Saudi labor agreements dissatisfied


भाद्र १३, २०७३- साउदी अरबमा तेस्रो मुलुक हुँदै पुर्‍याइएका घरेलु कामदार (हाउसमेड) को समस्या फेरि बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार न्यूनीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा विगतझैं फेरि समस्या तथा आपतविपतमा परेर हाउसमेडहरू आउने क्रम बढेको छ । ‘हाम्रो सेल्टर रित्तिइसकेको थियो । कहिलेकाहीँमात्रै आउने अवस्था बनेको थियो,’ साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘बिचल्लीमा परी भागेर आउने हाउसमेडको समस्या पहिलाजस्तै बढेको छ ।’

अहिले दूतावासको रेखदेखमा २४ पीडित महिला छन्, जसमध्ये दूतावासकै सेल्टरमा ११ जना तथा साउदी सरकारको घरेलु कामदार विभागको सेल्टरमा १३ जना छन् । ‘उनीहरूलाई स्वदेश पठाउने प्रक्रिया सुरु भएको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै फिर्न सक्छन्,’ उनले भने ।

सरकारले खाडीमा हाउसमेड पठाउने समयमा समेत रियादस्थित नेपाली दूतावासले स्थानीय स्पोन्सरलाई अनुमति दिएको थिएन । कुबेत, यूएई र ओमनमा साउदी नागरीक आफैं पुगेर हाउसमेड लिएर जान्थे । त्यतिखेर दूतावासले साउदी र कुवेतका उच्च सरकारी तहमा साउदी नागरिकले आउँदा ल्याएको हाउसमेड जाँदा पनि साथमै हुनुपर्ने भन्दै बारम्बार ध्यानकर्षण जनाएका थिए । दूतावासको ध्यानाकर्षणपछि साउदी र कुवेतका अध्यागमनले पनि कडाइ गरेको थियो ।

पछिल्लो समयमा हाउसमेड अभाव भएपछि दुवै देशले कडाइ गर्न छाडेका छन् । नेपाललाई बारम्बार हाउसमेडमाथि लगाएका प्रतिबन्ध हटाउन र श्रम सम्झौता गर्न साउदीले अग्रसरता देखाउँदै आए पनि नेपाली पक्षबाट आवश्यक काम भएको छैन । ‘सेल्टरमा जति महिला आएका छन् । उनीहरू सबै कुवेत र यूएईमा काम गर्न आएकाहरू छन्,’ उनले भने, ‘साउदीकै लागि आएकाहरू एकदमै कम छ ।’

हाउसमेड पाउन छाडेपछि स्पोन्सरहरूले काम गरिरहेकालाई पनि स्वदेश पठाउन रोक लगाएको छ । चार वर्षसम्म घर नपठाएपछि भागेर दूतावासमा आइपुगेकी सिन्धुपाल्चोककी रूपरानी तामाङले दिएको बयानमा उल्लेख छ, ‘बीचमै आउँछ भनेर होला, चार वर्षसम्म काम गर्दा पनि तलब दिएन ।’ दूतावासले रूपरानी र बाँकेकी पूजा सुनारलाई उद्धार गरी स्वदेश पठाएको छ ।

साउदीमा तेस्रो मुलुकबाट घरेलु कामदार ल्याउने प्रक्रिया झन् बढेको उनले बताए । कञ्चनपुरकी आयशा कार्कीले आफूलाई भारत–चीन–श्रीलंका हुँदै साउदी ल्याइएको बताइन् । ‘यूएईको होटलमा काम गर्न भनेर हिँडेको थिएँ । दलालले झुक्काएर साउदी ल्याइदिए,’ तीन महिनादेखि सेल्टरमा बस्दै आएकी  कार्कीले भनिन् । दूतावासले सेल्टरमा रहेका महिलाका लागि टिकट जुटाउने काम भइरहेको जनाएको छ । कार्कीलाई ‘रामचन्द्र उद्धार समिति’ साउदीले टिकट दिएको छ ।

Previous
Next Post »