Gumla Buddhist religion Fair Fair filled five million godly


काठमाडौँ, स्वयम्भूमा एक महिने लामो गुँला धर्मको मेलामा अहिलेसम्म करिब पाँच लाख भक्तजनले मेला भरेका छन् ।

नेपाल संवत्को नौ महिनामा पर्ने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट समेत भक्तजनले सहभागिता जनाएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व गत साउन महिनाको १९ गतेदेखि सुरु भएको थियो । त्यसमा बनेपा, धुलिखेल, नुवाकोटलगायत क्षेत्रबाट समेत भक्तजन आएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुरबाट आउने भक्तजनले विभिन्न गुँला बाजा, धा बाजा, न्याखीँ बाजा, खीँ बाजा समेत बजाउँदै त्यहाँ आउने गर्दा अन्य दर्शकलाई समेत रमाइलो र मनोरञ्जन गराउने गरेको पाइएको छ ।

मेलाको यस एक महिनाको अवधिमा स्वयम्भूमा प्रज्ञापारमिता, ललितविस्तर, गुह्ेयसमाजतन्त्र, समाधीराज, लङ्काअवतारलगायत नौवटा ग्रन्थ वाचन गर्ने गरिन्छ ।

गुँला धर्मकाबारेमा स्थानीय पूजारी बाबुराजा बुद्धाचार्यले बुद्धकालीन समयमा अनिकाल भई सर्वसाधारण मानिस मर्न थालेपछि करुणामयले बुद्धलाई मानिसको रक्षाका लागि अनुरोध गरेको र बुद्धले यो एक महिना धर्मगरी प्राणी रक्षा गर्नुभएको स्मरणमा यो परम्परा सुरु भएको विश्वास व्यक्त गर्नुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा भने गत वर्ष आएको भूकम्पका कारण क्षति पुगेकाले भक्तजनलाई केही कठिनाइ थपिएको छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका घरका सामग्री तथा भग्नावशेष जस्तो देखिने त्यस क्षेत्रमा अहिले पहिलेभन्दा केही नरमाइलो समेत अनुभव हुन्छ ।

महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रमा आउने भक्तजनको सुविधाका लागि स्वास्थ्य शिविर तथा एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको जानकारी दिनुभयो । विशेषगरी काठमाडौँ उपत्यकाका विभिन्न बहा, बही तथा चैत्यमा पूजा गर्दै बाजा बजाउँदै भक्तजन दिनहुँजसो त्यहाँ आउने गरेका छन् । त्यसैगरी यही समयमा स्वयम्भूमा सिंग भेरी पूजा समेत गरिन्छ ।

नागपञ्चमीका साथै जनैपूर्णिमामा जनै लगाउने तथा डोरो बाँध्नेको समेत त्यहाँ विशेष मेला लाग्ने गर्दछ । ललितपुरमा मतया पर्व सम्पन्न गरेपछि त्यहाँका भक्तजन स्वयम्भू आएर पूजासमेत गर्दछन् । मेला यही भदौ १७ गते सम्पन्न हुनेछ ।

महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यका अनुसार मेलाको अवधिमा पहिले मानिस निराहार व्रत समेत बस्ने गर्दथे । अहिले एक छाक चोखो खाएर बस्ने गर्दछन् । ती व्रतालुले अन्तिम दिन शान्तिपुरमा गुरु मण्डल बनाएर जाँड, रक्सी, छोयला चढाएर नुन फुकाउने गर्दछन् । रासस
Previous
Next Post »