फाल्गुन १८, २०७३- सबैतिर अनुकूल वातावरण भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २४ प्रतिशत पूरा भएको छ । निर्माण सामाग्रीको उपलब्धता र मौसमसमेत अनुकूल हुँदा पनि काम हुन नसक्नुमा ठेकेदार कम्पनी जिम्मेवार देखिएको छ । आयोजनाको ठेक्का लिएको चीनको सरकारी कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले आर्थिक व्यवस्थापन राम्ररी गर्न नसक्दा काम हुन नसकेको विमानस्थल आयोजना प्रमुख ओम शर्माले बताए । आयोजनाको म्याद थपेर पनि २०१८ जुनसम्म सक्नुपर्नेछ ।
आर्थिक व्यवस्थापनको समस्या सुल्झाई निर्धारित समयमै आयोजना सम्पन्न गराउनका लागि आयोजनाले ठेकेदार कम्पनीलाई पत्राचार गर्दै सचेत गराउँदै आएको शर्माले जनाए । ‘निर्माण कार्यले आशा गरेअनुरूप तीव्रता मात्र नपाएको हो तर कामै रोकिएको होइन,’ उनले भने, ‘आर्थिक संकटको व्यवस्थापन मिलाएर कामलाई तीव्रता दिँदै निर्धारित समयमा आयोजना सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दै आएका छौं ।’ उनका अनुसार फागुन मध्यसम्म आयोजनाको २४ प्रतिशत काम सम्पन्न भएको छ ।
समयमै आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई मार्चसम्ममा ३०, अप्रिलसम्म ३३, मेसम्म ३८ र जुनसम्म ४४ प्रतिशत निर्माण कार्य सम्पन्न गर्न लक्ष्य निर्धारण गरिएको छ । आयोजनाको मुख्य दातृ संस्था एसियाली विकास बैंक, अर्थ मन्त्रालय, नागरिक उड्डयन विभाग, आयोजनालगायतका निकायबीच आइतबार काठमाडौंमा सम्पन्न समीक्षा बैठकले तोकिएको समयभित्रै आयोजना सम्पन्न गराउन यस खालको लक्ष्य तोकिएको हो । लक्ष्यअनुरूपको निर्माण कार्य गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ । कामलाई तीव्रता दिन सकेमा तोकिएकै समयमा आयोजना पूरा हुने शर्माले दाबी गरे । शर्माका अनुसार ठेकेदार कम्पनी आफैंले राखेको कर्मचारी, आपूर्तिकर्ता र सहयोगीमाथि भर पर्ने गरेकाले पनि काम प्रभावित भएको हो । कम्पनीले समयमै मजदुर, इन्धन, निर्माण सामग्री तथा विभिन्न उपकरणको भुक्तानी दिन नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो । ठेकेदार कम्पनीले भोग्नुपरेको आर्थिक संकटको समस्या समाधान गरी आयोजना निर्माण कार्यलाई तीव्रता दिन कम्पनीका प्रमुखलाई बोलाइएको छ । कम्पनीका उपाध्यक्ष मार्च ५ तारिखमा नेपाल आउनका लागि भिसाको प्रक्रिया मिलाइरहेको शर्माले बताए ।
६ अर्ब २२ करोड रुपैयाँमा ठेक्का लिएको उक्त कम्पनीले पेस्की ८० करोड र त्यसपछि करिब ५० करोड गरी डेढ अर्ब रुपैयाँ भुक्तानी लिइसकेको छ । ठेकेदार कम्पनीले ७ औं बिलबाट पुन: १५ करोड २३ लाख रुपैयाँ माग गरेकामा भुक्तानी बाँकी छ । भुक्तानीका लागि आयोजना र मन्त्रालयले स्वीकृति दिइसकेका छन् । अन्तिम स्वीकृतिका लागि एसियाली विकास बैंकसमक्ष पुगेको छ । उक्त रकम भुक्तानी भएपछि ठेकेदार कम्पनीले भोग्नुपरेको तत्कालको आर्थिक संकट समाधान भई निर्माण कार्यले तीव्रता पाउने आशा गरिएको छ ।
