Lamjung Dhudhpokhari bathe in the crowd

भाद्र २, २०७३- यहाँको उच्च स्थानमा रहेको दूधपोखरीसहितका तालतलैया तथा धार्मिक स्थलमा नुहाउनेको भीड लागेको छ । जनै पूर्णिकाको अवसर पारेर बिहीबार बिहानैदेखि नुहाउनेको भीड लागेको हो ।

जनैपूर्णिमाको दिन लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ताल दूधपोखरीमा नुहाउनेको भीड बढेको स्थानीयले बताएका छन् । दूधपोखरी समुद्री सतहदेखि ५ हजार ३ सय मिटर उचाइमा रहेको छ । घनपोखराका जीतबहादुर गुरुङका अनुसार दूधपोखरीमा नुहाउन जानेहरु बुधबार साँझ थुर्जुमा बास बसे । उनीहरुले बिहीबार बिहान नुहाएका छन् । ‘नुहाउनुअघि धुप बालेर पूजापाठ गरिन्छ । अनिमात्रै नुहाइन्छ,’ उनले भने, ‘नुहाउँदा साबुन प्रयोग गर्न पाइँदैन ।’ जिल्लाको ग्रामीण क्षेत्रबाट २ दिनमा पुगिने उक्त ठाउँ जान सदरमुकाम बेसीसहरबाट ३ दिन लाग्छ ।
थुर्जुबाट करीब ३ घण्टाको बाटो हिँडेर भक्तजनले बिहीबार बिहान नुहाएका हुन् । ‘जनैपूर्णिको दिन दूधपोखरी र थुर्जुमा मेला नै लाग्छ,’ गुरुङले भने । दूधपोखरी पुगेमा लेक लाग्ने र बस्ने ठाउँ पनि नभएकाले नुहाउन जानेहरु भेडीगोठमा बास बस्छन् । दूधपोखरी नुहाउन यसपटक भुजुङ, पसगाउँ, घनपोखरा, सिउरुङ, ताघ्रिङ लगायत ठाउँका भक्तजन गएका सिउरुङका पूर्णसिंह गुरुङले बताए । उनका अनुसार सिउरुङबाट युवायुवतीको समूह नै दूधपोखरी पुगेर नुहाएका छन् । पर्यटन ब्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङका अनुसार गाउँको म्युजिक भिडियो छायांकनको लागि समेत टोली दूधपोखरी पुगेका छन् ।
स्थानीयका अनुसार दूधपोखरीमा नुहाउनका लागि लमजुङका मात्रै नभएर कास्कीको ताङतिङ र सिक्लेसका स्थानीय समेत भीड लागेको छ । मनाङबाट पनि दूधपोखरी नुहाउन भक्तालु पुगेका छन् । दूधपोखरी ताल पन्ध्रौँ सातब्दीमा द्रब्य शाहकी दुई रानी मध्ये यम्फावतीको लेकाली कन्दरामा मरणको कथासँग जोडिएको छ । रानीको मृत्यूपछि द्रब्य शाहले बौक्दै ल्याउने क्रममा रानीको स्तन दूधपोखरीमा खसेकोले त्यस स्थानको नाम दूधपोखरी रहन गएको किंवदन्ती रहेको भेटीगोठाला कर्तसिंह गुरुङ बताउँछन् । दूधपोखरीमा नुहाएमा मनकामना पुरा हुने विश्वास रहेको उनको भनाइ छ ।
लमजुङ र गोरखाको सिमानामा रहेको चेपे नदीको सिरान पनि अर्के दूधपोखरी रहेको छ । करीब ४ हजार ८ सय मीटरको उचाइमा रहेको उक्त दूधपोखरी च्यवन ऋषिको कथासँग जोडिएको छ । दूधपोखरीमा नुहाएपछि च्यवन ऋषिले पुनर्यौवन पाएको र फुटेको आँखा निको भएको शास्त्र, पुराण तथा आयुर्वेद ग्रन्थहरुमा उल्लेख रहेको सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए ।

यस्तै, भुलभुले र बन्सारको सिमानामा रहेको बराहपोखरीमा पनि नुहाउनेको भीड लागेको छ । बरापोखरीमा जनैपूर्णमा र बैशाख पूर्णिमा गरी बर्षको २ पटक नुहाउने मेला लाग्छ । करीब ३ हजार ६ सय ५० मीटर उचाइमा रहेको बराहपोखरी भगवान विष्णुको वासास्थान तथा थकाई मेटेको कथासंग जोडिएको हिलेटक्सारको टक्सार गाउँका जसबहादुर गुरुङले बताए । ‘यो ठाउँ पुग्न एक दिन लाग्छ,’ उनले भने, ‘नजिकै भएकाले पनि बराहपोखरी नुहाउन गोरखा, धादिङ, चितवन, पोखरा, काठमाडौं देखिका भक्तजन आउँछन् ।’
बर्षेनी जिल्लाको तीनवटै ठाउँमा नुहाउनेको भीड लाग्ने गर्छ । तर, यी ठाउँको संरक्षण र संबर्द्धन हुन नसकेको नुहाएर फर्कनेहरु बताउँछन् । जनैपूर्णिको दिन यी पोखरीमा नुहाए बर्षौंदेखिको रोगब्याधी निको हुने, मुख नबोल्नेहरु बोल्ने, मनोकामना पुरा हुने विश्वास रही आएको छ ।

Previous
Next Post »