फाल्गुन ४, २०७३- जिल्लाको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।
१७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विवाह प्रभावित हुने डरले घटना लुकाएको थियो । तर, बलात्कारमा संलग्न युवाले नै सार्वजनिक गरेपछि विवाह रद्द भएको छ । केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए । विपन्न परिवारकी युवती भारतभन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुवासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो ।
दुई पक्राउ, चार फरार
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका २ युवालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थपिएको छ । जिल्ला अदालतले उनीहरूलाई मंगलबार म्याद थपेको हो । जिल्लाको तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत पकडी बजार नजिक सिसौघारीमा गत माघ २६ गते सामूहिक बलात्कार भएको थियो । बलात्कार आरोपमा पकडी ४ पिखुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिद र २६ वर्षे राहत हुसेन पक्राउ परेका छन् । उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अन्य प्रमाणहरू पनि जुटाइरहेको बतायो । घटनामा संलग्न अन्य ४ युवाको खोजी भइरहेको छ ।
खुला सीमाका कारण भारततिर लुकेको आशंका प्रहरीले गरेको छ । ‘सूत्र परिचालन गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले भने, ‘उनीहरू छिट्टै पक्राउ पर्छन् । पहिचान खुलिसकेको छ ।’
बलात्कारमा परेकी युवती र उनका आमाबुवा असुरक्षित महसुस गरी भैरहवास्थित आफन्तको घरमा गएका थिए । नेपालमा विवाह गर्न पकडी गाविसस्थित मामाघर आएकी ती युवती बलात्कारमा परेकी थिइन् । डर, धम्की आएपछि अहिले किशोरीलाई भैरहवास्थित माइती नेपालमा राखिएको छ ।
ConversionConversion EmoticonEmoticon