श्रावण १८, २०७३- मधेसी मोर्चा सहितको संघीय गठबन्धनले समर्थन जनाएपपछि प्रधानमन्त्रीका उम्मेदवार नेकपा-माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको पक्षमा करिब ३ सय ६० बढी सांसदको समर्थन पुगेको छ ।
संसद भित्रको ठूलो दल कांग्रेसको साथ पहिलेदेखि पाएका दाहाल बुधबार दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएको छ । संविधानमा चित्त नबुझाएर विगत एक वर्षदेखि आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेपनि मंगलबार दाहालको पक्षमा जाने निर्णय लिएपछि उनको उम्मेदारी थप बलियो भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रस्ताव रहेको उनको उम्मेवारीको समर्थनमा मधेसी दलका नेताहरु छन् ।
संसद भित्र तेस्रो दल रहेको माओवादी अध्यक्ष दाहालको पक्षमा स्पष्ट बहुमत देखिएको छ । संसदमा अहिले कायम ५ सय ९५ सांसदमा प्रधानमन्त्री निर्वाचित हुन २९८ मत आवश्यक छ ।
कांग्रेस २ सय ७, माओवादी ८० (सभामुखले मतदान नगर्ने र एक निलम्बित बाहेक), संघीय गठबन्धन ४२ (मधेसी मोर्चा भित्रका ७ दलका ३९ र अन्यको ३) फोरम लोकतान्त्रिक १४, राप्रपा १२ र नेकपा संयुक्त सहित केही अन्य साना दल र २ जना स्वतन्त्र सांसद पनि दाहालको पक्षमा छन् ।
गठबन्धनका नेता रामसपाका महासचिव केशव झाले कांग्रेस-एमाओवादीसँगको तीन बुँदे सहमतिपछि गठबन्धनले दाहालको पक्षमा मतदान गर्ने निर्णय लिएको बताए ।
एमालेले उम्मेदवारी नदिने निर्णय लिएपछि दाहालको एक्लैको उम्मेदवारी रहने सम्भावना छ । यद्यपी उम्मेदवारी दर्ताको समय आज अपरान्ह ४ बजेसम्म छ ।
दाहालको एक्लै उम्मेदवारी कायम रहेपनि संसदमा उनको पक्ष र विपक्षमा मतदान हुनेछ । एमालेले दाहालको विपक्षमा मतदान गर्ने निर्णय लिएको छ ।
हाल सत्तापक्षमा रहेका एमालेको १ सय ८२, राप्रपा(नेपाल) को २५, नेकपा(माले)को ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, बहुजन शक्ति पार्टीको १ र मधेस समता पार्टीको १ गरी कुल २ सय २३ पक्ष छ ।
सबै दलले कता मतदान गर्ने बारे अझै स्पष्ट निर्णय लिइसकेको छैन । राप्रपा नेपालले आज आफ्नो बैठक बोलाएको छ । पार्टी सहायक प्रवक्ता मोहन श्रेष्ठले दाहालको पक्ष वा विपक्षमा मतदान गर्ने बारे निर्णय लिन कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठक जारी रहेको बताए ।
संसद नियमावलीले तटस्थ बस्न नपाउने व्यवस्था भएकाले सबै संसदले पक्ष वा विपक्षमा मतदान गर्नुपर्ने छ ।
भोलि(बुधबार) बिहान ११ बजे बस्ने संसद बैठकमा लागि ३९ औं प्रधानमन्त्रीकालागि निर्वाचन हुने संसदले कार्यतालिका तोकेको छ ।
१२ वर्ष सशस्त्र संघर्ष गरेको माओवादीले ०६२ सालमा तात्कालिन राजा ज्ञानेन्द्रको निरंकुश शासन विरुद्ध आन्दोलनरत् ७ दलसँग १२ बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको थियो । ०६३ सालमा आन्दोलनको सफलतापछि शान्ति सम्झौता गरेर माओवादी युद्ध त्यागेर मुलधारको चुनावी राजनीतिमा होमिएपछि ०६४ साल चैत्रमा भएको संविधान निर्वाचनमा पहिलो दल भएर आएको थियो ।
०६५ भदाैमा दाहाल एमाले र मधेसी दलको सहयोगमा प्रधानमन्त्री भएका थिए । प्रधानसेनापति रुक्मागंत कटवाललाई हटाउने विवादित प्रकरणका कारण उनी ९ महिनामै सरकारबाट बाहिरिनु परेको थियो । करिब ९ वर्षको अन्तरालपछि दाहाल पुनः सिंहदरवारको कुर्सीमा बिराजमान हुँदैछन् । यसअवधिमा दोस्रो संविधानसभा निर्वाचनबाट संसदमा पहिलो बाट तेस्रो र पार्टी पटक पटक विभाजनको पीडा दाहालले भोगि सकेका छन् ।
ConversionConversion EmoticonEmoticon