![]() |
श्रावण २५, २०७३- सर्वोच्च अदालतले दैनिक ८० को हाराहारीमा मुद्दा फछर्योटको योजना बनाएको छ । छिटोछरितो न्याय सम्पादनको योजनाका साथ पञ्चवर्षीय रणनीतिक योजना लागू गरेको सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा २१ हजार ७ सय मुद्दा किनारा लगाउने लक्ष्य राखेको छ ।
असार मसान्तसम्म २४ हजार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् । चालु आर्थिक वर्षमा करिब १३ हजार ६ सय मुद्दा थपिने अनुमान प्रवक्ता नहकुल सुवेदीको छ । 'कुल ३७ हजार ६ सय मुद्दाको भार थपिने र त्यसमध्ये २१ हजार ७ सय फछ्र्योट गर्ने योजना तयार भएको छ,' सुवेदीले भने । सर्वोच्च अदालतले वाषिर्क कार्ययोजनामार्फत दायर भएका करिब ५८ प्रतिशत मुद्दा किनारा लगाउने तयारी गरेको छ ।
हालै ११ जना न्यायाधीश नियुक्त भएपछि हाल १० वटा इजलास सञ्चालनमा छन् । हरेक दिन प्रतिइजलास ८ वटा मुद्दा फछ्र्योटको लक्ष्य राखिएको प्रवक्ता सुवेदीले बताए । करिब २ सय ६० दिन अदालत सञ्चालन हुने अनुमानका साथ सर्वोच्चले वाषिर्क कार्ययोजना बनाएको हो । मुद्दा फछ्र्योट गर्ने क्रममा ५ वर्ष पुराना मुद्दाहरूलाई प्राथमिकता दिने सर्वोच्चले लक्ष्य राखेको छ । त्यसैगरी 'दोहोर्याई पाउँ' भन्ने निवेदनहरूलाई पनि प्राथमिकताका साथ किनारा लगाउने योजना छ । जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालतले पनि सदर गरेको तर त्यसमा पनि चित्त नबुझाएर मुद्दाका पक्षधरहरू सर्वोच्च अदालत पुग्ने गर्छन् । करिब ५ हजार ५ सय मुद्दा यस्ता प्रकृतिका छन् ।
सर्वोच्चले अनुमति दिएमा मात्रै यस्ता मुद्दाले प्रवेश पाउँछन् । यस्ता प्रकृतिका मुद्दाका किनारा लगाउन पनि सहज हुने सुवेदीले बताए । अरू मुद्दा ५० प्रतिशत फछ्र्योट गर्दा 'दोहोर्याई पाउने' निवेदनलाई ७० प्रतिशत फछ्र्योट गर्ने सर्वोच्चको योजना छ ।
आर्थिक वर्ष २०७१/७२ देखि न्यायपालिकामा तेस्रो पञ्चवर्षीय रणनीति सञ्चालन भएको छ । योजना सुरु भएको वर्ष सर्वोच्चले करिब २२ प्रतिशत मुद्दा मात्रै फछ्र्योट गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष २०७०/७१ मा करिब २४ प्रतिशत मात्रै फछ्र्योट भएको थियो भने २०६९/७० मा करिब २२ प्रतिशत फछ्र्योट भएको थियो । केही वर्षदेखि निराशाजनक रहेको मुद्दा फछ्र्योट हुने दरलाई यसपटक भने सर्वोच्चले तोड्न खोजेको छ । 'न्यायाधीशहरू दोब्बरको संख्यामा थपिएकाले पनि लक्ष्यअनुसार मुद्दा फछ्र्योट गर्न सम्भव हुनेछ,' सुवेदीले भने ।
सर्वोच्च अदालतकै अनुमानित तथ्यांक हेर्ने हो भने हरेक वर्ष मुद्दाहरूको संख्या १५ प्रतिशतको हाराहारीमा बढिरहेको देखिन्छ । पालो नआउने, पेसी सरिरहने लगायतका कारण असाधारण अधिकारक्षेत्र अन्तर्गतका सर्वोच्च अदालतमा दर्ता गर्ने रिटहरू पनि पुनरावेदन अदालत पाटनमा पुग्ने गरेका थिए । अब भने छिटो पालो पाइने भएकाले सर्वोच्चमा रिटको संख्या बढ्न सक्ने कर्मचारीहरू बताउँछन् ।
गतवर्ष २१ हजार ८ सय मुद्दाको लगत बाँकी रहेको सर्वोच्च अदालतमा यसपटक लगत करिब २ हजारभन्दा बढी थपिएको छ । पछिल्लो प्रतिवेदनअनुसार सर्वोच्च अदालतमा सबभन्दा बढी पुनरावेदनका मुद्दा छन् । करिब १० हजारभन्दा बढी मुद्दा तल्लो अदालतमा भएको फैसलाप्रति मुद्दाका पक्षधरहरूले चित्त नबुझाएर सर्वोच्चमा दोहोर्याउन निवेदन हालेका हुन् ।
कुल मुद्दाको आधा हिस्सा पुनरावेदनसँग सम्बन्धित छन् । त्यसैगरी तल्लो अदालतका मुद्दामा चित्त नबुझाई दोहोर्याउन माग राख्ने मुद्दाको संख्या करिब २५ प्रतिशत छ भने रिट निवेदनहरूले कुल मुद्दाको करिब १५ प्रतिशत हिस्सा ओगटेको सर्वोच्च अदालतको प्रतिवेदनमा उल्लेख छ ।
![]() |


ConversionConversion EmoticonEmoticon