्ने अर्को राजनीतिक पार्टीको जन्म नहोस् भन्ने व्यक्तिगत शुभेच्छामात्र हो । मेरो अर्को चिन्ता भनेको आम नेपालीले आशा गरेको तपाईंजस्तो व्यक्तित्वको पनि ज्युँदै मृत्यु नहोस् ।
– भूपेन्द्रविक्रम थापा
सिन्धुपाल्चोक
एमाले कसरी मधेस विरोधी ?
राजेन्द्र महर्जन लामो समयदेखि जातीय वैमनस्य तथा जातीय द्वन्द्व सिर्जना गर्ने लेखकका रूपमा सुपरिचित छन् । उनका हरेक लेखमा यही गन्ध भेटिन्छ । निरन्तर रूपमा उनले यही धर्म निर्वाह गर्दै आएका छन् । आजको एक्काइसौं शताब्दीमा जात र क्षेत्रका कुरा उरालेर दाजुभाइलाई भिडाउन उनी माहिर छन् भन्ने जगजाहेर छ । चैत १ मा प्रकाशित उनको ‘एमालेको राष्ट्रवाद’ त्यही अभियानको अर्काे संस्करणका रूपमा आएको छ । उनको शब्दमा महेन्द्रवादी संस्कारलाई एमालेले निरन्तरता दिएकोप्रति ठूलो आपत्ति रहेछ । उनलाई राम्रोसँग इतिहास अध्ययन गर्न म सुझाव दिन्छु । तिनै महेन्द्रले नै नेपाललाई पहिलोपल्ट विकेन्द्रित ढाँचामा ढालेका थिए । विकास निर्माणका अत्यधिक कार्य उनकै पालामा भएका थिए । यसो भन्दै गर्दा मैले महेन्द्रका सबै क्रियाकलाप राम्रा थिए भन्न खोजेको होइन । राम्रा कार्य जोसुकैले गरे पनि राम्रो भन्न सक्नुपर्छ । राजेन्द्रजीले नमाने पनि पृथ्वीनारायण शाहले नेपाललाई राजनीतिक रूपमा एकीकरण गरेर हामीलाई यो नेपाल जिम्मा लगाएकै हुन् ।
अब रह्यो एमालेको भावनात्मक एकीकरण अभियानको सन्दर्भ । विगत धेरै सयमदेखि एमालेलाई मधेस विरोधीको रूपमा चित्रित गरिएको छ । त्यही भ्रम चिर्न एमालेले मेची–महाकाली अभियान चलाएको हुनुपर्छ । तिनै केपी ओली हुन्, जसको नेतृत्वको सरकारले सबैभन्दा बढी बजेट तराईलाई छुट्याएको थियो । पछिल्लो पटक संसद्मा दर्ता गरिएको संविधान संशोधन विरुद्ध खुलेआम लागेकोले तपाईलाई पनि एमाले मधेस विरोधी लागेको होला । मैथिली, भोजपुरी, थारु, अवधी आदि मधेसी जनताका आफ्ना भाषालाई ओझेलमा पार्नेगरी हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोज्नेका विरुद्ध जनमत बटुल्ने एमाले कसरी मधेस विरोधी ? माग गर्ने बित्तिकै विदेशीलाई अंगिकृत नागरिकता दिनु हुँदैन भन्ने एमाले कसरी मधेस विरोधी ? मधेसका रैथानेलाई होइन, अंगिकृत नागरिकलाई राज्यको माथिल्लो तहसम्म लैजानु हुँदैन भन्ने एमाले कसरी मधेस विरोधी ?
