Ai sorghum news ...


भाद्र १४, २०७३- यतिबेला युटयुबमा मादल बजाउँदै बाढीपहिरोको पीडा सुनाइरहेको एउटा गीतको भिडियो चर्चित छ । सुर्खेतमा बाढी पसेर विपत्ति मच्चाएपछिको वास्तविक दृश्यहरू प्रयोग गरिएको उक्त भिडियोमा लामो दाह्रीवाल एकजना बूढा मानिस गाउँछन्–

उता के के हुँदै छ, यता बाढी पसेर
फेरि हामी दु:खीकै, खायो कलेजा
हामी भयौं बेघरबार, चरी लैजा समाचार...


पछिल्लो समय यही भिडियोबाट चर्चा कमाएका उनी हुन् प्रेमदेव गिरी । उनी रंग कर्ममा लागेकै ५० वर्ष नाघ्यो । तर, कलाप्रतिको मोह भने रत्तिभर कमी आएको छैन । रंगमञ्चमा देखिने उनको उत्साह पनि उस्तै छ ।

मध्यपश्चिमका एक सयभन्दा धेरै लोकभाका संकलन गरेका सुर्खेतका ६३ वर्षीय प्रेमदेव गिरि अहिले पनि मादल बजाउ‘छन् । अनि, नाटकहरूमा जीवन्त अभिनय गर्छन् । सुर्खेत हिलेखालीमा जन्मिएका गिरीको मादलमोह उनी ८ वर्षको हुँदैदेखिको हो ।

२०२४ देखि उनी रंगमञ्च छिरे । अहिलेसम्म उत्तिकै सक्रिय छन् । कलालाई उनले जीविपोपार्जनको माध्यमभन्दा बढी साधना ठान्छन् । त्यसैले धेरै कमाइ गर्न नसकेकोमा कुनै गुनासो गर्दैनन् । उनी भन्छन्, ‘रंगकर्मको यात्रामा म निरन्तर छु । जेजति गर्न सकें सन्तुष्ट छु ।’ 

गिरी रंगमञ्चमा आउ‘दा देशमा प्रजातन्त्र थिएन । तर २००७ सालको प्रजातन्त्र सम्झिएर सांस्कृतिक संस्थानले हरेक फागुन ७ गते राष्ट्रिय नृत्य प्रतियोगिता गथ्र्यो । त्यसका लागि १४ अञ्चलबाट छानिएका कलाकार काठमाडाैं जान्थे । छनोट प्रतियोगिता अञ्चलाधीशकहॉ हुन्थ्यो ।

त्यो बेला सुर्खेत नेपालगन्जको यात्रा अहिलेको जस्तो थिएन । आउनै तीन दिन लाग्थ्यो । ‘पहिलो दिन छिन्चुमा बास बस्थ्यांै । दोस्रो दिन बबई वा चिसापानी बसेर तेस्रो दिन मात्र आइपुग्थ्यौं,’ उनले ती दिनको स्मरण गरे, ‘पोकापुन्तरा बोकेर आउ‘दा हामीलाई हटारु भन्थे । हामीले त्यहीबाट रंगमञ्चको यात्रा थालेको हो ।’ 

२०२८ मा सुर्खेतले भेरीको प्रतिनिधित्व गर्न मौका पायो । पॉचजना कलाकार ‘नेपाल’ हिँडे । तीन दिन पैदल हिँडेर नेपालगन्ज पुगे । अर्को तीन दिनमा रक्सौल । सातौं दिन काठमाडांै पुग्दासमेत उनीहरूको उत्साह उस्तै थियो । त्यो वर्षको प्रतियोगितामा सुर्खेत प्रथम भयो । त्यो झ्याउरे नाचको भाका थियो– ‘यानी मायाले बरै..।’ एकल नृत्यमा पनि ‘सुर्खेत बुलबुल ताल, माया मै सानी हुनाले छुट्यो माया जाल’ गीतमा सान्त्वना जितेपछि गिरीसहित तीनजनाले राष्ट्रिय नाचघरमै जागिर पाए ।

