द्र १३, २०७३- बोक्सीको आरोपमा नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति हैरान भएर गुरुवा (धामीझाँक्री) कहाँ धाउन थाले । कसैले भनिदियो, ‘यो सबै बोक्सी लागेर भएको हो ।’ बोक्सीको शंकामा दिनेशले गत बुधबार डन्डीको हत्या गरेका हुन् ।
साँझ साढे ८ बजेतिर डन्डी छिमेकी सितरानी थारूको आँगनमा बसेर मकै छोडाइरहेकी थिइन् । एक्कासि पछाडिबाट आएर दिनेशले रोटी पकाउने तावाले हाने । तावाको बिँड फुस्किएपछि उनले ढलेकी डन्डीलाई चिपर्टले हानेर रक्ताम्ये पारे । ‘अँध्यारो थियो, हामी गफ गर्दै मकै छोडाइरहेका थियौं, उसले पछाडिबाट आएर हान्यो र पछि भाग्यो,’ प्रत्येक्षदर्शी सितरानीले भनिन् ।
हल्ला मच्चिएपछि डन्डीका छोरा खुसीराम दौडिँदै आए । उनले हत्तपत्त सर्ट खोलेर आमाको फुटेको टाउको बाँधे । अनि, एम्बुलेन्स बोलाए । ‘दिनभर खेत जोतेर आएर नुहाउँदै थिएँ,’ २६ वर्षीय खुसीरामले भने, ‘दौडिँदै जाँदा त आफ्नै आमा, सास मात्र थियो ।’ अस्पताल पुर्याउँदा स्थिति नाजुक थियो । चिकित्सकले तत्कालै लखनउ रिफर गरे । सीमा नाघेर रुपैडिया नपुग्दै उनको मृत्यु भयो ।
हत्यापछि भागेका दिनेशलाई प्रहरीले कैलालीको अत्तरियाबाट पक्राउ गरेको छ । उनी भारत जाँदै थिए । ‘रातारात कैलाली पुगिसकेको रहेछ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले भने, ‘मोबाइल लोकेसनका आधारमा त्यहाँ पुगेको पत्ता लाग्यो ।’
अभियुक्त दिनेशले अपराध स्वीकारेका छन् । बोक्सी लागेर आफ्नी पत्नी बिरामी बनाएकाले सिंगो गाउँलाई बचाउन आफूले हत्या गरेको तर्क उनले प्रहरीसँगको बयानमा दिएका छन् । ‘छिमेककै आँगनमा बसेको मौका पाएँ, त्यसैले मार्ने गरी नै हानेको हुँ,’ उनले बयानमा भनेका छन्, ‘बोक्सीलाई मार्दा कुनै पछुतो छैन ।’
डन्डीका पति ढिकाराम थारूको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । उक्त घटनापछि गाउँमा डन्डीलाई ‘लोग्ने खाई’ भनेर बोक्सीको आरोप लागेको हो । उनी ज्याला मजदुरी गर्थे । ‘खेती किसानीबाहेक बुवा ज्याला मजदुरी गर्नुहुन्थ्यो,’ आमाको किरियामा बसेका छोरा खुसीरामले भने, ‘कोहलपुर बसपार्कछेउ मजदुरी गर्ने क्रममा करेन्ट लागेर बित्नुभएको हो ।’ आमा एकल महिला भएकाले त्यस्तो आरोप लागेको उनले बताए । तर, घटना हुनुअघिसम्म आफूले आमाप्रतिको नकारात्मक भ्रम केही नसुनेको उनले बताए ।
घटनाअघि दिनेशको बुवा मोतीलालसँग केहीबेर भनाभन भएको थियो । बुवा खाना खान थाले । तनावमा रहेका दिनेशले छिमेकी आँगनमा डन्डीलाई देखेपछि तावा लिएर आक्रमण गर्न निस्के । ‘मैले केही नगर भन्दै थिएँ । बोक्सीलाई नमारी छाडदिनँ भन्दै गएर हान्यो,’ मोतीलालले भने, ‘ऊ मेरो एक्लो छोरा हो । उसैले यस्तो अपराध गर्यो । म धेरै दु:खी छु ।’ दिनेशविरुद्ध प्रहरीले विस्तृत अनुसन्धानपछि ज्यान मुद्दा चलाउँदै ।
बोक्सी भन्दै ज्यादती
बाँकेका गाउँहरूमा बोक्सी आरोपमा महिलाले ज्यादती भोग्दै आएका छन् । महादेवपुरी–१ की २९ वर्षीया सरिता कुँवरलाई छिमेकी ३६ वर्षीया सरिता पुन र उनकी छोरी मनीषाले जेठ १७ गते बोक्सी आरोपमा दुव्र्यवहार तथा कुटपिट गरे । ‘घरमै आएर लछारपछार गरे, अनेक आरोप लगाए,’ कुँवरले भनिन्, ‘दिसा खुवाउने प्रयाससम्म गरे ।’
बोक्सी लागेर आफ्नो गर्भ पटक–पटक तुहिएको र जादुटुना लगाएर पतिलाई समेत अपांग बनाएको भन्दै पुनले आक्रमण गरेकी थिइन् । ‘रातिमा टोक्न आउँछेस् भन्दै कुटपिट गरे,’ कुँवरले भनिन् । प्रहरीले पुनलाई पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा छाडेको छ ।
त्यस्तै, कोहलपुर नगरपालिकाकै सिम्रीगाउँका ३४ वर्षीय दीपक कठायतले असार ९ गते छिमेकी टीका कठायतलाई दुव्र्यवहार गरे । उनकी दुई महिनाकी छोरी बारम्बार बिरामी परिन् । दीपकलाई लाग्यो, टीकाले बोक्सी लगाएकाले यो सबै भएको हो । त्यही भ्रममा उनले आक्रमणको कोसिस गरे । ‘मेरी दुई महिनाकी छोरीलाई खान लागेकी छस्, तँलाई यहाँ बस्न दिन्न भनेर दुव्र्यवहार गरे,’ पीडितले भनिन् । टीकाको उजुरीमा अहिले उनी पुर्पक्षका लागि थुनामा छन् ।
