भाद्र २, २०७३- जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको शिखा गाविस-७ खयरबराही ताल छेउमा अवस्थित मन्दीरमा धार्मिक मेला लागेको छ ।
अन्नपूर्ण हिमालको पश्चिम फेदीमा ४ हजार ६ सय ६० मिटर अग्लो स्थानमा रहेको खयरबराही तालमा जनैपूर्णिमा मेला भर्न यस वर्ष करिव तीन हजार भक्तजन पुगेका छन् ।
खयरबराही तालमा पुगेर खसीबोको बली दिने ‘भाकल’ गरेका भक्तजनहरु पुगेका छन् । खयरबराही देवीसँग विदेश जाने, लाहुरे हुने, धन, विद्या, सन्तान प्राप्ति लगायतका मनले इच्छाएको ‘वर’ मागेमा पुरा हुने जनविश्वास छ । यस वर्ष वर पुगेको भन्दै पाँच सय यात्रु बली दिन आएका छन् ।
खयरबराही संरक्षण तथा पूर्वाधार विकास समितिका अनुसार यस वर्ष खयरबराही दर्शन तथा पुजा गर्न करिव तीन हजार भक्तालु आएका छन् । यी मध्य ‘भाकल’ अनुसार पाँच सय भेडाको बली दिन सुरु भएको छ ।
‘मैले अघिल्लो वर्ष अमेरिकाको भिसा मागेको थिएँ । पुग्यो । त्यसैले १५ दिनको छुट्टी लिएर खयरबराही देवीको पुजा गर्न आएको हुँ,’ भक्तजन यामबहादुर पुनले भने, ‘खयरबराहमा इच्छायको वर माग्न वा मागेको/आँटेको काम पुरा भएपछि भाकल अनुसारको पुजा गर्न आउँछन् ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने खयरबराही ताल सवै भन्दा नजिकको वस्ती पाउद्धारबाट तीन दिन लाग्छ । बाटोमा खाना र बस्नकोलागी गोठहरु पाइन्छन् । यात्रुहरुले आफ्नो ओढ्ने/ओछ्याउने भने आफैं व्यवस्था गर्नु पर्छ । सुविधाका लागि टेन्ट बोक्नु राम्रो हुन्छ ।
खयरबराही ताल पुग्न सदरमुकामबाट दुई घन्टा बसमा पोखरेबगर पुगेपछि चार घन्टा उकालो हिँडेर सबैभन्दा नजिकको बस्ती पाउद्वारमा बास बस्न पुग्न सकिन्छ । पाउद्धारदेखी कम्तीमा ६ घन्टा उकालो उक्लेपछि तीन हजार छ सय मिटर अग्लो खोप्रालोकमा बास बस्न सकिन्छ । होटलमा बस्न नसक्ने वा स्वयंपाक्य यात्रुको सुविधाका लागि नि:शुल्क प्लास्टिक घर वा गोठ छन् ।
तेस्रो दिन चार घन्टा उक्लेर नौलोवन वा खयरखोलामा बास बस्नु पर्छ । यहाँ भने समुदायले निर्माण गरेको प्लास्टिक घर वा भेडी गोठमा रात बिताउनु पर्छ ।
चौथो दिन राति तीनबजेदेखी यात्रा गरी बिहान ६ बजे खयरबराही ताल पुग्न सकिन्छ । पुजासकेपछि ओरालो बाटो भएकोले खोप्रा वा पाउद्धारमा नै ओर्लन सकिन्छ ।
खयरबराही ताल तथा मन्दिर पुग्न सबैभन्दा नजिकको बस्ती पाउँद्धारबाट तीन दिन हिमाली उच्च भूगोलमा पुग्नु पर्ने भएकोले लेक लाग्ने तथा हिँडाई कठिन हुन्छ । पछिल्लो वर्ष खयरबराही मन्दिर प्रबर्द्धन तथा संरक्षण र प्रचारप्रसारमा बेलायतमा बस्ने राजु पुन सक्रिय छन् ।
खयरबराह संरक्षण समितिले अप्ठ्यारो स्थानमा सिंढीसहितको पदमार्ग बनाउने, खोप्रा, नौलोवन तथा खयरखोलामा भक्तालुहरु बस्नकालागी पक्की प्लास्टिक बस्ने टनेल र बीचबीचमा चिया, खाजा तथा पानीको व्यवस्था गरेको छ ।
‘हिमालमुनीको तिर्थस्थलमा हत्तपत्त जो कोही पुग्न सजिलो छैन । लेक लाग्ने, विष लाग्ने र हिँड्न गाह्रो छ । त्यसैले बास बस्न प्लास्टिक टनेल, भोजन तथा औषधी उपचार ब्यवस्था गरेका छौं,' अभियन्ता राजु पुनले भने, ‘मन्दिर पुग्ने अप्ठ्यारो बाटो खयरबराही देवी आर्सिवाद पाएका भक्तालुहरुले निर्माण गरेका छन् ।
खयरबराह ताल धार्मिक महत्वको मात्र होइन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । रंगीविरंगी फूलहरुको गलैंचामा टेक्दै खोप्रादेखी खयरबराही ताल पुग्दा गोर्सेबराही ताल, कालीबराही ताल, कामधेनु गाईको पाईला (फाल)को दर्शन गर्न सकिन्छ ।
विभिन्न प्रजातिका रंगीन फूलहरुको बगैंचामा हिंड्दा ‘भू-स्वर्ग’ पुगेको अनुभुत हुन्छ । धौलागिरी हिमश्रृंखला र अन्नपूर्ण प्रथम, साउथ तथा बराहशिखर हिमाललाई झन नजिकैबाट अवलोकन गर्दा यात्रुलाई यात्राको थकान बिर्साउँछ । यहाँबाट सूर्यास्तको दृष्यबढी मनमोहक हुन्छ ।
ConversionConversion EmoticonEmoticon