भाद्र १३, २०७३- क्रिकेटको आवरणमा खेलाडी बनाएर विदेशमै लुकाएको भन्दै समर्थकहरुले सोमबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । माइतीघर मन्डलामा नेपाली क्रिकेट समर्थक समाजले गरेको विरोध कार्यक्रममा झन्डै सय जना उपस्थित थिए ।
‘नेपाली क्रिकेट राष्ट्रको शान, सहदैनौं यस्तो अपमान’, ‘क्रिकेट खेलाडीको तस्कर, हुँदैंछ यहाँ लस्कर’, ‘समर्थकको एउटै स्वर, तस्करीलाई हुनुपर्छ खोर’, ‘क्रिकेटमा माफिया बन्द गर, दोषीलाई तुरुन्त कार्वाही गर’ जस्ता प्लेकार्ड बोकेर समर्थकहरु विरोधमा उत्रिएका थिए । समाजिक सञ्जालबाट कार्यक्रमलाई समर्थन जनाएकी नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे आफै मन्डलामा सहभागी थिइन् ।
अघिल्लो महिना जापानमा भएको एक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट फुटबल क्रिकेटले होन्डा कपमा सहभागिता जनाएका थिए । त्यसमा राष्ट्रिय टोलीका प्रतिनिधित्व गरिसकेका सिद्धान्त लोहनी, नेपाली यू–१९ का खेलाडीहरु सौरभ खनाल, प्रेम तामाङ, अमित श्रेष्ठ, फैजल खान लगायत खेलाडीले बेस्ट फुटबल क्लबबाट खेलेका थिए ।
तर जबरजस्ती खेलाडी बनाएर लगिएकाहरुलाई त्यही लुकाएको भन्दै समर्थकले क्रिकेटमा मानव तस्करविरुद्वको अभियान चलाएका हुन् । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार यस घटनामा गम्भिर ध्यानकर्षण भएको जनाएको थियो । नेपाली टोलीका व्यवस्थापक भएर जापान गएका क्यानकै सचिव किरण राणामाथी शंकाको दृष्टिले हेरिएको छ ।
समर्थकहरुले खेलाडी बनाएर लगिएका ९ जना जापानमै भगाइएको आरोप लगाएका छन् । नेपाली क्लब फुटबलका पदाधिकारीको रुपमा चिनिएका पूर्व गोलरक्षक सुन्दर थापाले लगेको ९ खेलाडी भागेपछि राणा आफै मैदानमा उत्रिएका थिए र एक खेलमा उनी म्यान अफ द म्याचमा चुनिएका थिए । जापानमै रहेका पूर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधानले पनि नेपाली टिमबाट खेलेका थिए । क्रिकेट खेलाडी संघ नेपालले घटनाको छानविन हुनु पर्ने र दोषीलाई कार्वाही हुने माग गरिसकेको छ ।
ConversionConversion EmoticonEmoticon