बुटवल: सानो कक्षा कोठा । दायाँतर्फ खाट । कक्षाका बेन्च अगाडि राखिएको खाटमा एउटी छात्रा खुट्टाले कलम समातेर कापीमा लेख्दै छिन् । शिक्षकले विद्यार्थीलाई पढाइरहँदा उनी सरसर्ती कापीमा खुट्टाले लेख्न थाल्छिन् । कपिलवस्तु गजेहडा धनकौलीकी दुई हात नभएकी रूपा रौतारले लेख्ने मात्रै होइन, सबै काम खुट्टाले नै गर्छिन् ।
गरिब परिवारमा जन्मिएकी उनलाई धेरै पढ्ने इच्छा छ । बुटवलको दीप बोर्डिङ स्कुल बुटवलमा कक्षा ६ मा पढ्दै गरेकी रूपा भन्छिन्, ‘धेरै पढेर समाजमा चिनिन मन छ ।’ करेन्ट लागेर पाँच वर्षको उमेरमै दुवै हात गुमाएकी रूपाले सुरुमा मुखले लेख्ने अभ्यास गरेकी थिइन् । अलि कठिन भयो । आमा इन्द्रकलाले खुट्टाले लेख्न सुझाएपछि उनले त्यसै गरिन् । ‘सुरुमा मुखले लेख्ने प्रयास गरेकी थिई, पछि मैले खुट्टाले लेख्न भनेपछि बानी पर्यो,’ आमा इन्द्रकलाले भनिन् ।
दुवै हात नभए पनि उनी दिनहुँ विद्यालय जान्छिन् । गृहकार्य गर्छिन् । रूपाले दैनिक गृहकार्य गर्नेदेखि विद्यालयमा बसेर कापी–किताब खोल्ने, खाना खाने, कपाल कोर्ने, नुहाउनेसम्मको काम खुट्टाकै सहारामा गर्छिन् । लेख्ने मात्रै होइन, उनी सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् । मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान सक्छिन् ।
खुट्टाले साहित्य लेखेर झमककुमारी चर्चित भएको उनलाई थाहा छ । रूपाले लेखेका अक्षर सग्ला हातले लेखेभन्दा कम छैनन् । आमा इन्द्रकला भन्छिन्, ‘भर्खर कलम समाउन सिक्दै गरेकी मेरी छोरीले दुवै हात गुमाउनुपर्यो ।’ करेन्ट लागे पनि हात नै काट्नुपर्ला भन्ने सोचेकी थिइनँ । तर, कान्ति बाल अस्पतालमा आफूहरूलाई थाहै नदिई रूपाको दुवै हात काटिदिएको इन्द्रकलाले सुनाइन् । आमा इन्द्रकला र बुबा विष्णु रौतारले आर्थिक अवस्था कमजोर भए पनि पढाउनुपर्छ भनेर छोरीलाई विद्यालयमा भर्ना गरे । रूपालाई गजेहडाको बालज्योति बोर्डिङमा अक्षर चिन्दै गर्दा करेन्ट लागेको थियो।
रूपाले लेख्ने मात्रै होइन, सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् । मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान पनि सक्छिन् ।
करिब दुई वर्ष उपचारमै समय बित्यो । दुवै हात गुमेको भन्दै बालज्योतिले भर्ना लिन मानेन । त्यसपछि कपिलवस्तुको होराइजन स्कुलमा रूपाले यू केजीसम्म अध्ययन गरिन् । होराइजनमा पढ्दै गर्दा विष्णु प्रधानसँग भेट भएपछि रूपालाई बुटवलमा ल्याइएको थियो । दीप बोर्डिङ सञ्चालक समिति सदस्यसमेत रहेकी प्रधानले दीपमा निःशुल्क पढाउने वातावरण मिलाएपछि रूपाको पढाइ कक्षा एकदेखि दीपमै चलिरहेको छ । दीप बोर्डिङले भर्ना शुल्क, मासिक र परीक्षा शुल्क लिँदैन । रूपा बस्ने छुट्टै फराकिलो पलङ राखिएको छ । उनी एक्लै त्यहीँ बसेर किताब–कापी निकाल्ने र पढ्ने गर्छिन् । दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले रूपालाई कक्षा १२ सम्मै निःशुल्क पढाउने बताए । रूपाको क्षमता कमै विद्यार्थीमा हुने भन्दै उनलाई सबैको साथ–सहयोगको खाँचो रहेको न्यौपानेको भनाइ छ ।
रूपाको परिवार बुटवल देवीनगरमा भाडामा बस्दै आएका छन् । बुबा विष्णु रौतार साउदीमा रोजगारीमा छन् । उनका दाइ मनोज कक्षा १२ मा पढ्दै छन् । ‘दुवै हात छैन, उसले पढी भने कम्तीमा बाँच्न सजिलो हुन्छ भनेर बुटवलमा भाडामा बसेका हौं’, इन्द्रकलाले भनिन् । छोरीका लागि कापी–किताब र ड्रेस किन्नसमेत गाह्रो हुने उनले बताइन् । छोरीको उपचारका बेला लागेको ऋण तिर्नकै लागि श्रीमान् विदेश गएको उनको भनाइ छ ।
२०५७ सालमा रूपाको जन्म भएको हो । उनी पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । स्वाभाविक रूपमा हातले लेख्नेहरूको भन्दा उनलाई खुट्टाले हरेक काम गर्दा अप्ठ्यारो र असजिलो हुने नै भयो । तर, रूपामा गायन प्रतिभा छ । उनी हालै बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको विद्यालयस्तरीय गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा उनी उत्कृष्ट बनेकी छन् । उनका ६ वटा गीत ‘रेकर्ड’ भइसकेको छ । तर आर्थिक अभावका कारण उनमा रहेको प्रतिभालाई अझ स्थान दिन नसकेको आमा इन्द्रकला बताउँछिन् ।
रूपाको गायन प्रतिभालाई वागीश्वरी संगीतालय बुटवलले ६ वर्षदेखि निःशुल्क संगीत शिक्षा दिइरहेको छ । रूपासँग गायन प्रतिभा रहेकाले उनलाई स्थान दिनुपर्ने वागीश्वरीका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । रूपाले पनि पढाइसँगै गायनलाई अगाडि बढाउन चाहेकी छन् ।
ConversionConversion EmoticonEmoticon