Poetry Slam Nepali youths is increasing attachment


भाद्र १४, २०७३- पछिल्लो समय नेपाली कवितामा भिन्न शैलीको प्रयोग भइरहेको छ । आफ्नो रचना कण्ठ पारेर शब्दहरूको भाव र अर्थलाई बडी ल्याङवेजसहित प्रस्तुत गर्ने यो शैली युट्युबदेखि स्टेज कार्यक्रमहरूसम्म हिट खाइरहेको छ । सन् १९८४ मा अमेरिकी कवि मार्क स्मिथले सिकागोबाट थालेको यो अभियान पाँच वर्षअघि नेपाल भित्रिएको थियो । पोयट्री स्लामको रूपमा चर्चित यो शैलीमा यतिबेला नयाँ पुस्ताका कविहरू आफूलाई प्रस्तुत मात्रै गरिरहेका छैनन् प्रतियोगिताकै लागि जुटेका छन् ।

ललितपुरका प्रवीन श्रेष्ठ, नुविशा उप्रेती, नवीन भुसाल र मेघना महर्जन तीन दिनदेखि नेसनल पोयट्री स्लाम प्रतियोगिताका लागि प्रशिक्षण कक्षा लिइरहेका छन् । भदौ १८ मा हुने भनिएको प्रतियोगिताको फिनालेमा यी चार युवासँगै काठमाडौं, ललितपुर, चितवन, काभ्रे, पोखरा, इलाम, सुर्खेत र धनगढीबाट गरेर ३२ जनाले भाग लिँदै छन् ।

क्षेत्रीय प्रतियोगिताबाट छानिएका ८ जिल्लाका सबै प्रतियोगीलाई अहिले अन्तिम स्पर्धाका लागि तयारी गराइँदै छ । त्यसका लागि जिल्ला–जिल्लामा प्रशिक्षक खटाइएको छ । ललितपुरको कुसुन्तीमा रहेको क्विजोट्स कोभ (क्युसी) को कार्यालयमा हालैको दिन प्रवीन र नुविशाहरू स्पोकन पोयट्री (बोलेर अभिव्यक्त गरिने कविता) का नीतिनियम, तौरतरिका, ढाँचा र प्रस्तुतिबारे टिम ललितपुरकी प्रशिक्षक उज्वला महर्जनसँग छलफल गरिरहेका थिए ।

‘सामूहिक कविता वाचन/प्रस्तुतिका लागि आवश्यक कुराहरू के–के होलान् ?’ युट्युबमा बटन पोयट्रीले राखेको ‘अनफर्गेटेबल’ कविताको भिडियो देखाएपछि उज्वलाले प्रशिक्षार्थीलाई सोधिन्, ‘यसका विशेषताबारे कसले भन्न सक्छ ?’ उत्तरका लागि तम्तयार चारै प्रतियोगीमध्ये मेघना पहिले बोलिन्, ‘सबैको विषयवस्तुमा एकरूपता वा हार्मोनी हुनुपर्छ ।’ कविताको मुख्य जोड र साझा विषयमा सबै वाचकले हाउभाउसहित एकै स्वरमा उच्चारण गर्ने शैलीबारे प्रशिक्षक उज्वलाले नै प्रस्ट्याइन् ।

कवितालाई कापीमा मात्रै सीमित नराखौं भन्दै उनै उज्वला र उनका ८/१० जना साथीले विगत ६ वर्षअघिदेखि पोयट्री स्लामको प्रचार गर्दै आएका छन् । वर्ड वारियर्स अर्थात् शब्दका योद्धा नामक समूह गठन गरेका उनीहरू कविता वाचनलाई रमाइलो र रसिक बनाउन विभिन्न भावभंगिमासहितको प्रस्तुति दिन्छन् । ‘स्पोकन वर्ड कविताको नौलो र आधुनिक विधा हो,’ उज्वलाले कान्तिपुरसँग भनिन्, ‘यसमा कविले आफ्नो रचनालाई आफ्नै स्टाइलमा प्रस्तुत गर्न पाउँछन् ।’

सन् २०१० मा क्युसी र अमेरिकी दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपालको पहिलो पोयट्री स्लाम प्रतियोगिताकी विजेता उज्वला र उनकी साथी युक्ता बज्राचार्य पछिल्ला दुई वर्षदेखि राष्ट्रव्यापी प्रतियोगिता आयोजनाका लागि दौडधुप गरिरहेका छन् । उनीहरूलाई क्युसी र वर्ड वारियर्सका मिलन न्यौपाने, कृति अधिकारी, नसला चित्रकार, प्रमोद केसी, रोचक दाहाल र समीप ढुंगेलले प्रशिक्षण र अन्य क्रियाकलापमा सघाइरहेका छन् ।

स्पोकन वडर््सबारे हालसालै थाहा पाएकी सातदोबाटोकी नुविशाले यो विधामा आफ्नो विचार जस्ताको त्यस्तै उतार्न पाइने भएकाले प्रतियोगितामा भाग लिन लागेको बताइन् । ‘कविताहरू लेख्न थालेको थुप्रै भयो,’ उनले भनिन्, ‘तर, स्पोकन वर्डमा जति मज्जा अरूमा आएको थिएन ।’ प्रतियोगिताका लागि आवश्यक चार वटा कविता लेखिभ्याउन उनी अचेल खुब मिहिनेत गरिरहेकी छन् । नुविशालाई अंग्रेजी भाषामा लेख्न सजिलो लाग्छ तर उनकै टिमका नवीन भने नेपाली भाषामा प्रस्तुति दिँदै छन् ।

‘हामीले सुरु गर्दा सबैले अंग्रेजीमै पर्फम गर्थेे,’ उज्वलाले भनिन्, ‘तर, जसै यो विधा लोकप्रिय हुँदै गयो, नेपाली र जातीय भाषाका स्पोकन वडर््ससमेत सुनिन थाले ।’ स्लामलाई अझ व्यापक बनाउँदै युवायुवतीलाई रचनात्मक लेखनका लागि प्रेरित गर्नु आफूहरूको उद्देश्य रहेको बताउने उनी क्षेत्रीय प्रतियोगिताको नतिजा देखेर निकै उत्साहित छन् । ‘नौलो विधा, प्रतियोगी जुटाउन गाह्रो पर्ला भन्ठानेका थियौं,’ उनले भनिन्, ‘तर, गाउँगाउँका भाइबहिनीदेखि मदरसाका विद्यार्थीसमेत फर्म भर्न आएको देख्दा खुसी लाग्यो ।’

नेपालमा पहिलोपटक हुन लागेको राष्ट्रिय स्तरको पोयट्री स्लाम प्रतियोगितामा व्यक्तिगत र सामाजिक विषयमा आधारित कविताहरू सुन्न पाइने उज्वलाले बताइन् । उनका अनुसार प्रतियोगीलाई लेखाइ र प्रस्तुति मात्रै नभएर भाषिक, जातीय र क्षेत्रीयताका आधारमा पनि छानिएको छ । ‘पिछडिएको समूह वा ठाउँका प्रतियोगितालाई समेट्न खोजेका छौं,’ उनले भनिन्, ‘यसले विविधता झल्काउला ।’ ‘क्युसी अवाडर््स २०१६, नेसनल पोयट्री स्लाम’ नाम दिइएको प्रतियोगिता सभागृहमा हुँदै छ ।

Previous
Next Post »