भाद्र १४, २०७३- गुन्डा नाइके दिपक मनाङे र उनका सहयोगी राजनकुमार सिंहलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अपहरणको धम्की दिंदै जबर्जस्ती रकम असुलेको अभियोगमा पक्राउ परेका मनाङेलाई अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलाशले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
एक व्यापारीलाई धम्क्याएर ५० हजार रुपैयाँ लिएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई असार १८ मा पक्राउ गरेको थियो । मनाङेसहित ५ जना घटनामा संलग्न रहेको भन्दै प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग र संगठित अपराध ऐन अनुसारको अभियोगमा अनुसन्धान गरेको थियो ।
प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित रायमा संगठित अपराधको अभियोग समेत लगाए पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने मनाङेमाथि अपहरण उद्योगमा मात्रै दण्ड जरिवानाको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको थियो ।
मंगलबार अपहरण उद्योगमा धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्धा प्रकृया अगाडि बढाउने भन्ने बहसमा अदालतले मनाङेका कानुन व्यवसायीको माग विपरीत पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीले मनाङेको सहयोगी दाबी गरेका सुशील मनाङे, ज्याक गुरुङ र शनि गुरुङ भने पक्राउ परेका छैनन् ।
दर्जनौं आपराधिक अभियोग लाग्ने गरे पनि अधिकांश अभियोगमा धरौटीमा छुट्दै आएका मनाङेको यो तेस्रो जेल यात्रा हो । यस अघि उनी सार्वजनिक अपराधको अभियोगमा १ वर्ष जेल बसेका थिए । आपराधिक गतिविधिबाट १४ करोड रुपैयाँ कमाएको मुद्धामा धरौटी नबुझाई तीन महिना जेल बसेका उनी धरौटी बुझाएर मुक्त भएका थिए ।
अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार लगिएको छ । डिल्लीबजार उनको प्रिय कारागार हो । यसअघिका सबै कैद सजाय उनले सोही जेलमा कटाएका थिए ।
ConversionConversion EmoticonEmoticon