‘करार जागिर थियो । तलब दुई सय,’ उनी सम्झिन्छन्, ‘सुरुमा त खुसी नै लाग्यो । तर पछि न छाडेर हिँड्न सकियो, न परिवार ल्याएर राख्न मिल्ने तलब थियो ।’ 

नाचघरको सेवा सुविधातले टिक्नै नसक्ने भएपछि उनी २०४१ मा जागिर छाडेर घर फर्के । तर, मादलवादन छाडेनन् । अर्को वर्ष कलाकार टोली लिएर पुन: काठमाडौं गए । त्यो वर्ष पनि सुर्खेत प्रथम भयो । त्यसपटक उनलाई रेडियो नेपालले करारमा राख्यो ।

२०४५ सम्म गिरी लोकगीतमा मादलको ताल भरेर बसे । त्यही बेला हो, उनले मध्यपश्चिमी पहाडका लोकभाकालाई रेडियो नेपालसम्म पुर्‍याएको । पुराना देउडा, झ्याउरे र सिंगारु गीत रेकर्ड गराए । ‘झन्डै एक सयवटा लोकभाका मैले रेडियोमा रेकर्ड गराएँ,’ गिरी भन्छन्, ‘ती हराएर जान लागेका लोकभाका संकलनले मलाई धेरै सन्तोष दिएको छ ।’ 

सुर्खेतमा २०५० मा बागिना समूह गठनपछि रंगकर्मले गति लिएको मानिन्छ । त्यसका संस्थापकमध्येका एक हुन्, गिरी । कुनै बेलाका चल्तीका फिल्म ‘बन्धकी’, ‘बाटुली’ र ‘गोरखा पल्टन’ मा उनले चरित्र अभिनय गरे । ‘बन्धकी’ मा नायिकाको बुवा र ‘बाटुली’ मा मामा भूमिकामा छन् भने ‘गोरखा पल्टन’ मा मन छुने गीतमा गन्धर्वको अभिनय गरेका छन् ।

फिल्म निर्देशकहरूले उनको अभिनयको प्रशंसा गरे । ती फिल्महरू खुबै चले पनि । उनले पारिश्रमिक भने पाएनन् । ‘मोफसलका कलाकारले फिल्म खेल्नुलाई नै अवसर मान्नुपर्ने स्थिति छ,’ गिरी भन्छन्, ‘सीपको तारिफ हुन्छ भने श्रमको पनि कदर हुनुपर्छ । तर, ती फिल्मको पारिश्रमिक मैले पनि मागिनँ । उनीहरूले पनि दिएनन् ।’ 

रेडियो नेपालमा र स्टेजमा दर्जनांै नाटक तथा रूपक निर्देशन गरेका गिरीमा बहुमुखी प्रतिभा छ । पछिल्लो समय ‘चरी लैजा समाचार...’ को म्युजिक भिडियोले धेरैको मन छोएपछि भने उनी मख्ख छन् । यो गीतमा उनले बाढीपहिरो पीडितहरूको दु:ख झल्किने अभिनय गरेका छन् । बिनाकुनै योजना त्यो म्युजिक भिडियो बनेको थियो ।

संगीतस्रोताको गीत र अञ्जानबाबु शर्माको स्वरको उक्त गीत उनले सुन्नका लागि घर ल्याएका रहेछन् । त्यही वर्ष सुर्खेतमा बाढीपहिरोले ठूलो विपत्ति निम्त्यायो । त्यही विपत्तिको भिडियो जोडेर उनले जीवन्त अभिनयसहित उक्त गीतको म्युजिक भिडियो बनाए । ‘मन छुने गीत भएकाले आफैं उत्सुक भएर अभिनय गरेको थिएँ । तर मैले यसैबाट नसोचेको चर्चा र प्रशंसा पाए‘,’ गिरीले भने, ‘टोल बस्तीमा बच्चाहरूसमेत मलाई देख्नासाथ ‘चरी लैजा समाचार...’ भन्छन् ।’ 

Previous
Next Post »