![]() |
श्रावण २६, २०७३- एक साताअघिदेखि सदरमुकाममा विद्युत सेवा बन्द भएपछि मोबाइल चार्ज गर्न समेत ३० रुपैयाँ तिर्नुपर्ने अवस्था आएको छ ।
सदरमुकाम मार्तडीमा केही पसलका सञ्चालकहरुले जेनेरेटर चलाएर मोबाइल चार्ज गराउन थालेका हुन् । उनीहरुले एउटा मोबाइल चार्ज गरेको न्यूनतम ३० रुपैयाँ लिने गरेको स्थानीय पुष्प कटुवालले बताए । ‘चार्ज गर्ने वैकल्पिक उपाय नभएकाले पसलेहरुले तोके अनुसारको रकम तिर्नुपर्ने बाध्यता भएको छ,’ पुष्पले भने ।
महालक्ष्मी मोबाइल ग्यालरी, ज्ञानु फोटो स्टुडियो, साझा डिजिटल फोटो स्टुडियो लगायत पसलका सञ्चालकहरुले जेनेरेटर चलाएर मोबाइल चार्ज गराउँदै आएका छन् । उपभोक्ताहरु भने चर्को मूल्य तिर्नु परेपनि मोबाइल चार्ज गर्न पाएकोमा केही सजिलो भएको बताएका छन् । ‘सञ्चारबिहीन हुनुभन्दा पैसा तिरेर चार्ज गर्न पाएकोमा पनि सुविधा नै लाग्यो,’ मार्तडीकै श्यामबहादुर रावलले भने, ‘मोबाइल अफ भएको थियो ।' चार्ज गराउने पसलहरुमा बिहानैदेखि मोबाइल चार्ज गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।
सिमित पसलमा मात्र उक्त सुविधा भएकाले सबै उपभोक्ताले मोबाइल चार्ज गर्न पाएका छैनन् । ‘बिहानैदेखि लाइनमा बस्दा पनि पालो पाइएको छैन,' दलबहादुर बिकले भने । ‘बिहानदेखि साँझसम्म सय बढी मोबाइल चार्ज हुने गरेका ज्ञानु फोटो स्टुडियोका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउँछन् । सदरमुकाममा नेपाल टेलिकम र एनसेलको नेटवर्क छ । मार्तडीको विद्युत सेवा वितरित जुगाडा र बुढीगंगामा गरी २० हजार बढी मोबाइलका ग्राहक रहेको अनुमान छ ।
विद्युत सेवा अवरुद्ध भएपछि मार्तडी, जुगाडा र बुढीगंगा गाविसका दुई हजार बढी परिवार अध्याँरोमा बस्न बाध्य छन् । स्थानीय एफएम, पत्रपत्रिका, टेलिभिजन, मोबाइल, इमेल इन्टरनेट सेवा अवरुद्ध छ । सबै कार्यालयमा विद्युतीय उपकरणद्वारा कामकाज हुने भएकाले विद्युत सेवा अवरुद्ध भएकाले कार्यालयको काम प्रभावित छ । ‘अत्यन्त जरुरी कामहरु गर्नुपरे चौतर्फी भौतारिनुपर्ने अवस्था छ,' सिडिपीका जिल्ला संयोजक खिमु केसीले बताए । जेनेरेटर चलाएर केही पसलेहरुले फोटोकपी सेवा समेत उपलब्ध गराउँदै आएका छ । फोटोकपी गरेको प्रति पेज १० रुपैयाँ लिने गरेका छन् ।
एक साताअघि बाहुली गाडमा आएको बाढीले विद्युतको नहर र पावर हाउस क्षतिग्रस्त भएपछि विद्युत सेवा बन्द छ । मार्तडीस्थित नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दाको सयूक्त प्रयासमा बाँध मर्मत गरी सेवा सञ्चालनको प्रयास भएपनि प्रगति भने भएको छैन् । ‘झण्डै सय मिटर बाँध भत्केकाले विद्युत सुचारु गर्न अनिश्चित देखिएको छ,’ मार्तडीको बिजुली व्यवस्थापन गर्दै आएको त्रिवेणी सहकारी संस्थाका व्यवस्थापक पण्डितले भने । ०४३ सालमा निर्मित २ सय किलोवाट क्षमताको विद्युत हाल त्रिवेणी ऋण तथा सहकारी संस्थाको व्यवस्थापमा चञ्चालित छ ।
![]() |


ConversionConversion EmoticonEmoticon