– गंगा भट्टराई पाण्डेय
बिर्घा–३, वनकसी, स्याङजा
फागुन ३० गते प्रकाशित ‘एमालेको राष्ट्रवाद’ लेखमा पृथ्वीनारायण शाहको ‘एकीकरण भाग–२’ भन्ने जुन शब्द प्रयोग भएको छ, त्यो लज्जास्पद छ । एमाले दलको नाममा पृथ्वीनारायणको बेइज्जती मात्र गर्न लगाइएको भनेर बुझ्न अप्ठेरो छैन । लेखकले प्रमाण लिएर जनतासामु आउनुपर्यो । अथवा छलफल गर्न तयार हुनुपर्यो । अन्यथा कमाइ खाने बुद्धि निकालेर पृथ्वीनारायण शाहलाई गालीमात्र गर्दा ‘आकाशमा थुक्दा आफ्नै मुखमा छिटा’ भनेझैं भएको छ । पृथ्वीनारायणले कीर्तिपुरमा कति नाक काटेका थिए भनेर नाक गनेर बस्न सक्ने लेखक विद्वानले अस्तिमात्र भएको १० वर्षे युद्धमा कति जनाको घाँटी रेटियो अनि कति जनाको छाला काढियो ? त्यसबारे पनि उल्लेख गर्नुहोला भन्ने आशामा छु । सप्तरीमा ५ जना निर्दोष नेपालीको मृत्यु हुनु नेपाल सरकारको ठूलो कमजोरी थियो भने कञ्चनपुरमा एकजना नेपालीको भारतीय फौजले मार्नु भनेको नेपाल माथिको हमलासरह नै हो । यो पक्षमा सरकारले कडा कारबाही चलाउनुपर्छ ।
– डा. प्रेमसिंह बस्न्यात
बाँसबारी, काठमाडौं
ताप्के नै नताती बिँड तात्यो
५९ सालमा हुनुपर्ने स्थानीय तहको चुनाव ७४ सालमा होला कि नहोला ? यो अन्योल कायमै छ । जसरी पनि चुनाव हुनुपर्छ भन्ने एमाले र हामी चुनाव विरोधी होइनौँ भन्ने मधेसी दलहरू हलो अड्काएर गोरु चुटिरहेका छन् । सत्ता गठबन्धन दल नारा काटेरै भए पनि गोरु फुस्काएर अगाडि बढ्न खोजेको जस्तो देखिन्छ । तर त्यसरी अगाडि बढ्दा सबै ठाउँमा चुनाव सुनिश्चित हुने देखिँदैन । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ चुनाव भइहाले पनि ठिकै, नभए पनि ठिकैको अवस्थामा रहेका मधेसवादी दलहरूले चुनाव हुनै नदिने अड्डी कसिरहेका छन् । उनीहरूको यो अडान दोस्रो संविधानसभाको निर्वाचनमा मोहन वैद्य नेतृत्वको माओवादीले देखाएको हर्कतजस्तै पनि हुनसक्छ । तर सरकारले नै भित्रैदेखि निर्वाचन चाहेको हो कि होइन भन्ने कुरा मुख्य हो । स्थानीय निकायलाई स्थानीय तहमा बदलेर सम्बन्धित स्थानीय तहमा कर्मचारी खटाइसकेको देख्दा पक्कै चुनाव हुन्छ भन्ने आशा पनि पलाएको छ । तर राजनीतिक वातावरण हेर्दा चुनाव हुने लक्षण पटक्कै देखिएको छैन । नाम फेरिनु, साइनबोर्ड फेरिनु मात्रै प्रमुख कुरा होइन, मुख्यत: काम हुनु ठूलो र प्रमुख कुरा हो । वर्षौंदेखि हुन नसकेको स्थानीय तहको चुनावको मिति सरकारको स्वेच्छाले भन्दा पनि अरूकै करबलले तोकिएको हो । स्थानीय चुनाव गराउन सरकारले देखाएको तत्परताभन्दा निर्वाचन आयोगले देखाएको तत्परता बढी सक्रिय छ । चुनाव गराउन सक्छ कि सक्दैन, सरकार आफैँमा अन्योल कायमै रहेका बेला निर्वाचन आयोग एक कदम अगाडि बढ्नु ‘ताप्के नताती बिँड तात्नु’ भनेजस्तै हो ।