ठेकेदार कम्पनीका सल्लाहकार फुर्वा छिरिङ शेर्पाले आयोजनाको सुरु चरणको काम भुक्तानी कम हुने तर खर्च धेरै लाग्ने खालको र पछिल्ला चरणमा खर्च कम लाग्ने तर भुक्तानी धेरै पाइने खालको भएकाले आर्थिक संकट सिर्जना भएको बताए । ठेकेदारले करिब ८ करोड भुक्तानी दिन बाँकी रहेको जनाउँदै शेर्पाले आयोजनासँग पछिल्लो चरणमा माग गरिएको १५ करोड उपलब्ध भएपछि सबै समस्या समाधान हुने दाबी गरे । ठेकेदार कम्पनीले आफूले प्रयोगमा ल्याएका टिप्पर, स्क्याभेटर, डोजरलगायतका विभिन्न उपकरण, निर्माण सामग्री, इन्धनको भुक्तानी दिन नसक्दा सम्बन्धित धनीले आयोजनालाई दिन मानेका छैनन् । ठेकेदार कम्पनीसँग सम्झौता गरेका विभिन्न पेटी ठेकेदार, आपूर्तिकर्ता, सहयोगीले पनि पैसा नपाएकाले बजारमा धेरैजनाको भुक्तानी रोकिएको छ ।
आयोजना प्रमुख शर्माले ठेकेदार कम्पनीले आफूलाई अनुकूल हुने जो कोहीलाई पनि नियुक्ति गर्न स्वतन्त्र भएकाले उसले को कस्ता व्यक्तिलाई नियुक्ति गरेको छ ? भन्ने विषय आयोजनासँग कुनै सरोकार नभएको बताए । ‘उसले चाहेको जोसुकैलाई पनि राख्न ठेकेदार कम्पनी स्वतन्त्र छ र उसले चोहेको व्यक्ति राख्न नदिन कसैले अवरोध गरेमा प्रशासनिक र कानुनी कारबाही गर्न आयोजनाले ठेकेदारलाई सहयोग गर्न तयार छ,’ शर्माले भने, ‘आयोजनाले सम्झौताअनुरूप नभएमा ठेकेदार कम्पनीमाथि कारबाही गर्छ तर उसले राखेको व्यक्तिसँग कुनै सरोकार राख्दैन ।’ निर्माण भएको २४ प्रतिशतमध्ये घाघरा खोला डाइभर्सन, अन्तर्राष्ट्रिय टर्मिनल भवनलगायत अन्डर ग्राउन्डका गर्नुपर्ने सबै काम जमिनको सतहभन्दा माथि प्लिन्थ सतहमा पुगेका छन् । प्रशासकीय तथा कन्ट्रोल भवन, उद्धार तथा अग्नि नियन्त्रण भवन, विद्युत् सबस्टेसन भवनलगायतका निर्माण कार्य चालु अवस्थामा छन् । ३ हजार मिटर लम्बाइको ग्राभेल रनवे तयार भइसकेको छ । तिनाउ नदीमा आयोजनालाई उपलब्ध गराइएको डेढ लाख घन मिटर नदीजन्य सामग्री ओसारेर थुपार्ने काम सुचारु छ । नदीजन्य निर्माण सामग्री अहिले ओसारेर मौज्दात राखेमा वर्षायामका बेला नदीबाट उत्खननमा रोक लगाइने बेलामा पनि निर्माण सामग्रीको अभावले काम रोकिने छैन ।
ठेकेदारले जटिल काम सम्पन्न गरिसकेको र अबका काम तुलनात्मक रूपमा सहज र धेरै बिल उठ्ने खालका भएकाले आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आफू आशावादी रहेको शर्माले जनाए । उनका अनुसार हालको ठेकेदारको सुरुको काम कम दररेट भएको खर्च बढी लाग्ने र पछिका काम धेरै दररेट भएको कम खर्च लाग्ने खालको भएकाले आर्थिक समस्या सिर्जना भएको शर्माले बताए । ‘यस्तो अवस्था धेरै आयोजनाको हुने गर्छ,’ शर्माले भने, ‘यस्तो अवस्थामा ठेकेदार कम्पनी आफैंले आर्थिक व्यवस्थापन मिलाउन सक्नुपर्छ ।’
उचित स्रोत साधन र जनशक्तिको परिचालन गर्न सकेमा निर्माण सम्पन्न गर्ने अवधि यथेष्ट रहेकाले समयमै सक्नका लागि आयोजनाले सचेत गराइरहेको उनले बताए । हाल आयोजना स्थलमा १ सयको हाराहारीमा मजदुर, तीन दर्जन टिप्पर, ४ वटा रोलर ४ वटा ग्रेडर दैनिक प्रयोगमा छन् । तर, यति साधन र स्रोत कम भएकाले झन्डै दोब्बर संख्यामा परिचालन गर्नुपर्ने भएकाले ताकेता गरिएको हो । आयोजनाको प्रथम चरणअन्तर्गत सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको विमानस्थलको निर्माण अवधि भूकम्प, नाकाबन्दीलगायत काबु बाहिरको परिस्थिति भन्दै छ महिना पछि सन् २०१८ को जुन १५ पुगेको छ । यदि यो अवधिमा निर्माण सम्पन्न हुन नसके ठेकेदार कम्पनीले प्रतिदिन ३२ लाख रुपैयाँभन्दा धेरै आयोजनालाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।
ConversionConversion EmoticonEmoticon