Why bodily crowds to welcome King Gyanendra


काठमाडौं, १६ फागुन, महाशिवरात्रीमा हरेक वर्ष पशुपतिनाथमा दर्शन गर्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहबाट यसपटक वीरगञ्जको अलखिया मन्दिरमा विशेष पूजाअर्चना भयो । महाशिवरात्रीको दिन शुक्रबार अपरान्ह मन्दिर परिसरमा पुगेका पूर्वराजाको स्वागत भने निकै भव्य थियो । त्यो भव्य स्वागतले धेरै कुराको संकेत गरेको छ । एकातिर शिवरात्रीको पूजा गर्ने दिन अनि अर्कातर्फ व्रत पनि बस्नुपर्ने । यस्तो परिस्थितिलाई छोडेर सर्वसाधारण हजारौंको संख्यामा यसरी खनिएका थिए मानौं त्यहींबाटै ठूलो उद्घोष हुनेछ । पूर्वराजाको स्वागतमा एक घण्टा अघिदेखि त्यस क्षेत्रका ठूलो संख्याका बासिन्दा, सर्वसाधारण नागरिक, महिला, पुरुष, वृद्ध, युवाहरू लामबद्ध भएर बसेका थिए । पूर्वराजाको सवारीसँगै समर्थकहरूले ‘राजा आउ देश बचाउ, राजा कसको जनताको, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा जनता एक हौं’ जस्ता  नारा लगाएर जयजयकार गरेका थिए । अलखिया मठ शिवालयमा विशेष पूजा सम्पन्न भएपछि पूर्वराजा शाह अलखिया मठबाट वीरगंजको मूख्य सडक हुँदै पैदल यात्रा गरी माइस्थानस्थित प्रसिद्ध गहवामाई मन्दिरसम्म जाने क्रममा हजारौंको संख्यामा उपस्थित शुभेच्छुक एवं सर्वसाधारण नागरिकहरूले फूलगुच्छा, फूलमाला तथा फूलको वर्षा गर्दै जयजयकार गरे । सो क्रममा पूर्वराजाले पुष्पगुच्छा एवं फूलमाला ग्रहण गर्दै उपस्थित जन समुदायलाई हात हल्लाएर अभिवादन गर्दा माहोल हेर्न लायक थियो । पूर्वराजाबाट माइस्थान मन्दिरमा पनि विशेष पूजाअर्चना एवं दर्शन भएको थियो । पूर्वराजाको सवारीका क्रममा सर्वसाधारणको बाक्लो उपस्थिति र भीडभाडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी एवं स्वयंसेवकहरूलाई हम्मे हम्मे परेको थियो । पूर्वराजाको स्वागतको लागि विभिन्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने जनकलाल साह नेतृत्वको नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय र जिल्ला कार्यालयले वीरगंजको विभिन्न ठाउूमा ब्यानर र राष्ट्रिय झण्डा लगाएर राजाको स्वागतको तयारी गरेको देखिएको थियो । त्यसो त बिहीबार सिमरास्थित बालशखा प्रभु शमसेर जबराको निवासमा बारा, पर्सा, रौतहट, मकवानपुरलगायत विभिन्न जिल्लाका सर्वसाधारणले पूर्वराजालाई भेटेर आफ्नो ठाउँको राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । यहाँनेर एउटा गम्भीर प्रश्न यसअर्थमा खडा हुन्छ कि तराई बलिरहेको छ । तराईलाई अझ टुक्राउने प्रचञ्च भइरहेका समाचार सुन्न पाइन्छ । तर त्यही तराईमा जाँदा पूर्वराजालाई भेट्न सर्वसाधारण लालायित हुन्छन् । अनि आफ्ना गुनासा राख्न जोडतोड लगाउँछन् । यसले धेरै अर्थ बोकेको छ । त्यहाँका जनता नेताहरुबाट पीडित छन् । उनीहरुका माग नेताहरु सुन्दैनन् । स्वार्थी राजनीतिबाट टाढा रहन पनि उनीहरुले पूर्वराजासंग गुहार मागिरहेका छन् । (जनभावना साप्ताहिकबाट)
Previous
Next Post »