– सुजन देवकोटा
पालुङटार–८, गोरखा
चुनावमा आउनुहोस्
माथिल्लो नेतृत्वमा मधेसको तर्फबाट कोही पुगेन भन्ने हो भने सबैभन्दा पहिला गणतान्त्रिक मुलुकका प्रथम राष्ट्रपति बनेर १८२५ देखि २०६५ सालसम्म अविछिन्न रूपमा चलेको राजकीय परम्परालाई विस्थापित गर्दै रामवरण यादव नेतृत्वमा पुगेका हुन् भने परमानन्द झा पनि उपराष्ट्रपति बन्न सफल भए । महन्थ ठाकुर, विजय गच्छदार, राजेन्द्र महतो, उपेन्द्र यादव लगायत धेरै व्यक्ति पटक—पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका मधेसका पाका व्यक्तिका रूपमा गनिन्छन् । सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश रामकुमार शाह र हालका निर्वाचन आयुक्त अयोधीप्रसाद यादव लगायत धेरै व्यक्तित्वलाई मधेसले जन्माएको छ र क्षमतावान भएकै नाताले राष्ट्रको माथिल्लो ओहदामा पुग्ने हैसियत बनाएका हुन् । अन्य प्रशासनिक निकायमा माथिल्लो ओहदामा पुगेकाहरूको विवरण यो सानो अनुच्छेदमा उल्लेख गर्न सकिँदैन । यसो भनेर किन अथ्र्याउन खोजेको हो भने ‘मधेसले केही पाएन ।
मधेसी माथिल्लो ओहदामा पुगेनन् । मधेसलाई हेपियो’ भनी जुन अभिव्यक्ति मधेसकेन्द्रित दलका नेताले आरोप लगाउँदै बाहुन, क्षत्रीको मात्र सधैं सत्तामा हालिमुहाली चल्यो, तसर्थ हामी संशोधनविना निर्वाचनमा जाँदैनौँ, विरोधका कार्यक्रम गर्छौं, काठमाडौँलाई घुँडा टेकाउँछौँ भनिरहनुभएको छ । त्यो विलकुलै असान्दर्भिक र रङ्गभेदी सोच हो । तपाईँहरूले भनेजस्तै गरी अरूले पनि तपाईहरू विरुद्ध बोल्ने हो भने अवस्था भयावह हुनसक्छ, त्यो तपाईहरूले सोच्नुभएकै होला । आखिर तपाईहरू सरकारमा आउनुहुन्छ भने अहिले पनि सिंहदरबार स्वागतका लागि तयार देखिएको छ । फेरि यो सरकारलाई समर्थन गर्ने तपार्इँहरू मन्त्री बन्नचाहिँ किन नहुने ? मधेस केन्द्रित तपाईहरूका प्रत्येक कुरा चाहे एमाले, कांग्रेस र माओवादीका सभासदका तर्फबाट होस् वा मधेसी मोर्चाका तर्फबाट होस्, नसुनेको अवस्था हुँदै होइन । सानो मन्त्रालयमा तपाईहरूको आँखा नलाग्ने र ठूला मन्त्रालय सबै तपाईहरूलाई मात्र दिएर सरकार चल्ने अवस्थामा नरहने बुझेर नै तपाईहरूले मन्त्रालय माग गर्ने आँटसम्म नगरी बस्नुभयो । अहिले भन्नुहुन्छ— यो भएन, त्यो भएन, संशोधनले मात्र हुँदैन । कृपया, तपाईँहरू आफूलाई पनि धर्तीपुत्र ठान्नुहुन्छ भने अहिलेको निर्वाचनमा छाती जुधाएर आउनुहोस् र आफ्नो शक्ति देखाउनुहोस् ।
– श्यामसुन्दर कुइँकेल
कागेश्वरी मनोहरा, काठमाडौँ
ConversionConversion EmoticonEmoticon