भाद्र १३, २०७३- महाभूकम्पले भत्किएका पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा सरकारले विदेशी दाता गुहारिरहेको छ । विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य (स्तूप) ले भने न सरकारको मुख ताक्यो, न दाताको । जनस्तरको सक्रियतामा थालिएको यसको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको छ ।
पाँचौं शताब्दीमा निर्माण भएको मानिने यो विश्वसम्पदा अबको दुई महिनाभित्र साविककै स्थितिमा फर्किनेछ । बौद्धनाथ क्षेत्र विकास समितिले आउँदो कात्तिकभित्र सम्पूर्ण काम सकाउने र मंसिर पहिलो साता उद्घाटनै गर्नेगरी कार्यसूची बनाइसकेको छ ।
विनाशकारी भूकम्पपछि पुनर्निर्माण थालिएको उपत्यकाको यो नै पहिलो विश्व सम्पदा हो । पुनर्निर्माण सम्पन्न हुने पनि पहिलो नै बन्दैछ । ‘मंसिर पहिलो साता देवातरण दिवस (लभव धुइछेन) को साइत पारेर प्राण प्रतिष्ठा गर्दैछौं,’ समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भने, ‘चारैवटा बौद्ध परम्पराका धर्मगुरुको उपस्थितिमा राष्ट्रप्रमुखको बाहुलीबाट समुद्घाटन गर्ने योजना बनाउँदैछौं ।’
भूकम्पले महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भागहरू, मण्डला र छ्यार्तेनहरू भत्काएको थियो । पुरातत्त्व विभागका प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा २०७२ जेठ १० गतेदेखि यसको पुनर्निर्माण थालिएको थियो, जतिबेला परकम्पहरू बाक्लै आइरहन्थे । पुनर्निर्माणको तत्कालीन प्राविधिक लागत १८ करोड ४५ लाख रुपैयाँ निस्केको थियो । तैपनि आफूसँग उपलब्ध ३ करोड रुपैयाँबाट समितिले पुनर्निर्माण थालेको थियो । त्यो रकम स्तूप प्रवेश गर्ने पर्यटकबाट लिइने आर्थिक वर्ष २०७१/७२ मा उठेको शुल्क थियो ।
‘पछि सहयोगी शुभचिन्तक थुप्रै आउनुभयो,’ लामाले भने, ‘पुनर्निर्माण कहीं पनि रोकिनु परेन ।’ अहिलेसम्म १४ करोड २२ लाख रुपैयाँ नगद जम्मा भइसकेको उनले जनाए । प्रशंसनीय के भने स्तूपमा लगाउने सुनको मोलम्बाका लागि व्यक्तिगत पहलमै ३० किलो सुन दानस्वरूप प्राप्त भएको छ । धर्मगुरु ताई रिन्पोछे र उनीअन्तर्गतका बौद्ध संघसंस्था र अनुयायीको पहलमा २९ किलो र सर्वसाधारणमार्फत एक किलो सुन जम्मा भएको समितिले जनाएको छ ।
मोलम्बाका लागि चाहिने बाँकी ३ किलो सुन पनि सर्वसाधारणबाटै जम्मा हुँदै गरेको अध्यक्ष लामाले बताए । ‘यस हिसाबले अहिले पुनर्निर्माणलाई चाहिनेभन्दा बढी सहयोग जम्मा भइसकेको अवस्था छ,’ उनले भने, ‘अब बाँकी रकमबाट धर्मशालाका लागि भवन तथा जग्गा खरिदमा खर्च गर्ने समितिको योजना छ ।’ अहिलेसम्म महाचैत्यअन्तर्गत साना छ्यार्तेनहरू, मण्डला र त्रयोदश भुवनको पुनर्निर्माण सकिसकेको छ ।
छत्रावली र पद्म काठ (कमलको फूल) का कार्यहरू र पुरानो तामाका पाताहरूमा सुनको मोलम्बा लगाउने कार्य ९० प्रतिशत सकिसकेको छ । समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाका अनुसार महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन सिमेन्टको सट्टा बज्र प्लास्टर प्रयोग गरिएको छ । यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो । काँचो चुन, सुर्खी (इँट्टाको धुलो) र बालुवा प्रयोग गरी बज्र प्लास्टर निर्माण गरिन्छ । ‘पुरातत्त्व विभागको सिफारिसअनुसार यसो गरेका हौं,’ उनले भनिन् ।
भूकम्पले भत्किँदा महाचैत्यको माथिल्लो भागमा १९ वटा तामाका बन्द बाकस भेटिएका थिए । ती सबै पुरातत्त्व विभागको रोहबरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो । पुनर्निर्माण क्रममा ती बाकसलाई पनि नखोलीकनै महाचैत्यभित्रै राखिएको समितिले जनाएको छ । ३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलो पटक अर्थिङसमेत व्यवस्था गरिएको अध्यक्ष लामाले जनाए ।
बौद्धनाथ क्षेत्र विकास समिति सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको निकाय हो । बौद्ध महाचैत्यको प्रवद्र्धन, संवद्र्धन र पुरातात्त्विक संरक्षणको जिम्मेवारी पाएको यो समितिमा सरकारबाट वार्षिक ७ लाख रुपैयाँ मात्रै जान्छ । चालु आर्थिक वर्षका लागि पनि ७ लाख रुपैयाँ छुट्याइएको छ । भूकम्पपछि धरहरालगायत उपत्यकाका अन्य सम्पदा पुनर्निर्माणमा ढिलासुस्ती भइरहेका बेला बौद्ध स्तूपको निर्माणमा भने यसरी जनस्तरबाट सहयोग जुट्नु निकै प्रशंसनीय रहेको अध्यक्ष लामाले दाबी गरे ।
समितिले शनिबार पत्रकार सम्मेलन गरी सहयोगीहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सूचीअनुसार सहयोगीमध्ये मकाउका विद्यार्थी र प्रोफेसरहरूबाट २ करोड १६ लाख रुपैयाँ, एचएनके ग्रुप र कमनवेल फाउन्डेसनबाट ३ करोड रुपैयाँ, चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड ५० लाख रुपैयाँ, तेर्कर फाउन्डेसन नेपालबाट १ करोड रुपैयाँ, लुम्बिनीस्थित चिनियाँ गुम्बाबाट ५० लाख रुपैयाँ, बोधिधातुबाट २० लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट ३ करोड २० लाख ५० हजार रुपैयाँ र चिनियाँ दूतावासबाट ६५ लाख रुपैयाँ छ ।
बौद्धको पुरानो नाम झ्यारुङ खस्योर हो । बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध मिथक छ । केही बौद्ध अनुयायी स्वयम्भू जस्तै यो महाचैत्य पनि आफैं उत्पत्ति भएको विश्वास गर्छन् । डानियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४–५०५ मा निर्माण गर्न लगाएको उल्लेख छ ।
ConversionConversion EmoticonEmoticon