‘सरकारको नेतृत्व अरूबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरूको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई हामी त्यही हैसियतमा देख्न चाहन्छांै ।’
नयाँ सरकार निर्माणपछि पहिलो पटक सोमबार बसेको संसद बैठक नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिनमा केन्द्रित थियो । त्यस क्रममा सांसदहरूले संविधान कार्यान्वयन, सहमति निर्माण, सुशासन र विकासमा केन्द्रित रहन नयाँ सरकारको ध्यानाकर्षण गराए ।
एमालेले तीन तहको निर्वाचनसहित पूर्ववर्ती सरकारले अघि सारेको संविधान कार्यान्वयन कार्ययोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । ‘संविधान कार्यान्वयन, राष्ट्र/राष्ट्रियताको हित, अघिल्लो सरकारले ल्याएका राम्रा कामको निरन्तरता र मुलुकको समृद्धिका निम्ति तपाईं (प्रधानमन्त्री दाहाल) अगाडि बढदा अप्ठ्यारो उत्पन्न भएमा हामी छिमेकमै छौं,’ ढकालले भने, ‘राष्ट्रिय हितका पक्षमा उभिएकै कारण अप्ठ्यारो परे सगोत्रीको नाताले पनि सहयोग नै गर्नेछौं ।’
कांग्रेस नेता महेश आचार्यले आमजनतामा आशा जाग्ने गरी काम गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिए । राष्ट्रिय आवश्यकताका कारण हिजोको द्वन्द्व बिर्सिएर माओवादी नेतृत्वको सरकार निर्माण गरेको उल्लेख गर्दै आचार्यले जनअपेक्षाअनुरूप काम गर्न सुझाव दिएका हुन् । युद्धको आहवान गर्ने कमान्डरलाई दीर्घकालीन शान्ति स्थापनाको नायकका रूपमा हेर्न चाहेको उनको भनाइ थियो ।
पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ सत्ता गठबन्धनका कारण नेपाली जनताको निर्णायकत्वमाथि कालो बादल लागेको टिप्पणी गरे । ‘प्रधानमन्त्री हुन जनताको मतले मात्र पुग्दैन, बाह्य शक्तिको आशीर्वाद चाहिन्छ भन्ने मानसिकता हावी भयो,’ उनले भने, ‘आत्मसमर्पणवादी मानसकिताले न नेपालको हित हुन्छ, न नेपाल–भारत सम्बन्ध राम्रो हुन्छ ।’
संविधान निर्माणपछि जनताले राजनीतिक स्थिरता अपेक्षा गरेको उल्लेख गर्दै थापाले नौ/नौ महिनामा सरकार परिवर्तन गरी राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका मधेस केन्द्रित दलहरूले संसद बैठकमा भने प्रतिपक्षतर्फको सिटमै बसेर सरकारको समर्थन सुरु गरे । मधेस समस्या सम्बोधन गर्नेगरी सरकारले सकारात्मक थालनी गरेको उल्लेख गर्दै संघीय समाजवादी फोरमका शिवजी यादव, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णलगायतका नेताहरूले मधेसी मोर्चासँगको सहमतिअनुरूप संविधान संशोधन विधेयक सदनमा पेस गर्न माग गरे । ‘हाम्रा माग र प्रचण्डका माग एकै हुन्,’ कर्णले भने, ‘तपार्इं पुष्पकमल दाहालबाट प्रचण्ड बन्नुहोस् ।’ उनले ओली नेतृत्वको सरकारले नौ महिनासम्म नसुनेका माग दाहाल नेतृत्वको सरकार बन्नासाथ कार्यान्वयन सुरु भएको बताए ।
मधेसी मोर्चा नेतृत्वको संघीय गठबन्धनमा आबद्ध दलहरू प्रतिपक्ष बेन्चमा बसे पनि फोरम (लोकतान्त्रिक) का सांसदहरू सत्तापक्षको रोहमा बसेका छन् । उक्त दल पूर्ववर्ती सत्ता गठबन्धनबाट अन्तिम समयमा बाहिरिएको थियो । फोरम (लोकतान्त्रिक) का सांसद जनकराज चौधरीले आफूहरूलाई सरकार बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
ConversionConversion EmoticonEmoticon