What vehicle that drives what celebrity?


भाद्र १४, २०७३- युवापुस्ताका चर्चित नायक अनमोल केसी डुकाटी बाइक हाँक्छन् । उनी कारभन्दा बाइक नै चढ्न बढी रुचाउँछन् । ‘कार किन्न भनेको हुँ । तर मानेन, डुकाटी किन्यो,’ भुवन केसीले छोराले पहिलेदेखि नै बाइक चढ्न मन गर्ने गरेको सुनाउँदै भने । त्यसो त भुवन कारका सौखिन हुन् । ‘गाडी सिकेकै ४० वर्ष भइसक्यो,’ अभिनेता भुवनले कान्तिपुरसँग सवारी अनुभव सुनाउने क्रममा भने, ‘सुरुमा टोयोटा कोरोला चढें । ३७ वर्षदेखि गाडी चढ्दै आएको छु ।’ भुवनले छ महिनाअघि मात्रै किया स्पोर्टेज छाडेर क्रेटा चलाउन थालेका रहेछन् । यतिबेला भने उनको मन कारमा भन्दा जिपतर्फ तानिएको रहेछ । ‘काठमाडौं जस्तो ठाउँमा कारभन्दा जिप नै राम्रो देखियो । क्रेटा जिप सुटिङमा उकालो, ओरालो जानुपर्ने भएकाले ठीक छ । फोर ह्वील पनि भएकाले खाल्डाखुल्डीमा पनि सजिलै कुद्छ,’ भुवनले आफ्नो सवारीप्रति सन्तुष्टि देखाए ।

नायिका प्रियंका कार्कीले हुन्डाईको टक्सन चढ्न थालेको निकै भइसक्यो । त्यसअघि उनी टीभीएसको विगो स्कुटी कुदाउँथिन् । त्यसो त स्कुटीबाट एकैचोटि टक्सनमा जम्प हुँदा प्रियंकाको राम्रै चर्चा पनि भएको थियो । त्यसबखत उनले ‘आफ्नै मिहिनेतको कमाइले किनेको’ अभिव्यक्ति नै दिनुपर्‍यो । तर उनी अमेरिका बस्दा नियमित कारमा हुइँकिने गर्थिन् । ‘म पहिलेदेखि नै गाडी चढ्दै आएकी छु । नेपाल आएपछि धेरै समय स्कुटी चलाएँ । यहाँ गाडी किन्न पनि महँगो छ । चलाएर हिंड्न झन् गाह्रो छ,’ प्रियंकाले थपिन्, ‘फेरि हाम्रो जस्तो पेसामा आफ्नै गाडी नभई पनि नहुने । सधैं ट्याक्सी वा स्कुटीमा हिंड्न पनि सहज हुँदैन । अहिले त गाडी सौख मात्रै नभएर आवश्यकता नै भइसक्यो ।’ टक्सन ठूलो हुने भएकाले प्रियंकालाई यसमा धेरै सामान लिएर हिंड्न सहज भएको रहेछ । ‘टक्सनमा स्पेस ठूलो छ र क्लिअरेन्स पनि राम्रो छ । कति अप्ठ्यारा ठाउँमा लिएर जानुपर्ने हुन्छ, त्यसका लागि सजिलो भएको छ ।’ तर टक्सन ठूलै भएका कारण साँघुरा ठाउँमा लैजान गाह्रो हुने, डिजेल धेरै चाहिने र पार्ट्स महँगो हुने बेफाइदा पनि भोगेकी रहिछन् प्रियंकाले ।