बोक्सी वा बोक्सा भन्ने अन्धविश्वासले गाउँमा यस्ता धेरै घटना भएको डीएसपी काफ्लेले बताए । कोही बिरामी भएमा वा विभिन्न स्वास्थ्य कारणले शरीरमा नील देखिए मात्र हैन, भैंसीले दूध नदिए पनि बोक्सी लाग्यो भनेर दुव्र्यवहार गर्ने प्रवृत्ति रहेको छ । ‘अझै पनि बोक्सीको अन्धविश्वासले गाउँघरमा अपराध भइरहेका छन्,’ उनले भने, ‘कानुनत: यी सबै दण्डनीय हुन् भन्ने पनि धेरैलाई थाहा छैन ।’
मुलुकी ऐन अदल १० (ख) मा कसैलाई बोक्सी वा बोक्सोको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई सामाजिक बहिष्कार गर्ने वा कुनै अमानवीय/अपमानजनक व्यवहार गर्ने वा यातना दिएमा ३ महिनादेखि २ वर्ष कैद वा पाँच हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय‘ हुन सक्ने व्यवस्था छ ।
लमजुङ– आइतबार बिहान करिब पौने १२ बज्दै गर्दा प्यारजुङस्थित बुद्धमिलन मावि कक्षा ७ का एक छात्रा रुन, कराउन र बर्बराउन थालिन् । सँगै एउटै कक्षाका तीन जनामा यस्तो समस्या देखियो । विद्यालयका प्रधानाध्यापक अम्मरबहादुर न्यौपानेका अनुसार कक्षा ६ र ८ का छात्राहरू पनि बर्बराउँदै दौडिने, रुने, कराउने, आफ्नै कपाल भुत्ल्याउने, चिथोर्ने गर्न थाले । यसप्रकारको समस्याबाट शिक्षक, विद्यार्थी र अभिभावक एक महिनायता चिन्तित छन् । विद्यार्थीमा समस्या देखिएकै समय आइतबार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकले धामीझाँक्रीलाई विद्यालयमै बोलाए ।
विद्यालयमै पूजापाठ र झारफुक भयो । ‘अभिभावकको मन बुझ्छ भने केही फरक पर्दैन भनेर केही बोलिनँ,’ प्रअ न्योपानेले भने । सबै जिम्मा व्यवस्थापन समितिलाई सुम्पेको उनले बताए । उनका अनुसार सुरुमा गत असार ७ देखि कक्षा ६ का ३ जना छात्रामा समस्या देखिएको थियो । त्यसपछि बर्खे बिदा भएको र साउन २३ बाट विद्यालय खुलेसँगै समस्या देखिएको छ । अहिले कक्षा ६ देखि ९ सम्मका छात्रामा समस्या रहेको उनले बताए । समस्या देखिएका छात्राहरू १२ देखि १६ वर्ष उमेर समूहका छन् ।
स्थानीयका अनुसार आइतबार पूजापाठका लागि कक्षा ७ को कोठा खाली गराइएको थियो । उक्त कोठामा समस्या देखिएका विद्यार्थी राखेर पूजापाठ गरिएको थियो । पूजापाठ पाचोकका नाम चलेका झाँक्री देवीराम तामाङले गरेका थिए । ‘कक्षाकोठाको एकातिर कार्पेट ओछ्याएर विद्यार्थी राखिएको थियो, अर्कोतिर पूजापाठ गरिएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘मन्त्राएको पानी चढाए, चर्को आवाजमा घण्टी बजाएर छात्राको कपाल समाती मन्त्रपाठ गरे ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसबहादुर गुरुङका अनुसार कहींकतैबाट समस्याको समाधान नभएपछि पाचोकबाट झाँक्री ल्याइएको हो । ‘डाक्टरलाई देखाउँदा पनि भएन, औषधि छैन भन्छन् । घर–घरमा गाउँकै धामीझाँक्री लगाउँदा पनि भएन,’ उनले भने, ‘केही सीप नलागेपछि नाम चलेका झाँक्रीलाई बोलाएको हुँ ।’ उनका अनुसार झाँक्रीले आइतबार साँझ पनि ग्रहशान्ति पूजापाठ गरेका छन् ।
डाक्टर सुस्मिता खडकाका अनुसार छात्रामा देखिएको यसप्रकारको समस्या ‘कन्भर्सन डिसअर्डर’ हो । यसलाई बोलीचालीको भाषामा ‘मास हिस्टेरिया’ पनि भनिन्छ । महिनावारीपूर्व र महिनावारीको केही वर्षसम्मका किशोरीमा यो समस्या देखापर्छ । ‘यो समस्याको औषधि यही हो भन्न सकिन्नँ,’ उनले भनिन्, ‘समूहबाट छुट्याउने । उनीहरूका सबै कुरा सुन्ने, उनीहरूलाई व्यस्त राख्ने । उनीहरूको इच्छा चाहना पूरा गरिदिने, उनीहरूलाई मनोरन्जन दिलाउने र काउन्सेलिङ गर्दै लगेमा यो समस्या बिस्तारै हटदै जान्छ ।’
ConversionConversion EmoticonEmoticon