म्याग्दी । म्याग्दीको मराङ–५ का ३६ वर्षीय मिर्गौलापीडित महेन्द्रबहादुर गर्वुजाको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् ।
दुवै मिर्गौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाडौंमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाइ आएपछि उनका घरपरिवारले सक्दो सहयोग गरी पीडित गर्वुजाको उपचार गराउन आह्वान गरेका हुन् ।
पीडित गर्वुजाकी श्रीमती हेमशरा गर्वुजाले आफ्नो श्रीमान्को मिर्गौला प्रत्यारोपणका लागि करिब रु आठ लाखभन्दा बढी खर्च लाग्ने बताउँदै उक्त रकम जुटाउन सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन् । ‘‘दुई वर्षअगाडि एउटा मिर्गौलाले काम गर्न छाडेपछि त्यसलाई निष्क्रिय पारेका थियौँ, अहिले पुनः अर्को मिर्गौलाले पनि काम गर्न छाडेपछि समस्यामा परेका छौं’’–गर्वुजाले भनिन् ।
एउटा मिर्गौलाले काम नगरेपछि त्यसलाई शल्यक्रियामार्फत झिकेर घरपरिवारको खर्च जुटाउन गर्वुजा रोजगारीको सिलसिलामा गत कात्तिकमा कतारमा पुगेका थिए । कतार पुगेको तीन महिनामै अर्को मिर्गौलाले समेत काम गर्न छाडेपछि गर्वुजा रित्तोहात घर फर्किन बाध्य भएका थिए ।
घरपरिवारमा अन्य कुनै पनि सदस्यको रोजगारी र व्यापार–व्यवसाय नभएको र आर्थिक अवस्था कमजोर रहेकाले पीडित गर्वुजाको उपचारमा सहयोग गर्न मराङ गाविस कार्यालयले समेत सिफारिसमार्फत आह्वान गरेको छ । पीडित गर्वुजाको तीन छोरा र वृद्ध आमाबुबा रहेका छन् ।
“अहिलेसम्म हामीलाई उनले नै पालनपोषण गर्दै आएका थिए, उनी नै बिरामी भएपछि हाम्रो भविष्य नै अन्यौल बनेको छ,” मिर्गौलापीडित गर्वुजाकी श्रीमती हेमसराले भनिन् ।
ज्यान गुमाएकी छात्राका आफन्तलाई सहयोग
यसैबीच, म्याग्दीको पिप्ले–९ मौवाफाँटमा रहेको ज्ञानोदय माविले विद्यालयको निर्माणाधीन भवनबाट लडेर ज्यान गुमाएकी एक छात्राका अभिभावकलाई राहत सहयोग गरेको छ । विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लुलाङ–६ लमसुङकी याममायाँ विकको गत फागुन ७ गते विद्यालय परिसरमा निर्माणाधीन भवनबाट खसेर ज्यान गएको थियो ।
दृष्टिविहीन छात्राको विद्यालय परिसरमा नै दुर्घटनाबाट निधन भएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक लगायतबाट रु एक लाख सङ्कलन गरी दिवङ्गत छात्राको अभिभावकलाई राहत प्रदान गरिएको विद्यालयका प्रधानध्यापक नीलकण्ठ सुवेदीले बताए ।
विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोपाल शर्माको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका प्रतिनिधि, स्रोतशिक्षक, आया, समृद्ध समूह मौवाफाँटका अध्यक्ष लगायतको टोलीले लुलाङस्थित दिवङ्गत छात्राको घरमै पुगेर उनका आफन्तलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
विद्यालयका निर्माणाधीन भवनबाट लडेर ज्यान गुमाएकी विकको परिवारमा सन्तान गुमाउँदाको पीडामा थोरै भए पनि सान्त्वना मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोपाल शर्माले बताए ।
ज्ञानोदय माविले सुरु गरेको राहत सहयोग अभियानमा समृद्ध समूह मौवाफाँट, स्थानीय आमा समूह, सर्वसाधारण तथा स्कुले विद्यार्थीले समेत खाजा खर्च कटाएर अभियानलाई साथ दिएका थिए भने बेनी र काठमाडौँमा रहेका मौवाफाँटवासीले समेत सहयोग गरेका थिए । मृतक बालिकाका आमाबाबु श्रीमायाँ विक र देवबहादुर विकले विद्यालयले घरसम्मै आएर राहत उपलब्ध गराएकामा विद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।
ConversionConversion EmoticonEmoticon