नायिका हुनुअघि नै रेखा थापा हकी स्वभावकी थिइन् । १४ वर्षको छँदै गाडी चलाउन जानिसकेकी थिइन् । उनले गाडी चलाएरै हिंड्न थालेको पनि १३ वर्ष भएछ । ‘पहिलो सवारी अल्टो थियो’ रेखाले यतिबेला भने पाँचौं गाडीका रूपमा एक महिनादेखि भक्सवागन जिप चलाउँदै आएकी छन् । त्यसअघि उनको सवारी टेरिस कार थियो । भक्सवागन जिप चलाउँदाका राम्रा पक्षबारे रेखाले भनिन्, ‘पहिले त यसको ब्रान्ड नै राम्रो भयो । फेरि मलाई पहिलेदेखि नै यसको जिप चढ्न रहर थियो । चलाउन कम्फर्ट छ ।’ त्यसो त रेखालाई गाडी फेर्ने बानी नै लाग्न थालेको बताइन् । तर, अहिलेको जिप तत्काल फेरिहाल्ने पक्षमा भने छैनन् रे ।

नायक जीवन लुइँटेलले कार हुइँक्याउन थालेको पाँच वर्ष भएछ । स्यान्ट्रोबाट निजी सवारी चलाउन थालेका जीवन यतिबेला भने मलेसियन कम्पनीको पेरोडोआ हाँक्छन् । ‘एक वर्ष भयो पेरोडोआ चलाउन थालेको । एकदमै इकोनोमी र धेरै माइलेज दिने भएकाले मलेसियामा यो चल्तीको कारमा पर्छ,’ जीवनले अनुभव सुनाए, ‘अनि आकार पनि सानो भएकाले चलाउन सजिलो छ ।’ जीवनले त्यसअघि भने इटालीको डेओ र फियट चलाइसकेका छन् । ‘निजी सवारीमा हिंड्नु सेलिब्रिटीका लागि आवश्यकता नै भइसक्यो,’ उनले भने । समाजले सेलिब्रिटीलाई हेर्ने दृष्टिकोण र  सुटिङका लागि कुदिरहनुपर्ने बाध्यताले गर्दा पनि आफ्नै सवारी हुनु जरुरी रहेको जीवन जिकिर गर्छन् ।

रेखा देखासिकीले गाडी चढ्नु विकृति निम्त्याउनु ठान्छिन् । बाध्यताले नै सेलिब्रिटीले कार चढ्नु पनि बेकार मान्छिन् उनी । भन्छिन्, ‘देखासिकीले गर्दा वा सान देखाउन कसैले चढ्छ भने त्यसले विकृति निम्त्याउँछ । सवारी भनेको सौख र क्षमता भएर चढ्ने हो ।’ भविष्यमा भने उनलाई ल्यान्डरोभरको गाडी हाँक्ने सौख रहेछ । प्रियंकालाई भने सानो भएकैले यतिखेर महिन्द्राको केयूबीले मन जितेको सुनाइन् ।

अभिनेता भुवन पनि सेलिब्रिटीका लागि आफ्नै सवारी हुनु जरुरी रहेको बताउँछन् । ‘विदेशमा त सवारी भनेको खुट्टा जस्तै हो । हामीकहाँ पनि यो सौख मात्रै नभई अति आवश्यक भइसक्यो । कस्तो क्वालिटीको चढ्ने भन्ने आफ्नो ठाउँमा होला तर सेलिब्रिटीले त चढ्नै पर्ने भइसक्यो,’ उनले भने । त्यसो त बाटोको अवस्थाले पनि गाडी चलाएर हिंड्नु सहज नभएको टिप्पणी गर्दै उनले सुनाए, ‘पहिले म सिनामंगलबाट पाँच मिनेटमा न्युरोड पुग्थें । अहिले बिहान हिंड्यो भने कुन बेला पुगिन्छ भन्ने पनि थाहा हुँदैन ।’ भुवनलाई भने भविष्यमा फरारी चलाउने ठूलो सौख रहेछ । त्यसबाहेक अरू कार/जिप उनका लागि माइनर भइसके रे । जीवन भने पेरोडोआ चेन्ज गर्ने मुडमा रहेनछन् । उनको ड्रिम कार भने जर्मनीको अडी रहेछ ।

Previous
Next Post »